४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विकास निर्माणमा स्थानीय तह र प्रदेशबीच समन्वयको खाँचोः मुख्यमन्त्री

पोखरा महानगरको दशौं नगरसभा

पोखरा महानगरको शुक्रबार सम्पन्न नगरसभा। तस्बिरः उमेश पुन/नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह र प्रदेशबीच समन्वय नभएसम्म विकास निर्माण प्रभावकारी नहुने जिकिर गरेका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार पोखरा महानगरपालिकाको दशौं नगरसभालाई सम्बोधन गर्दै विकास निर्माणमा समन्वयको खाँचो औंल्याए।  

‘स्थानीय तह र प्रदेश सरकार बीच समन्वय हुनुपर्छ। समन्वयले विकास निर्माण प्रभावकारी हुन्छ,’ उनले भने, ‘समन्वय नहुँदा विकास निर्माणमा उल्झन आउँछ।’ मुख्यमत्री पोखरेलले गण्डकी प्रदेशको राजधानी पोखराको विकासलाई महानगरपालिकासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे। उनले पोखरा आफैंमा पर्यटकीय क्षेत्र भएको भएपनि प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँगलाई पत्राचार गरेको समेत स्पष्ट पारे।  

दशौं नगरसभामा महानगरपालिकाले ५ वटा विधयकलाई टेबुल गरेको छ। पोखरा महानगपालिका कर्मचारी सेवा ऐन २०७८, पोखरा प्र्रज्ञा प्रतिष्ठान ऐन २०७६(पहिलो संशोधन), बालबालिका अधिकार व्यवस्थित गर्ने ऐन २०७४(दोस्रो संशोधन), नगरप्रहरी व्यवस्थापन २०७५(दोस्रो संशोधन) र खेलकुद विकास ऐन २०७५(दोस्रो संशोधन)  टेबुल गरेको हो।  

विधायन समितिका संयोजक एवं  सचेतक शोभामोहन पौडेलले साढे चारवर्षको अवधिमा १२४ वटा ऐन, कानून, निर्देशिका, कार्यविधि, नियमावली र नीति बनाईएको स्पष्ट पारे। उनले ४४ ऐन बनाईसकिएको बताउँदै चारवर्षे अवधिमा २२ वटा नियमावली, ३१ वटा कार्यविधी, २१ वटा निर्देशिका र ४ वटा नीति बनाईएको जानकारी दिए।  

पोखरा महानगरपालिका– १९ का वडाध्यक्ष समेत रहेका पौडेलले सुशासन बनाउन कानून निर्माण गरिएको उल्लेख गरे। गणतन्त्रपछिको निर्वाचित पहिलो स्थानीय तहको पहिलो कार्यकाल वित्नै लाग्दा सचेतक पौडेलले त्यस अवधिमा १५० किलोमिटर सडक कालोपत्रे गरिएको सुनाए। शहरउन्मुख गाउँलाई कनेक्टिङ रोड मार्फत जोड्दै अबको व्युटिफिकेशनको जिम्मेवारी थपेर छोड्दै जाने बताए।  

लामो समयदेखि पोखरा बसपार्क बन्न सकेको छैन्। बसपार्क बन्न नसकेकोमा उनले पनि कमजोरी रहेको बताउँदै केवल चुनावी नारा मात्रै बन्दै गएको स्वीकारे। ‘बसपार्कलाई राजनीतिक दलहरुले त्यहाँ भएकालाई व्यवस्थापन गर्नुसक्नुपर्छ । व्यवस्थित गर्ने विषयमा  निर्णण गर्नसक्नुपर्छ,’ उनले भने–‘व्यवस्थित गर्ने विषर्यमा निर्णय गरेर डोजर चलाउन सक्नुपर्छ।’ व्यवस्थित गर्ने विषयमा राजनीतिक दलले निर्णय गरेमात्रै बसपार्क बन्छ अन्यथा चुनावी नारामा मात्रै सीमित हुने उनको भनाई थियो।  

सभामा बोल्दै पोखरा महानगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काँग्रेस संसदीय दलका सचेतक रामराज लामिछानेले चुनावी नारामा स्मार्ट सिटी र ग्रिन सिटी भनेपनि अहिले पोखरा कुरुप सिटी बनेको दावी गरे। ‘बसपार्क बन्न सकेको छैन् । वर्कसप लथालिङ छन्। बेवारिसे अवस्थामा पार्किङ गरिदैं आएको छ। सरसफाई हुन सकेको छैन। यावत गतिविधिले महानगरलाई कुरुप बनाईदिएको छ,’ उनले भने, ‘सुधार गर्नुपर्ने कुराहरुमा समेत महानगरपालिकाले सुधारमा ध्यान दिन सकेन्। बस प्रतिक्षालय बनाइएको छ । तर बस प्रतिक्षालयमा रोकिदैनन्।’  

ज्यालादारी र अस्थायी कर्मचारीको विषयमा समेत महानगरपालिका गम्भीर भएको आरोप उनले लगाए। अस्थायी काम गरेकोहरुलाई ४ वर्षमा स्थायी गर्ने भनिएपनि ५ वर्ष भईसक्दापनि स्थायी प्रक्रिया अगाडि नबढाइएको गुनासो गरे। ‘आवश्यकता अनुसार स्थायी र ज्यालादारीलाई पनि प्रक्रियामा लगेर टुग्याउनुपर्छ,’ उनको भनाई थियो। उनले महानगरपालिकाले करको दर मात्रै बढाएको गुनासो गर्दै दायरा बढाउने तर्फ ध्यान नदिएको बताए। उनले महानगरले करको दायरा भन्दा पनि कमिसनको दायरा बनाएको हो कि भन्ने लागेको स्पष्ट पारे। ‘महानगरले विकास भन्दा पनि कमिसनको विकासमा लाग्यो कि भन्ने लागेको छ,’ उनको भनाई थियो।  

प्रकाशित: २८ माघ २०७८ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App