२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एमक्यापको म्याद सकियो, धार्चेमा पनि संरक्षण क्षेत्र विस्तारको माग

गोरखा स्थित मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापको कार्यालय ।

मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को म्याद सकिएको छ। म्याद सकिएको डेढ वर्ष नाघिसक्दा समेत सरकारले म्याद थपको निर्णय गरेको छैन।

‘एमक्यापको पहिलो पटक दश/दोस्रो पटक दश र तेस्रो पटक डेढ वर्ष गरी म्याद थपिएको थियो’ एमक्याप गोरखाका प्रमुख सत्यनारायण शाहाले भने ‘अहिले म्याद सकिएको छ, हामीले म्याद थपका लागि पटक-पटक अनुरोध गर्‍यौँ, तर भएको छैन।’

सरकारले म्याद थप नगरेपनि एमक्यापले गोरखामा काम भने निरन्तर गर्दै आएको छ। म्याद थप नहुँदा एमक्यापले कानुनी रूपमा काम गर्न पाएको छैन। दिगो व्यवस्थापनका लागि कार्यक्रम अगाडि बढाउन नसकिएको प्रमुख शाहाले बताए। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगत एमक्यापले काम गर्छ। कोषले बन मन्त्रालय मार्फत म्याद थपका लागि अर्थमन्त्रालय पठाएको बताए पनि कुनै निर्णय नआएको एमक्याप गोरखाले जनाएको छ।

प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, जगेर्ना गर्ने, विकास गर्ने र प्रचार–प्रसारको काम एमक्यापले गर्दै आएको छ। जडीबुटी बिक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षण सम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरण लगायतका कामहरू म्याद थप नहुँदा रोकिएको एमक्यापका प्रमुख शाहाले बताए। स्टाफलाई व्यवस्थापन गर्न तथा कार्यालय सञ्चालनमा समेत समस्या भएको छ।

तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिका भित्र एमक्यापको कार्यक्षेत्र रहेको छ। सँगैको धार्चे गाउँपालिकाले पनि एकक्यापको कार्यक्षेत्र विस्तारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्राचार गरेको छ। गाउँ कार्यपालिकाबाट निर्णय गरेर धार्चे गाउँपालिकामा पनि मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यक्रम संचालनका लागि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए।

‘चुमनुब्री र धार्चेको हावापानी, प्राकृतिक संम्पदा मिल्दोजुल्दो छ, बन बतावरण र स्थानीयको रहनसहन पनि मिल्ने भएकाले एमक्यापको कार्यक्षेत्र १० वर्षको लागि बिस्तार गर्न माग गरेका हौँ’ उनले भने। धार्चे मनास्लु पर्यटन बिकास समितिले पनि धार्चे गाउँपालिकामा एमक्यापको कार्यक्षेत्र बिस्तारका लागि भन्दै वन तथा वातावरण मन्त्रालयमा पत्राचार गरेको अध्यक्ष साने गुरुङले बताए। ‘मनास्लु संरक्षण क्षेत्र आयोजनाको संरक्षण भित्र रह्यो भने धार्चेको वातावरण, बन, पर्यटन, स्थानीयको संस्कृती लगायतको प्रर्वद्धन हुनेछ’ उनले भने।

प्रकाशित: २८ माघ २०७८ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App