१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

भजन मण्डलीका नाममा सयौं रोपनी जग्गा अतिक्रमण

भजन मण्डली, सार्वजनिक शौचालय, मन्दिर व्यवस्थापन कार्यालय, व्यायाम स्थलका नाममा वाग्मती नदीको दायाँबायाँ किनारमा सयौं रोपनी सरकारी जग्गा अतिक्रमण भएको पाइएको छ।

वाग्मती नदीको दायाँबायाँ अतिक्रमण गरेर बनाइएका स्थायी तथा कच्ची संरचना खाली गराउन सुरु गरिएको छ। पहिलो चरणमा गोकर्ण ड्यामदेखि गुह्येश्वरीसम्म वाग्मती दायाँबायाँ क्षेत्रमा अतिक्रमण गरेर बनाइएको संरचना खाली गराइएको छ। दोस्रो चरणमा तत्कालै तिलगंगादेखि थापाथलीसम्मका संरचना खाली गराउने तयारीमा सरकार छ।

तिलगंगादेखि थापाथलीसम्मको अतिक्रमित संरचना खाली गर्न अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले माघ १५ गते सात दिने सार्वजनिक सूचना निकालेको थियो। निर्धारित समयसीमाभित्र अतिक्रमित संरचना नहटाए समितिले आफैं खाली गर्ने भनी सूचनामा उल्लेख छ।

अब केही दिन पर्खने र केही दिनसम्म संरचना नहटाए समितिले आफैं हटाउने समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले बताए। समितिले निकालेको तथ्यांकअनुसार तिलगंगादेखि थापाथलीसम्म वाग्मती नदीको दायाँबायाँ किनारामा १ हजार ६ सय ६४ दशमलव १७ वर्गमिटर जग्गा अतिक्रमण गरिएको छ। यसमा किनार क्षेत्र कब्जा गरेर अव्यवस्थित बसोबास गर्ने तथा सुकुमबासीले हडपेको जग्गा भने जोडिएको छैन।

२०६५ मंसिर ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वाग्मती बहाव क्षेत्र (पानी बगेको क्षेत्र) भन्दा २०/२० मिटर दायाँबायाँ अतिक्रमण गरेर बनाइएको स्थायी तथा कच्ची संरचना खाली गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरषद्को उक्त निर्णयपछि वाग्मती सभ्यता एकीकृत विकास समितिले बेलाबेलामा वाग्मती दायाँबायाँ किनारामा बनाइएका अतिक्रमित संरचना खाली गर्ने प्रयास गर्‍यो तर सफल हुन सकेको थिएन। यसपटक भने यस काममा समिति पूर्ण रूपमा सफल हुने प्याकुरेलले बताए। उनले भने, ‘यस काममा सहरी विकास मन्त्रालयले पनि हामीलाई पटकपटक निर्देशन दिएको छ।’

उनका अनुसार वाग्मती किनारामा अतिक्रमण गरेर अव्यवस्थित बसोबास गर्नेहरूको तथ्यांक निकाल्न र सो सम्बन्धमा उपयुक्त सुझाव दिन समितिका एक बोर्ड सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय भएको छ। मन्त्रालयबाट एक, राष्ट्रिय सुकुमबासी मोर्चाबाट एक, विकास समितिबाट तीन, अभियन्ताबाट एक प्रतिनिधि रहनेगरी सात सदस्यीय मूल समिति गठन गरिएको छ।

सो समितिका अनुसार सिनामंगलदेखि मीनभवनसम्म थापाथली पुलको दायाँबायाँ साइड, युएन पार्कदेखि थापाथली पुलसम्म, वाग्मती विष्णुमती दोभानदेखि बल्खु पुलसम्म अव्यवस्थित बसोबास गर्नेदेखि सुकुमबासीहरूले कब्जा गरेर बसेका छन्।

समितिले गठन गरेको अध्ययन समितिले ती अव्यवस्थित बसोबास गर्नेलाई अन्यत्र सारेर वाग्मतीको अधिकार क्षेत्रभित्र रहेको जग्गा खाली गराउन स्ुझाव दिन सो समिति गठन गरिएको प्याकुरेलले बताए।

विकास समितिले तिलगंगादेखि थापाथलीसम्म वाग्मती दायाँबायाँ क्षेत्रमा अतिक्रमण गरेर २८ वटा संरचना बनाएको सूची निकालेको छ। समितिका कर्मचारीका अनुसार मन्दिर, भजन मण्डली तथा प्रतीक्षालयका नाममा वाग्मती नदीवरिपरिको क्षेत्र कब्जा गरिएको छ।

‘सुरुमा मन्दिर बनाउने, त्यसपछि भजन मण्डली, मन्दिर व्यवस्थापन कार्यालय, सार्वजनिक शौचालय तथा प्रतीक्षालय तथा व्यायाम स्थलका नाममा वाग्मतीको जग्गा कब्जा गरिएको छ,’ आयोजना प्रमुख प्याकुरेलले भने।

समितिले निकालेको सूचीमा मनोहरा दोभान शंखमूलमा आर्ट अफिसियल नेपालका नाममा ८२ दशमलव ८० वर्गमिटर क्षेत्रफलमा जस्ताको छाना लगाएर यज्ञ गर्ने स्थल बनाइएको, कामनपा–३२ मनोहरा नदी दोभानमा १ सय १ दशमलव ८८ वर्गमिटर क्षेत्रफलमा मनोहरा दोभान समितिले बिम राखेर भवन बनाइरहेको जनाएको छ। यसैगरी सत्य साई केन्द्र काठमाडौंका नामबाट पाँच ठाउँमा वाग्मतीको दायाँबायाँ किनारामा सत्य साई स्तम्भ, मन्दिर, भजनकीर्तन हल, शौचालय, चियापसल बनाएको समितिले जनाएको छ।

समितिका अनुसार श्री रुद्रेश्वर महादेव व्यवस्थापन समितिको नाममा काठमाडौं–११ थापाथलीमा चार ठाउँमा छुट्टछुट्टै वाग्मतीको जग्गा कब्जा गरिएको छ। तीमध्ये मन्दिर व्यवस्थापनका नाममा तीन ठाउँमा पक्की भवन तथा एक ठाउँमा कच्ची भवन बनाइएको छ। यसैगरी ओम शान्तिको नाममा काठमाडौं–११ थापाथलीमा चार ठाउँमा वाग्मती नदीको दायाँबायाँ किनाराको जग्गा अतिक्रमण गरिएको छ। यीमध्ये तीन ठाउँमा स्थायी भवन र एक ठाउँमा कच्ची भवन तयार गरिएको छ।

विकास समितिका एक कर्मचारीका अनुसार वाग्मती नदी दायाँबायाँ किनाराको अतिक्रमति संरचना खाली गर्न समितिले काम सुरु गरेपछि त्यसविरुद्ध विभिन्नतह र तप्काबाट चर्को दबाब आएको छ। ‘यहाँसम्म कि स्थानीय वडाध्यक्ष, जनप्रतिनिधि, प्रदेश सांसद तथा प्रतिनिधिसभा सांसदहरूले समेत अतिक्रमण गरिएको संरचना नभत्काउन विभिन्न किासिमबाट दबाब दिइरहेका छन्,’ ती कर्मचारीले भने, ‘उहाँलाई भोटको चिन्ता होला तर वाग्मतीको सौन्दर्यीकरण तथा यसको ऐतिहासिक पहिचान र महत्व जोगाउन यस्तो दबाब दिनु गलत काम हो।’

प्रकाशित: २५ माघ २०७८ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App