भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टले आदेश दिएको भए पनि क्षतिपूर्ति पाउन सकेका छैनन्। हाइकोर्टले ६ साताभित्र दुर्गाप्रसादलाई क्षतिपूूर्ति दिन दुई महिनाअघि पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरेको थियो।
अहिलेसम्म क्षतिपूर्तिको रकम आफूूहरूले नपाएको दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले बताए। ‘हाइकोर्टको आदेशपछि बैंक खाता प्रमाणित गर्नेलगायत काम गर्न हामीलाई भनिएको थियो,’ उनले भने, ‘हामीले सबै कागजात पठाइसकेका छौं, बैंक खाता पनि प्रमाणित गरेर पठाएको धेरै दिन भयो तर रकम आएन।’ कोलकातास्थित वाणिज्य दूतावासले ती कागज आफूहरूलाई मगाएको उनले जानकारी दिए।
हाइकोर्टले दुर्गाप्रसादलाई ५ लाख (नेपाली ८ लाख) रूपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको थियो। दुर्गाप्रसादको बैंक खाता नभएको अवस्थामा उनका परिवारसमेतको खातामा रकम पठाउन सक्नेगरी हाइकोर्टको आदेश थियो। ‘निराश भइहालेका छैनौं, राहत रकम आउँछ भन्ने आशामा छौं,’ गोपालले भने, ‘तर रकम हस्तान्तरण गर्न अदालतले दिएको अवधि भने गुज्रिसकेको छ।’
दुर्गाप्रसाद विराटनगरस्थित मानवसेवा आश्रममा बस्दै छन्। उनी आमाको काजकिरियाका लागि आफ्नो घर इलामको माई नगरपालिका–१० लुम्बाक आएका छन्। घर जानुअघि सोमबार दुर्गाप्रसाद इलाम सदरमुकाम आएका थिए। उनकी आमा धनमायाको शनिबार निधन भएको थियो।
दुर्गाप्रसादको मानसिक अवस्था कोलकाताको दमदम कारागारबाट घर ल्याउँदाको भन्दा अझ बिग्रिएको अनुभव परिवारजनले गरेका छन्। ‘मलाई भतिजो गोपाल भनेर ठुलोबुबा (दुर्गाप्रसाद)ले चिन्नुहुन्थ्यो,’ गोपालले भने, ‘अहिले त मलाई नै नचिन्ने भइसक्नुभएको छ।’ घरमा रहँदा पनि दुर्गाप्रसाद परिवारमा कसैलाई खबरै नगरी गाउँतिर डुल्न जाने, टाढासम्म पुगेर हराउने गर्न थालेका थिए। उनलाई इलामस्थित मानवअघिकार मञ्चसहितको पहलमा विराटनगर पुर्याई उपचार प्रयास भइरहेको छ।
अहिले पनि दुर्गाप्रसाद आफू पक्राउ परेको ठाउँ दार्जिलिङ सम्झिरहन्छन्। ‘दार्जिलिङ, सिलिगुडी, कोलकाताका जेलमा मलाई राखे,’ दुर्गाप्रसादले नागरिकसँग भने, ‘मलाई पक्रेको दार्जिलिङमै हो, किन पक्रिए भन्ने थाहा छैन।’ उनले आफूले कसैको हत्या नगरेको दाबी दोहोर्याए। ‘जेलमा राखेका बेलाचाहिँ तेरा आफन्त आएका छैनन्, हाकिमले नभनी घर जान मिल्दैन भन्थे,’ उनले सुनाए, ‘सुरु–सुरुमा मलाई कुटे, अलि पछि कुटेनन्।’ उनले जेलमा बस्दा आफूलाई दिइएका खानेकुरा पनि सम्झिए।
परिवारजनका केही नाम भने र आफ्नी आमाको देहावसान भएको पनि सुनाए। पश्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसाद (दीपक जैसी)लाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो। जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाइ नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो।
कोलकातास्थित दमदम कारागारमा रहेका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१० लुम्बाक फर्किएका थिए। उनले आफूले कसैको हत्या गरेको नभई आफूलाई फसाइएको बताइरहेका छन्। मानसिक समस्या रहेका दुर्गाप्रसादलाई चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्नसक्ने रिपोर्ट दिएका थिए।
हाइकोर्टले महावाणिज्य दूतावासमार्फत ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो। घर फर्केपछि मानसिक स्वास्थ्यमा थप समस्या देखियो।
लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको थियो। १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको गोपालले बताए। उनको उपचारका लागि प्रदेश १ सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन्।
२०३७ साल माघमा २० वर्षीय उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए। त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८ खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) मा थियो। तर, पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको थियो। घर छाडेकै वर्ष उनलाई हत्या आरोप लागेको थियो। २०७७ फागुनमा उनी दमदम कारागारमा छन् भन्ने पत्तो लागेपछि उद्धार गरिएको थियो।
प्रकाशित: १९ माघ २०७८ ०६:५८ बुधबार