५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मनाङका बाढीपीडितः टीनको टहरोले छेकेन सिरेटो

मनाङको तालमा बाढीपीडितका लागि टीनले बनाइएका पूर्वाधार। तस्बिरः नागरिक

गत असारको भीषण बाढीपहिरोले बिस्थापित भएका हिमाली जिल्ला मनाङका बासिन्दालाई चिसोले सास्ती थपिदिएको छ। मस्र्याङदी नदीको भेल र पहिरोको चपेटामा परेका नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दा अझै पनि सकसमा छन्। बाढीपहिरोको चपेटामा परेका उनीहरु मध्ये कतिपयले अहिलेसम्म भरपर्दाे बसोबास व्यवस्थापन समेत गर्न सकेका छैनन्।

स्थानीयका अनुसार प्रदेश र स्थानीय सरकारबाट पाएको अनुदानले केहीले टहरा बनाउन थालेका छन। टीनको टहरामा रात गुजार्नु पर्दा कठिन भएको उनीहरुले बताएका छन। सरकारी अनुदान पाएका केहीले टहरा बनाएका छन भने केही अझै पनि आफन्तकहाँ बसिरकेका छन। बाढीपहिरोले बिस्थापित भएपछि पालमा बस्दै आएका उनीहरु चिसो बढ्दै गएपछि बल्ल टहरोमा बस्न थालेका थिए।  

तालस्थित भानु माविका शिक्षक समेत रहेका स्थानीय सिंहबहादुर गुरुङका अनुसार पूर्ण रुपमा बसोबास गुमाएका पीडितका लागि प्रदेश सरकारले प्रतिघर दुईलाख रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै गाउँपालिकाले पनि एकलाख रुपैयाँ थपिदिएको थियो। ‘अहिलेसम्म हामीले पाएको तीनलाख रुपैयाँ हो। त्यो रकमले बलियो र न्यानो घर बनाउन पुग्दैन,’ गुरुङले भने, ‘टीनको टहरोले चिसो छेक्न सकेको छैन। कम्तिमा ५÷६ लाख रुपैयाँ नभई सामान्य घर बन्दैन। तीनलाख रुपैयाँले त राम्रो टहरो हाल्न पनि अपुग भयो।’ बाढीपीडितलाई जीवन धान्न गाह्रो भएको उनले बताए।  

‘बास मात्र भएर भएन, बाच्नका लागि खेतीपाती गर्नुपर्छ। पर्यटनमा निर्भर रहेका गाउँलेलाई कोरोनाको त्रासले पाहुना नपाएपछि झनै सकस परेको छ,’ उनले भने। उनका अनुसार बाढीपहिरोले बिस्थापित मध्ये केहीले टीनले घेरेर टहरो बनाएर बसेका छन। २३ घरका बासिन्दा अझै पनि आफन्तकहाँ बसेका छन। ‘म आफै पनि पीडित हुँ। मैले पनि अहिलेसम्म तीनलाख रुपैयाँ पाएको हुँ । तर, त्यो रकमले एकछेउ पनि लागेन,’ गुरुङले भने। उनले आफ्नो घर पूर्ण रुपमा क्षति पुगेको बताए।

उनका अनुसार गाउँले मात्र नभई स्थानीय भानु मावि पनि अहिले टेन्टमा चलिरहेको छ। गाउँपालिकाले विद्यालयको लागि १० लाख र प्रदेश सरकारले ७ लाख रुपैयाँ पुर्ननिर्माणका लागि दिएको छ। ‘विद्यालयका संरचना पनि शुन्यबाट सुरु गर्नुपर्ने अवस्था छ। अब पहिलेको ठाउँमा विद्यालय संचालन गर्न सकिने अवस्था छैन,’ उनले भने। असार १ गतेको भीषण बाढीले मनाङमा मस्र्याङदी नदी किनारका बासिन्दाको उठिबास लगाएको थियो। सबैभन्दा बढी मार त्यो बेला नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दालाई पारेको थियो। तालगाउको सिंगो बस्ती र त्यहाँको विद्यालय पुरै नदीको डुबानमा परेको थियो। स्थानीयका अनुसार तालगाउँमा मात्र ५५ वटा घर थिए। ती मध्ये अधिकांश घर डुबानमा परेका थिए। धेरै घर बस्नै नमिल्ने गरि डुबानमा परेका थिए । घरै नबगेपनि घरभित्र बालुव, ढुंगा, गिट्टी भरिएको थियो।

तालकै अर्का मीनराशी गुरुङले पनि प्रदेश सरकार र स्थानीय तहले केही आर्थिक सहयोग गरेको भएपनि त्यो अपुग रहेको बताए। अहिलेसम्म संघीय सरकारबाट सहयोग रकम नपाएको उनले बताए। ‘डुबानमा परेको आधावर्ष नाघिसक्यो। तर, अझै पनि बिस्थापितको पीडा कम छैन,’ उनले भने, ‘संघीय सरकारले पनि सहयोग गर्ने भन्ने सुनेका हौ। तर, अहिलेसम्म पाएका छैनौ।’ 

उनका अनुसार प्रदेश सरकार र स्थानीय तहबाट पाएको तीनलाख रुपैयाँको भरमा अहिले टहरो ठड्याउने काम भईरहेको छ, तर, त्यो अपुग छ। ‘कतिपयले त अझै पनि टीनले बारेर बसेका छन। पालमा बस्दा पनि गाह्रो भयो, चिसोका कारण कठिन भएपछि पाल छाडेर टीनको टहरो हालेका छन,’ उनले भने, ‘तर, टीनको छेकोले पनि चिसो छेक्न सकेन। जाने ठाउँ अन्यत्र छैन।’  

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले तत्कालिन अवस्थामा प्रदेश सरकारको दुईलाख र स्थानीयतहको एकलाख गरि अहिलेसम्म पूर्ण रुपमा घर क्षति भएका परिवारले तीनलाख रुपैयाँ पाइसकेका छन। संघीय सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ दिने पनि उनले बताए। घर बनाउनका लागि जग्गा नै नहुनेका लागि गाउँपालिकाको सिशफारिसको आधारमा थप तीनलाख रुपैयाँ दिने भनिएको उनले बताए।  

‘अहिलेका लागि गाउँलेका लागि बास चाहिएको छ। दीर्घकालिन रुपमा पुर्नबासमा जाने र बस्ती स्थानान्तरण गर्ने भन्ने कुरा आउँछ। तर, अहिले अहिलेका लागि पुर्ननिर्माण बापत राहतको रकम दिने हो,’ आचार्यले भने, ‘प्रदेश र स्थानीय तहको रकम पाइसकेका छन। अब संघीय सरकारको रकम पाउँनेछन, त्यसको प्रक्रिया चलिरहेको छ।’  

नासोँ गाउँपालिका–१ तालका ३९ घरलाई पुन निर्माणका प्रदेश, स्थानीय र संघ सरकारबाट गरि आठलाख रुपैयाँ उपलब्ध गराउने उनले बताए। असारको बाढीले मनाङमा ७४ घर पूर्ण रुपमा क्षति भएका थिए। ती मध्ये सबैभन्दा बढी तालगाउँका थिए। ‘प्राकृतिक विपद्ले धेरै नै सास्ती थपिदिएको छ। तत्कालका लागि उनीहरुलाई बसोबासको आवश्यकता छ। अरु बन्दोबस्त पछिका कुरा हुन,’ उनले भने, ‘किनकी अहिलेका लागि उनीहरुलाई बसोबासको ठाउँ अभाव छ।’

प्रकाशित: १७ माघ २०७८ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App