३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

सडकमै पार्किङ: भन्दैनन् ट्राफिक प्रहरी, टेर्दैनन् चालक

दिपायलस्थित पिपल्ला बजारमा सडक किनारमै पार्किङ गरिएका सवारी साधन। तस्बिरः पुष्पराज/नागरिक

जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिपायल पिपल्ला बजारमा वर्षौदेखि सडकमै अस्तव्यस्त पार्किङ यथावतै छ। वर्षौदेखि सडकमै सवारी साधन दिनभर रोकिदिने र त्यहीँबाट ग्रामीण क्षेत्रका लागि नम्बर उठाउने गर्नाले पिपल्ला बजारको सडकमा पार्किङको अवस्था अस्तव्यस्त बनेको हो। 

सडकमै जथाभावी सवारी साधन पार्किङ गरिँदा पनि नजिकै रहेको ट्राफिक प्रहरीले न कारबाही गर्ने न त उनीहरुलाई सम्झई बुझाई गर्ने भएकाले ट्राफिक प्रहरीलाई सवारी चालकहरु टेर्नै छाडेका छन्। ट्राफिक प्रहरीलाई नटेर्दा पिपल्लाको सडकमा अस्तव्यस्त पार्किङको अवस्था वर्षौदेखि उस्तै रहेको हो।  

दिपायल पिपल्ला बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना भय पनि निम्त्याउन थालेको छ। दिपायल बजारको मुख्य सडक खण्डमा अव्यवस्थित रुपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जाम हुने सम्भावना बढेको हो। वर्षौदेखि पसल अगाडि सडकमै सवारी साधन राखिँदा दिपायल बजारको ट्राफिक अस्तव्यस्त देखिँदै आएको स्थानीय व्यापारीहरू बताउँछन्।

स्थानीय तहले व्यवस्थित पार्किङस्थल नबनाइदिँदा सडकमै गाडी रोकिँदा ट्राफिक अव्यवस्थित देखिएको हो। सडकमै अव्यवस्थित पार्किङ गरिँदा दुर्घटनाको भय निम्तने गरेको बताउँदै स्थानीय होटल वर्षाका सञ्चालक गणेश बोहरा बताउँछन्। उनले भने,‘दिपायलमा व्यवस्थित पार्किङ स्थल नहुँदा सवारी चालकले सडकमै पार्किङ गर्नुपरेको हो, जसले गर्दा दुर्घटनाको भय बढेको छ।’ 

दिपायल सिलगढी नगरपालिकाले व्यवस्थित पार्किङ स्थल नबाउँदा बाहिरबाट आएका सवारी साधन राख्नका लागि समस्या पर्ने गरेको उनले बताए। पछिल्ला वर्षहरुमा दिपायल बजार परिवर्तन हुन थाले पनि पार्किङ व्यवस्थापनका लागि भने उस्तै रहेको उनले बताए। उनले भने,‘दिपायलमा व्यवस्थित पार्किङ स्थल नहुनु र भएको बसपार्क पनि सही सदुपयोग नहुँदा सडकमै पार्किङ गर्दा दुर्घटनाको डर पनि उत्तिकै छ।’ सडक किनारमै लहरै सवारी साधन पार्किङ गरिँदा ठूला बस तथा सवारी साधनलाई आहोर दोहोर गर्न समस्या पर्ने गरेको छ।

पार्किङको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने र त्यसका लागि स्थान देखाउनु पर्ने भए पनि स्थानीय तह र सरोकारवाला निकायको कमजोरीका कारण सडकमा पार्किङ भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। उनले भने,‘हामीले दुई/तीन पटक सम्बन्धित निकायलाई झकझकायौँ, बैठक तथा छलफल गर्‍यौँ, तर कसैले सुनिदिएन।’ डोटीको पार्किङको अवस्था अस्तव्यस्त रहेको उनले स्वीकारे। 

उनले भने,‘यहाँको पार्किङका लागि धेरै पटक कुरा गर्दा केही भएर, अस्तव्यस्त छ।’ स्थानीय तहले व्यवस्थित पार्किङ स्थल व्यवस्थिगत बनाइदिनु पर्ने प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण धितालले बताए। उनले भने,‘कतिपय स्थानमा ट्राफिक प्रहरीले नियमन गर्न खोज्दा पनि स्थानीय सवारी चालक तथा समितिले अटेरी गरिदिँदा पार्किङलाई व्यवस्थित गर्न सकिएको छैन।’

पर्याप्त जनशक्ति अभाव हुँदा हुँदै पनि डोटीमा ट्राफिक प्रहरीलाई नियमन गराउँदा समेत अटेरी गर्ने प्रवृत्तिले समस्या निम्तिएको उनको भनाइ छ। उनले स्थानीय तहले पनि पार्किङका लागि व्यवस्थापन गर्नुपर्ने बताए। तर, दिपायल सिलगढी नगरपालिकाकी मेयर मन्जु मलासीले पार्किङका लागि बसपार्क व्यवस्थित बनाउँदा पनि सवारी साधन चालकले अटेरी गरेर सडकमै पार्किङ गर्ने गरेको बताइन्। 

उनले भनिन्,‘हामीले बसपार्क व्यवस्थित बनायौँ, त्यहाँ गाडी पार्किङ गर्न सुझायौँ, तर पनि सवारी चालक अटेरी गर्छन्।’ सडकमै गाडी पार्किङ गरिँदा पनि नियमन निकाय ट्राफिक प्रहरी मुकदर्शक भएको उनको गुनासो छ। ‘सडकमै गाडी राख्नेको गाडीलाई ट्राफिक प्रहरीले चक्का लक गरिदिनु पथ्र्यो, त्यो गर्दैन,’ उनले भनिन्,‘यसमा ट्राफिक प्रहरी सक्रिय नभएकै कारण यस्तो अवस्था आएको हो।’

प्रकाशित: १६ माघ २०७८ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App