१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

वादी महिलाको पीडा: पेसा फेरियो हेर्ने नजर फेरिएन

गुर्भाकोटकी रजनी वादी परिवारसहित भारतको दिल्लीमा बस्न थालेको पाँच वर्ष भयो। गुर्भाकोटको बोटेचौर बजार नजिकै उनको घर छ। पाँच वर्षको अवधिमा दुई पटक मात्रै उनी आफ्नो जन्मथलो फर्किएकी छन्। रजनीले माथिल्लो जातको युवासँग प्रेम विवाह गरेकी थिइन्। विवाहका केही महिना माया–प्रेममै बिते।  बिस्तारै उनीमाथि पतिबाट यातनाका घटना बढ्न थाले।  ‘सुरुका केही महिना माया–प्रेममै बिते पनि जातका कारण यानता बढ्दै गयो,’ उनले भनिन्, ‘छोरो दुई वर्षको हुँदा सम्बन्ध विच्छेद गरेर भारततर्फ लागें।’

उनलाई आफू जन्मेकै ठाउँमा बस्न रहर नभएको होइन। पति, घर–परिवार मात्र होइन, गाउँ समाजले पनि उनीमाथि विभेद गर्‍यो। ‘गाउँमा आए पनि ढुक्कसँग बाहिर हिँड्न सक्ने वातावरण छैन,’ रजनीले भनिन्, ‘छिमेक र समाजले जातकै कारण फरक नजरले हेर्ने भएकाले दुःख भए पनि सन्तोषसँग सास फेर्नका लागि पराई देशमा बस्नुपर्ने बाध्यता छ।’

पुतली वादी पाँचजनाको परिवार पाल्न नजिकैको वनबाट दाउरा संकलन गरेर बजारमा बिक्री गर्छिन्। जातकै कारण बजार जाँदा उनी धेरै विभेद भोग्ने गर्छिन्।  ‘हाम्रो पुस्ताले यौन व्यवसाय गर्‍यो भन्दैमा समाजले अहिले पनि हामीलाई त्यही दृष्टिकोणले हेर्नु गलत हो,’ उनले भनिन्, ‘पेसा फेरिए पनि समाजको हेर्ने नजर अझै फेरिएको छैन्।

’विगतमा वादी समुदायका पुरुष मादल बनाउँथे। खोला तथा नदीमा माछा मार्थे।  महिला यौन पेसा अपनाउँथे। अहिले अवस्था फेरिएको छ। अहिले वादी समुदाय व्यवसाय र कृषि पेसामा लागेको छ। तापनि ‘वादी’ भन्नेबित्तिकै यौनकर्मीको रूपमा हेर्ने समाजको नजरमा भने परिवर्तन आएको छैन।

वादी समुदायकी अगुवा गीता वादी समाजको आफूहरूप्रति हेर्ने दृष्ट्रिकोणमा परिवर्तन नआएको बताउँछिन्। ‘हामी दैनिक श्रम गरेर बिहान–बेलुकाको छाक टारिरहेका छौं, केहीले कृषि व्यवसाय गरेका छन्,’ उनले भनिन्, ‘विगतको पेसालाई जोडेर अहिले पनि त्यही नजरले हेर्नु राम्रो होइन, समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ।’

पछिल्लो समय वादी समुदायबाट सुर्खेतका विभिन्न स्थानीय तहमा पाँच जनाको प्रतिनिधित्व छ। सिम्ता गाउँपालिका–६ का वडा सदस्य सुर्की वादी विगतको तुलनामा विभेद हट्दै गएको बताउँछिन्। ‘सुरुसुरुमा वादी भन्नेबित्तिकै यौनकर्मीको रूपमा व्याख्या हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले सिधै भन्न नसके पनि व्यवहारमा भने कहीँ न कहीँ त्यो देखिने गरेको पाइन्छ। ’

प्रकाशित: २२ पुस २०७८ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App