४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भत्किएको तीन दशकपछि पुर्ननिर्माण हुँदै रानीदरबार

भत्किएको झन्डै तीन दशकपछि सिन्धुलीगढीस्थित रानीदरबार बन्न थालेको छ। तत्कालिन विद्रोही समूह माओवादीले राज्यविरुद्ध आन्दोलन सुरु गरेसँगै सिन्धुलीगढीको संरक्षण हुन छाडेपछि दरबार भग्नावषेश भएको थियो।

२०५२ सालमा माओवादीले सिन्धुलीगढीबाटै आन्दोलन सुरु गरेसँगै त्यहाँ सुरक्षाकर्मी बस्न छाडेपछि रानीदरबार संरक्षणको अभावमा भग्नावशेष भएको हो। ऐतिहासिक सिन्धुलीगढीमा निर्माणाधीन रहेको रानीदरबार पुरानै शैलीमा निर्माण धमाधम भइरहेको छ। झन्डै ५० प्रतिशत दरबार निर्माणको कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ।

बागमती प्रदेशको पर्यटन विकास आयोजनाको चार करोड ३८ लाख ९९ हजार लागतमा निर्माण भइरहेको रानीदरबारको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। पर्यटन विकास आयोजना प्रमुख विष्णु भण्डारीका अनुसार आउँदो असार मसान्तसम्म निर्माणको काम सक्ने गरि ठेक्का लगाइएको हो।  

‘निर्माणको काम तिब्र गतिमा भइरहेको छ, समयमै काम सक्ने गरि निर्माण कम्पनी लागेको जानकारी आएको छ’, उनले भने, ‘यदि समयमा निर्माण नसकिए नियमअनुसार म्याद थप गर्ने प्रावधान हुन्छ।’  

२०७७ पुस २१ गते सम्झौता भएको उक्त सिन्धुलीगढीस्थित रानीदरबार पुर्ननिर्माण कार्य २०७९ जेठ १६ गते निर्माण सम्पन्न गर्ने गरि तुल्सी÷एरिया जेभीले निर्माणको जिम्मा पाएको हो। रानीदरबार पुरानै शैलिमा निर्माण भइरहेको यहाँको कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए। ‘पहिला जस्तो थियो दरबार उस्तै बन्ने देखिएको छ’, उनले भने, ‘दरबार निर्माणसँगै पर्यटकहरु बढ्ने निश्चित छ।’

२०४५ सालकै भूकम्पबाट भत्किएको रानीदरबार शसस्त्र द्वन्द्वसँगै तहसनहस भएको थियो। ‘द्वन्द्वको प्रभावमा परेको दरबारको संरक्षण नहुँदा पुराना डिजाइनमा बनेका इट्टा काठ समेत चोरी भइ दरबारको निशाना नै मेटिने अवस्थामा पुगिसकेको थियो’, एक स्थानियले भने, ‘पुन दरबार निर्माण भइरहँदा पुरानै झल्को सिन्धुलीगढीले दिन थालेको छ।’

दरबारमात्रै नभएर सिन्धुलीगढीमा ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय समेत निर्माण भइसकेकाले पर्यटकहरु दैनिक बढ्न थालेको कमलामाई नगरपालिकाले जनाएको छ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी अवलोकन भ्रमणका लागि आउने आन्तरकि तथा बाह्य पर्यटकहरु बढ्दै गएका छन्। पर्यटक प्रवेश शुल्कबाट  एकैदिन एकलाख १२ हजार रुपैयाँसम्म राजस्व संकलन हुने गरेको खत्रीको भनाइ छ।

सिन्धुलीगढीमा युद्ध संग्रालयको निर्माणभएसँगै अवलोकनका गर्न नेपालको राजधानी काठमाडौं, रामेछाप, दोलखा, काभ्रेका साथै पूर्वी नेपाल र मध्ये तराईका जिल्लाहरुबाट हजारौं पर्यटकहरु आइपुग्ने गरेका छन्।

नेपाली सेनाको करिब ८ करोड रुपैयाँको लागत सहयोगमा गत साउनमा युद्ध संग्रहालय निर्माण भएपछि  सिन्धुलीगढी अवलोकनका लागि आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ।

प्रकाशित: २१ पुस २०७८ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App