६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चियाले चलेको प्रेरणादायी जोडी

जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिर पछाडी उद्योग बाणिज्य संघको भवनसँगै जोडिएको सानो टहरो छ। टहरोमा एक चिया पसल छ। त्यो चिया पसलको न साइनबोर्ड छ, न त धेरै प्रचारप्रसार नै। तर त्यो चियापसलमा विहान, दिउँसो र बेलकीपख निकै भिड देखिन्छ। त्यो भिड चिया पिउनका लागि जम्मा भएको भिड हो। जुम्ला चन्दननाथ नगरपालिका २ का काँसीराम भण्डारी र देवीकन्य भण्डारीले चलाएको चियापसल निकै लोकप्रिय छ।  

चन्दननाथ मन्दिरको आसपासमै रहेको चियापसलमा झिसमिसेमै चिया पिउनको लागि ग्राहक आइपुग्छन्। चिया पिउने र समसामयिक बिषयमा गन्थन गर्ने थलो बनेको त्यो पसल जेष्ठ नागरिक जोडीले खोलेको चियापसल। हरेक हिसाबले केन्द्रमा रहेको त्यो चियापसल सबैका लागि निकै प्रेरणादायी बनेको छ।

जेष्ठ नागरिक केही गर्न सक्दैनन्। उनीहरु छोराछोरीको कमाइमा निर्भर हुन्छन् भन्ने भ्रम तोडेको छ। जुम्ला चन्दननाथ नगरपालिका २ का ६७ बर्षिय काँसीराम भण्डारी र उनकी पत्नी ६५ बर्षिया देवीकन्य भण्डारीले ग्राहकलाई चिया पिलाउन विहानैदेखि खटिन्छन्।

उनीहरुले चिया बेचेर मनग्गे आम्दानी गरेका छन्। उनीहरुले त्यो स्थानमा झण्डै २० वर्षदेखि चियापसल खोलेका हुन। त्यो चियापसल जुम्लाकै लोकप्रिय हो। यहाँका अधिकांश घरपरिवार तथा छोराछोरीबाट जेष्ठ नागरिक साहराविहिन छन्। छोराछोरीको कमाइमा निर्भर छन्, स्थानीय बिष्णुमाया बुढाले भनिन्, ‘यो जोडी आफैमा निर्भर छ। सबैको प्रेरणा हो यो जोडी।

काँसीरामले चियापसलबाट कमाएको रकमले छोरीलाई अनमी पढाउन सफल भए। उनले छोराछोरीको पढाइसँगै मेहनत गरे बेरोजगार बस्नु पर्दैन भन्ने सन्देश दिएका छन्।

उनको पसलमा चिया पिउनेकोे भिड लाग्छ। दूध चिया पिउनेको लागि दुध चिया, कालो चिया खानेका लागि कालो चियाको व्यवस्था छ। एक दिनमा ५ सय भन्दा बढी गिलास चिया बेच्ने गरेको अनुभव काँसीरामको छ।

यो जोडी हिउँदको चिसोदेखि वर्षाको अधिकतम् गर्मिमा चिया बनाउँछन्।  चन्दननाथ मन्दिरको टहरा भाडामा लिएका छन्। चिया बेचेर घर खर्च चलाउन सहज भएको उनीहरु बताउँछन्।

चियाका लागि दैनिक ६० लिटर दूध खपत हुन्छ। कहिलेकाँहि त ग्राहकको माग अनुसारको चिया पुर्याउन सकिने अवस्था हुदैँन। वरिपरि धेरै चियापसल छन्। तर उनको चियापसलमा ग्राहकको निकै भिड लाग्ने गरेको छ।  

चिया बेचेर एक स्याउ बगैँचा बनाएका छन्। स्याउबाट वर्षेनी डेढ लाख रुपैयाँ आम्दानी हुन्छ। उनीहरुले दैनिक एकसय ५० रुपैयाँ जम्मा गर्छन्। भविष्यमा कुनै समस्या समाधाका लागि बचत गर्ने गरेको उनी बताउँछन्।  

अहिले चियापसलमा कमाएको घरमा छोराछोरीलाई सहयोग गरिरहेको देवीकन्यले बताइन्। चियापसलमा देवीकन्य चिया पकाउँछिन्। काँसीरामले भाडा धुने गर्छन्। उनीहरुको काम गराईको दृश्यले निकै प्रभावित बनाउँछ।

प्रकाशित: ३ पुस २०७८ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App