८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

जातीय विभेद अन्त्य गर्न जुट्दै दलित महिला

समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिला एकैथलोमा उभिएका छन्। उनीहरुले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा व्याप्त जातीय विभेद लगायतका विकृतीका बारेमा आवाज उठाउन थालेका हुन्।

गाउँमा जाने जातीय विभेद गर्दा भोग्नु पर्ने कानुनी जटिलताका बारेमा सहजीकरण गर्ने, बालविवाह, बहुविवाह, छुइप्रथा जस्ता कुरीति अन्त्यको लागि अभियान चलाउने गरेका हुन्।

अहिले महिला सञ्जालले जागरण अभियान चलाएपछि धारापधेरामा सहजै रुपमा जान सकिने अवस्था छ, दलित सञ्जाल कनकासुन्दरीका कोषाध्यक्ष धर्मा सार्कीले भनिन्,‘यो सञ्जालले सबै प्रकारका विकृतिका विरुद्धमा सामूहिक आवाज उठाउँदै आएको छ। त्यही अनुसार गाउँमा परिवर्तन पनि आएको छ।’

'दलित बालबालिकाले अहिले सहजै रुपमा स्कुल जान पाउँछन्। पहिले स्कुल गएपनि गैरदलित बालबालिकाले हेपिरहेका हुन्थे', धर्माले भनिन्,‘अहिले रहर मानेर बालबालिका स्कुल जाने वातावरण बनाएका छौँ।’

उनीहरुले कनकासुन्दरी गाउँपालिका ६ मा बालविवाह गरेका जोडीलाई बोलाएर प्रशिक्षण दिएर आ आफ्नो घरमा पठाएका छन्। छुई हुँदा घरको सुरक्षित कोठामा बस्ने, गाउँमा मदिरा सेवन गर्न नदिने, मदिरा सेवन गरेर हो हल्ला गर्नेलाई कार्वाही गर्ने, अटेर गरेको खण्डमा प्रहरीको बुझाउन तयारी हुने गरिएको स्थानीय दलि सार्कीले बताइन्।

उनले भनिन्,‘गाउँमा विवाद ल्याउने, अशान्ति सिर्जना हुने कुनै पनि कार्य हुन दिदैनौँ। यदि कसैले गाउँमा विवाद ल्याउन खोजेको खण्डमा सञ्जालमा रहेका सबै महिला एक भएर निगरानी समेत गर्छौँ।’

पहिले दलित भनेर घृणा गर्ने, दलितलाई छाएको भन्दै छिटा हाल्ने चलन थियो। अहिले जातीय विभेद हुँदैन। बरु दलित र गैरदलित संगै बसेर खाने बस्ने गरिएको छ।

सञ्जालमा बसेपछि उनीहरु आफ्ना माग निर्धक्क पूर्वक राख्न सक्ने भएका छन्। 'अहिले धेरै बोल्न सिकेका छौँ', उनले भनिन्,‘निर्धक्क पूर्वक आफ्ना सवाल राख्छौँ। योजना निर्माणमा सहभागी हुन्छौँ। योजना माग्छौँ। बजेट विनियोजन गर्न दवाव दिन्छौँ।’

गाउँपालिका स्तरीय दलित सञ्जालले गाउँपालिका भित्रका ८ वटै वडामा आफ्नो संगठन विस्तार गरेको छ।

एक वर्ष पहिले भवन माग्यौँ। हामीले मागेका कतिपय माग पूरा भएका छन्। केही माग पूरा हुन सकेका छैनन्। कोषाध्यक्ष धर्माले गाउँदेखि जिल्लासम्म आफ्नो आवाज उठाउन सक्ने भइसकेको बताइन् उनले गाउँमा विकृतिविरुद्ध सचेतना फैलाउनेदेखि कुरीतिविरुद्धका क्रियाकलापमा सहजै रुपमा सहभागी हुने अवस्था सिर्जना गरिएको सुनाइन्।

पहिले विवाह गर्दा वा अन्य खुसीयालीमा आयोजना हुने भतेर पनि फरक फरक हुने गरिन्थ्यो। तर अहिले दलित गैरदलितको भोज एउटै हुन्छ। अहिले गाउँको सरसफाईदेखि गाउँमा निर्माण हुने हरेक विकास निर्माणका क्रियाकलापमा सक्रिय सहभागिता जनाउने गरिएको दलित सञ्जालले जनाएको छ।

प्लानइन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको सहजीकरणमा सञ्चालित बाल छिटो तथा जबरजस्ती विवाह न्यूनीकरण परियोजनाले दलित सञ्जाल बनाउन पहल गरेको थियो। पटक पटक जातीय विभेद, छुइप्रथा, बालविवाह बारेमा सचेतना प्रदान गर्दै आएकोले यहाँका दलित महिला जागरुक बनेका हुन्।

अहिले गाउँका जनप्रतिनिधि, स्थानीय सरकार, कर्मचारी सबै समक्ष सहजै रुपमा निधक्क पूर्वक आफ्नो माग राख्न सक्ने भएका हुन्।

दलित सञ्जालको सहयोगमा गोरुचौर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि दलित समुदायले नै लिएका छन्। स्थानीय धुन वडलाई सञ्जालले विव्यस अध्यक्ष बनाएको हो।

प्रकाशित: २६ मंसिर २०७८ १५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App