३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोरखाका नेवार समुदायले 'जून'मा मकै सुकाउने पर्व मनाए

गोरखाको ठुलो आगनमा जूनमा मकै सुकाईँदै। तस्बिर: नागरिक

कात्तिक शुक्ल पूर्णिमाको दिन बिहिवार साँझ गोरखा सदरमुकामका नेवार समुदायले मकै सुकाउने पर्व (सकिमना) मनाएका छन्। घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर ठुलो आँगनमा मान्द्रो बिछ्याएर जूनको प्रकाश पर्ने गरी सुकाईएको थियो।

‘कात्तिक शुल्क पूर्णिमाको दिन अमृत वर्षा हुन्छ भन्ने धार्मिक मान्यता छ’ स्थानीय मोहनलाल श्रेष्ठले भने ‘यसरी सुकाएको अन्नमा चन्द्रमाबाट अमृत वर्षा हुने र यी अन्न प्रसादको रुपमा प्रयोग गरिन्छ।’ भुटेको मकै सँगै भटमास, केराउ चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्ड, लगायत बिभिन्न फलफुल पनि सँगै राखिन्छ। सुकाएका यी खानेकुरा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ। कतिपयले भने घरमा रहेको अन्नमा समेत मिसाउँछन्।

घरमा भएका यी खानेकुरा पनि अमृत समान हुन्छ भन्ने विश्वास छ। मकै सुकाउन सबैले घरघरबाट ल्याउनुपर्छ भन्ने अनिवार्य छैन। तर नेवार समुदायले यस पर्वलाई महत्वका साथ लिने भएकाले ठुलो आगन क्षेत्रका अधिकांसले लगेका थिए। कतिपयले भने घरैमा पनि यो पर्व मनाउने गर्छन्।

लामो समय पछि २०७६ सालमा ठुलो आगनमा मकै सुकाउने पर्व मनाइएको थियो। २०७७ मा कोरोनाको कारण यो पर्व नेवार समुदायले सामुहिक रुपमा मनाएनन्। ‘अहिले हामीले सामुहिक रुपमा आह्वान गरेर मनाएका हौँ’, ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले भने। समितिको अगुवाईमा बाजागाजा सहित बिभिन्न धार्मीक परम्परा झल्कने गरी यस पटक मकै सुकाइएको थियो। खैँजेडी, पञ्चेबाजा, धिमे बाजाको साथमा ठुलो आगनमा बिहिवार मकै सुकाइयो।नाचगान र बाजागा सहित मकै सुकाउने पर्वलाई नेवार समुदायले उत्सवको रुपमा मनाएका थिए।

‘पहिले घरघरमा मनाईन्थ्यो, अहिले सामुयिक रुपमा मनाउन थालेपछि यसको महत्व बढेको छ’ समितिका अध्यक्ष श्रेष्ठले भने ‘निरन्तरता दिने  योजनामा छौँ।’ ‘सकिमना पुन्ही’ पर्वको रुपमा नेवार समुदायले यो पर्वलाई मनाउँदै आएका छन्।

प्रकाशित: ३ मंसिर २०७८ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App