८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा पनि छठको रौनक

धरान ११ मंगलबारेकी सुमन रोक्काले बुधबार सेउती खोलामा अस्ताउँदो सूर्यको उपासना गर्दै अर्घ दिदै थिइन्। उनले छठ पर्वमा ब्रत बसेको यो पहिलो पटक हो। आफ्नो भाकल भएको कारण यसपाली छठमा ब्रत बसेर विधिपुर्वक पूजा गर्न आएको उनले बताइन्। भनिन्, ‘म पहिलो पटक ब्रत बसेकी हुँ। मेरो भाकल थियो।’

तराई मधेशमा धुमधामले मनाइने पर्व छठ धरान पनि मनाइन थालिएको छ। तराई मधेशमूलका नेपालीहरुको बसोबास धरानमा बढ्दै गएपछि छठ पर्व मनाउने क्रम पनि शुरुवात भएको थियो। पछिल्लो वर्षहरुमा भने आदिबासी जनजाति, क्षेत्री, ब्राह्मणलागयत अन्य समुदायका महिलाहरु पनि ब्रत बस्ने र छठ पर्व मनाउने गरेका छन्।

यसले धरानमा छठ पर्वले सामाजिक सद्भाव बढाउदै लगेको वडा नं ४ का वडा सदस्य धनबहादुर कुलुङले बताए। बुधबार सेउती खोलामा सूर्यलाई अर्घ दिएको हेर्न आएका उनले भने,‘छठ पर्व सबैले मनाउन थालेका छन्, र यसले हाम्रो समाजमा सद्भाव, भाइचारा बढाएको छ।’

धरानका दुई ठूला खोला सर्दु र सेउतीमा बुधबार ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ दिएका थिए। छठका ब्रतालुहरुसँगै रमिता हेर्नेहरुको पनि घुँइचो थियो। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको विधिवत समापन हुनेछ।

प्रकाशित: २४ कार्तिक २०७८ १४:३५ बुधबार

धरान तराई मधेश