ठूलो परिमाणमा लागूऔषधसहित सर्लाहीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका ५ पोखरियाका २२ वर्षीय रोज महम्मद र सोही पालिका २ का ३७ वर्षीय देवेन्द दास रहेका छन्।
ठूलो परिमाणमा लागूऔषध आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटेको संयुक्त टोलीले दुवै जनालाई रौतहटको चन्द्रपुरबाट लागू औषधसहित नियन्त्रणमा लिएको हो।
रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने चन्द्रनिगाहपुर चोकमा रोज महम्मदले पिठ्युमा बोकी राखेको झोलामा लुकाई ल्याएको दशवटा प्याकेटमा तीन हजार ट्याबलेट लागूऔषध निट्राजेपान फेला परेको रौतहट प्रहरीले जनाएको छ।
ठूला परिमाणमा लागू औषधसहित मंगलबार राति फेला परेका रोज महम्मदलाई सोधपुछको क्रममा लागू औषध देवेन्द्र दासको भएको भनी बताएकाले दासलाई पनि प्रहरीले चन्द्रनिगाहपुरबाटै नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका दुवैलाई अदालतबाट बुधवार म्याद लिई न्यायिक हिरासतमा राखेर अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित: १० कार्तिक २०७८ १४:३८ बुधबार