१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

किसानको सुनिदिने कोही छैन

मदनकृष्ण र हरिवंश आचार्यको एउटा गीत ‘गरिबको सुनिदिने कोई छैन।’ अहिले गरिब किसानमा यो कुरा पूरापूर लागू भएको छ। वर्षभरिको परिश्रम र लगानीको साथै आशा र सपनालाई बतासले उडाउँदै र पानीले गाल्दै लगे पनि किसानको सुनिदिने अहिले कोही देखिएको छैन।

तीन तहको सरकार छ तर किसानको समस्यामा मलम लगाइदिन कोही अगाडि सरेको देखिएको छैन। बाली लगाउने समयमा बीउ र मल राम्ररी उपलब्ध नभएको यस वर्षको धान खेतीको समयमा प्रकृतिले साथ दिएको थियो तर धान भित्र्याउने बेलामा त्यही प्रकृति निष्ठुर भइदिएपछि किसानलाई वर्षको सबैभन्दा ठूलो पीडाको दिन देख्नु परेको छ।  

चार दिनदेखि परिरहेको पानी रोकिने लक्षण नहुँदा खेतमा ढलेको धान कुहिने डर किसानलाई भएको छ। खेतमा पानी जमिसकेको अवस्थामा किसानले पानी पन्छाउन पनि वर्षा रोकिनु पर्ने र घाम लागेको समय कुर्नुपर्ने भएको छ। माथिबाट पानी नरोकिँदा खेतको पानी बग्नुको साटो झन थपिएसँगै किसानको पीडा पनि थपिएको छ।  

बुधबार दिनभरि जसो पानी परिरहँदा रौतहटका किसानले खेतमा ढलेको धानलाई उठाउन पाएनन् न त काटेको धान खेतबाट नै निकाल्न पाए। अब सबै धान उम्रेर कुहिने खतरा बढेको किसानहरु बताउँछन्। माधव नारायण नगरपालिका ६ का रुपेश साहले दश कठामा लगाएको धान काटने बेलामा बतासले ढालेर पानीमा पारिदिएपछि अब कुहिने खतरा भएको बताए।  

किसानको सबैभन्दा भरपर्दो खेती र वर्षभरिको अन्नको जोहो यही धानखेती नै हो तर वर्षाका साथै आएको बतासले धानलाई नै बर्बाद पारिदिँदा सरकारले हेर्नुपर्ने माग किसानको रहेको छ। आफ्नो परिश्रम र लगानी गरेर उब्जाएको धानको आश मर्दै गएपछि सरकारले हेर्नुपर्ने साहको भनाइ छ । तर निराश हुँदै साह भन्छन् ः ‘किसानको सुनिदिने कोई छैन।’

लगातार चार दिनको वर्षाले रौतहटमा हजारौ विघा धानखेतीलाई प्रभावित पारेको छ। अहिलेसम्म जिल्लामा कति बिघा धान नष्ट भयो भन्ने यकिन तथ्यांक कतैबाट आउन सकेको छैन। किसानहरु सकेसम्म अनेक उपाय अपनाएर फलेको र ढलेको धानलाई जोगाउने प्रयास गरिरहेका छन् तर वर्षाले झन बिगारिरहेको छ। अझै केही दिन वर्षा भइरहने चेतावनीले किसानमा थप चिन्ता थपिएको गढीमाई नगरपाकिलाका किसान कामेश्वर सहनीको भनाइ छ।  

किसानलाई भएको क्षति हेरेर कम्तीमा जीवन निर्वाह गरेका गरिब किसानलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग किसानको रहेको छ। 

प्रकाशित: ३ कार्तिक २०७८ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App