१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलपूर्वक भत्काइयो भवन, व्यवसायी कुट्ने पक्राउ

नगरपालिकाको निर्देशनमा बलपूर्वक व्यावसायिक भवन भत्काइँदै। तस्बिर : नागरिक

सिरहाको लहान नगरपालिका–५ नयाँ बजार स्थित व्यावसायिक भवन भत्काउने क्रममा व्यवसायीमाथि भएको कुटपिटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही वडाका सञ्जय साह, सन्तोष पण्डित, लक्ष्मी पासवान र इसराइल सिद्धिकी छन्। 

लहान प्रहरी प्रमुख डिएसपी तपनकुमार दहालका अनुसार पक्राउ परेका चारैजनाउपर बुधबार अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सिरहाबाट पाँच दिनको म्याद थप गरिएको छ। पक्राउ परेका चारैजना लहान नगरपालिकाका मेयर मुनि साहका समर्थक रहेको बताइएको छ।

व्यावसायिक भवनका १० वटा कोठा मंगलबार नगरपालिकाले बल प्रयोग गरी खाली गराएको थियो। एक्साभेटर लगाएर कोठाहरू भत्काएपछि व्यवसायीहरूले आफ्नो सामानसमेत जोगाउन सकेनन्। नगर प्रहरी र कर्मचारीले व्यवसायीको सामानसमेत निकाल्न नदिई कोठा भत्काएका थिए। व्यवसायीले सामान जोगाउन खोज्दा नगर प्रहरी र कर्मचारी रोकेपछि उनीहरूबीच घम्साघम्सी भएको थियो। सोही क्रममा व्यवसायीहरूमाथि लट्ठी प्रहार गरिएको थियो। सोही क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक पनि भएका छन्। जसमा मेयर साहका समर्थक, नगरपालिकाका कर्मचारीले हातमा लट्ठी लिएको देखिन्छ। उनीहरूले व्यवसायीलाई लखेटेको पनि भिडियोमा देखिन्छ। कुटपिटबाट केही व्यवसायी घाइते भई उपचारपछि घर फर्केका छन्।

घटनाको विरोध गर्दै नेकपा (एस) का लहान नगर कमिटी संयोजक विनोदकुमार साहले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। चार दशकदेखि व्यवसाय गरी गुजारा चलाउँदै आएकाहरूको पसल तोडफोड र कुटपिट गर्नेहरू सम्पूर्णलाई पक्राउ गरी कारबाही गर्न उनले विज्ञप्तिमार्फत माग गरेका छन्। जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका महासचिव अब्दुल करिमले पनि घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। महासचिव करिमद्वारा जारी विज्ञप्तिमा मेयरको निर्देशनमा पसल तोडफोड र व्यवसायीमाथि कुटपिट भएको आरोप लगाइएको छ।  

लहान नयाँ बजारका गिलेसन कोठाहरू जीर्ण भइसकेको छ। यसमा यहाँका ९१ परिवारले विभिन्न व्यवसाय गरिरहेका छन्। लहान नगरपालिकाले यो जीर्ण संरचना भत्काएर नयाँ संरचना निर्माण गर्ने योजना बनाएको छ। वर्षौंदेखि व्यवसाय गर्दै आएकाहरूलाई एकैपटक विस्थापित गर्नु अनुचित भएको कुरा उठेपछि स्थानीय व्यवसायी, राजनीतिक दल, नगरपालिका र स्थानीय प्रशासनबीचको छलफलले अस्थायी टहरा बनाएर व्यवसायीलाई १०÷१० जना गरी सार्ने र त्यसपछि पुरानो संरचना भत्काउने निष्कर्ष निकालेको थियो। तर नगरपालिकाले अस्थायी टहरा नबनाउँदै भत्काउन पटकपटक दबाब दिँदै आएका थियो। व्यवसायीले वैकल्पिक व्यवस्था नभएसम्म खाली गर्न नमानेपछि पुरानो संरचनाको छेउमै मेयर मुनि साहले नयाँ संरचनाको शिलान्यास गरे। त्यसपछि पुरानो संरचना रहेको व्यवसायीहरूको पसलमा एक्साभेटर लगाएर भत्काउन सुरु भयो।  

‘विकास गर्ने योजनाको हामी विरोधी होइनौं तर विकासको नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने काम भइरहेको छ। गुन्डा लगाएर कुटपिट भएको छ,’ नेपाली कांग्रेसका नगरसभापति सुनिलकुमार महतोले भने, ‘घटनामा संग्लन गुन्डाहरूलाई कारबाही हुनैपर्छ।’ नेकपा (एस) का सिरहा जिल्ला कार्यवाहक अध्यक्ष उत्तरबहादुर मगरद्वारा जारी विज्ञप्तिमा मेयर साहले शिलान्यासका नाममा उच्छृंखल युवाहरूलाई जम्मा पारेर वर्षौंदेखि व्यवसाय गर्दै आएकाहरूको पसल तोडफोड र कुटपिट गरेको घटना दुःखद भएको उल्लेख गर्दै त्यसमा संलग्नउपर कडा कारबाहीको माग गरेका छन्।

नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष राजकुमार साहले विकास विरोधीहरूले गरेको अवरोध नगर प्रहरीले पन्छाउने क्रममा केही व्यक्तिलाई समान्य चोट लागेको बताए। राजनीतिक पूर्वाग्रह साँध्न आफ्ना केही निर्दोष व्यक्तिलाई झुटा मुद्दामा फसाउन खोजिएको उनको आरोप छ।

प्रकाशित: १५ आश्विन २०७८ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App