जुम्लाका किसान भालु भगाउनको लागि रातभर जाग्राम बस्न थालेका छन्। बारीमा लगाएको मकै बाली बचाउनको लागि रातभर जाग्राम बस्ने गरेका हुन्। जिल्लाको तिला गाउँपालिकाका किसान भालु भगाउनको लागि अनेकन उपाय अपनाउने गरेको बताउँछन्।
तिला ६ रिपी गाउँका नरिमान रावत भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न थालेको बताउँछन्। उनले भने,‘यहाँको प्रमुख बाली भनेको मकै हो। मकै उत्पादन भएको खण्डमा खान समस्या हुदैन। यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन्। ’
उनले भालु भगाउनको लागि हरेक बारीमा तर्साउने वस्तु राखिएको उनले बताए। भालु आउने बाटो पहिचान गरेर पासो थाप्ने देखि भाडाकुडा बजाएर भगाउने कार्य चलिरहेको छ। कहिलेकाँही थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ। उनले भने,‘भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन। बारीमा एक्लै हिड्न समेत सकस हुने गरेको छ। ’
‘एक त अन्नबाली उत्पादन कम हुन्छ,’ उनले भने, ‘त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन्। ’ अधिकांश किसानले खेतबारी वरिपरि मान्छे जस्तै भ्याउने बनाएर राख्ने गरेका छन्। पछिल्लो समयमा भालुको तीव्र चहलपहल बढेपछि किसानले जंगल नजिकैको बारीमा खेतिगर्न छाडेका छन्।
दिउसो मानिसको व्यापक चहलपहल हुने भएकोले भालु बारीमा पस्न डराउँछ , उनले भने,‘रातिको समयमा बारीमा बस्छ। बारीमा कुकुर बाँधेर राख्ने,मकैबारीमा पाल टाँगेर बस्ने गरिएको छ। अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ। ’
वर्षेनि भालुले बालीमा नोक्सानी पुर्याउन थालेपछि गाउँका किसानले मकै अन्नबाली लगाउन छाडेको उनले जानकारी दिए । मकै बारीमा भालु पसेर नष्ट गर्न थालेपछि किसानले भालु नियन्त्रणमा लिएर बाली जोगाइदिन माग गरेका छन्। अहिले जिल्लाभर भालुको बिगविगी बढेको छ। यहाँका स्याउ बगैँचा, मौरीको घार देखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन्।
यसअघि आहारा खोज्दै भालु जुम्ला सदरमुकाम खलंगा बजारमा पसेको थियो। त्यो बेला सदरमुकामको मुटुमै दुइ जनालाई आक्रमण गरेको थियो। नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा भालु मारिएको थियो। पछिल्लो समयमा गाउँआसपासका क्षेत्रमा भालु प्रवेश गर्न थालेपछि एक्लै दुक्लै हिड्न समेत गाह्रो हुने गरेको स्थानीय बताउँछन्।
प्रकाशित: ५ आश्विन २०७८ ०४:२० मंगलबार