१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दाहाललाई गाउँपालिकाको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाललाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरेको छ। गाउँपालिकाले १८ औं निजामती सेवा दिवसको अवसरमा मंगलबार गाउँपालिकामा कार्यरत निजामती कर्मचारीमध्येबाट प्रमुख प्रशासकीय अधिकृत दाहाललाई १० हजार राशीको उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको हो।

२०७५ साल मंसिर १७ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा दिप्रुङ चुईचुम्मा गाउँपालिका आएका दाहाललाई गाउँपालिकाको संमृद्धि, विकास र अग्रगमनका लागि हरेक प्रकारका आरोह अवरोहरुको सामना गर्दै सेवा प्रवाहमा अतुलनीय योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो। उत्कृष्ट कर्मचारीको सम्मान र प्रोत्साहनमा गाउँपालिका आफैले उत्कृष्ट निजामती कर्मचारी पुरस्कार स्थापना गरेको जनाएको छ।  

यस्तै, गाउँसभा सदस्य स्वर्गीय नारायणप्रसाद श्रेष्ठको स्मृतिमा स्थापना गरिएको स्मृति कोषको व्याजबाट अस्थायी कोभिड अस्पताल याम्खामा कार्यरत ल्याव असिस्टेन्ट सविना तामाङ र वडा सचिव सञ्जिव आचार्यलाई नगद १०/१० हजार सहित पुरस्कृत गरिएको छ। कोभिड–१९ को महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर टोल–टोलमा पुगेर एन्टीजेन परिक्षण गर्दै महामारी रोकथाम तथा नियन्त्रणमा पुर्याएको योगदानको कदर गर्दै ल्याव असिस्टेन्ट तामाङलाई पुरस्कृत गरिएको हो। यस्तै, ७ वडाका सचिवमध्येबाट उत्कृष्ट कार्य सम्पादन गरेवापत आचार्यलाई स्वर्गीय नारायणप्रसाद श्रेष्ठ स्मृति कोषवापतको पुरस्कार प्रदान गरिएको हो।

२०७८ साल बैसाख ७ गते निधन भएका श्रेष्ठको स्मृतिमा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा ३ लाखको स्वर्गीय नारायणप्रसाद श्रेष्ठ स्मृति कोष स्थापना गरेको थियो। निर्वाचित वडासदस्य श्रेष्ठको चीरकाल पर्यान्त सम्झना गर्ने र पुरस्कारको माध्यमबाट निजामती कर्मचारीलाई आफ्नो पदीय जिम्मेवारी र कार्यप्रति थप उत्साह र हौसला प्रदान गर्ने लक्ष्यका साथ स्मृति कोष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत दाहाल, ल्याव असिस्टेन्ट तामाङ र वडा सचिव आचार्यलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, वडाध्यक्ष इन्द्रबहादुर बस्नेत र स्वर्गीय श्रेष्ठकी छोरी तारा श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।  

निजामती सेवा दिवसको अवशरमा गाउँपालिकाले पुरुष तथा महिला व्याडमिन्टन प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगितामा पुरुषतर्फ गाउँपालिका कर्मचारी प्रथम, प्रहरी चौकी दिप्रुङ चुईचुम्मा दोश्रो, महिलातर्फ स्वास्थ्य चौकी छोरम्बु प्रथम र अस्थायी कोभिड अस्पताल दोश्रो भएका छन्। प्रथम र दोश्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः नगद ५ हजार र ३ हजारका साथमा ट्रफी प्रदान गरिएको गाउँपालिकाका आइटी अफिसर मनिचन्द्र राईले जानकारी दिए। 

प्रकाशित: २२ भाद्र २०७८ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App