१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पत्रकारलाई धम्की प्रकरणः वनले माग्यो माफी, सञ्चारकर्मी सुरक्षाको माग गर्दै प्रशासनमा

समाचार लेखेकै भरमा रौतहटका एक पत्रकार र निजको परिवारले सास्ती खप्नु परेको छ। प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारको समयमा रौतहटका एक सञ्चारकर्मीको परिवारलाई रौतहटको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको उपसचिवले धम्की दिएको छ।

गत भदौ १८ गते हातेमालो सामुदायिक वन उपभोक्ता समूहको विषयमा समाचार लेखेका रौतहटका सञ्चारकर्मी सन्तोष काफ्लेलाई समूहका उपसचिव शालिग्राम उपाध्यायले व्यक्तिगत चरित्रमाथि आँच पुग्ने गरी अभिव्यक्ति दिएको र धम्क्याउने किसिमको व्यवहार गरेको भन्दै सञ्चारकर्मी काफ्लेले सुरक्षाको माग गर्दै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका छन्।  

समाचार लेखेकै भरमा घरपरिवारलाई तर्साएकोले पूरै परिवार नै तनावमा रहेको तथा असुरक्षित महसुस गरेको भन्दै सञ्चारकर्मी काफ्लेले सुरक्षाको माग गर्दै धम्की दिने शालिग्राम उपाध्याय र वन उपभोक्ता समूहलाई कारबाहीको माग गरेका हुन्।  

समाचारको विषयलाई आपत्तिजनक शैलीमा वन उपभोक्ता समूहले सञ्चारकर्मी काफ्लेलाई समूहको कार्यालयमा उपस्थित हुन पत्र काटेको तथा कार्यालयमा उपस्थित नभए समूहको कार्यसमितिले सञ्चारकर्मी काफ्लेको घर नै घेर्ने धम्की दिएको काफ्लेको दाबी छ।  

समाचार लेख्दा चित्त नबुझेमा खण्डन पठाउनु पर्ने वा अन्य कानुनी उपचार खोज्नुपर्नेमा त्यसो नगरी सञ्चारकर्मीलाई पूर्जी काटी धम्कीको भाषा प्रयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्ति निकाली घोर भत्सर्ना गरेको छ। शाखा सचिव मदन ठाकुरको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा समूहको यस्तो कार्य प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै कडा शब्दमा आलोचना गरिएको। साथै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने सरकारसित कारबाहीको माग पनि गरेको छ।  

यसैबीच वन उपभोक्ता समूहले समाचारको विषयलाई लिएर पत्र काटेको सम्बन्धमा आइतबार पत्रकार काफ्लेसित क्षमायाचना गरेको छ।

प्रकाशित: २० भाद्र २०७८ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App