४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अझै उठ्न सकेन काठमाडौँका मुख्य मुख्य चोकका फोहर

चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन। अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ।

नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन। लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ। आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने कामपा वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहको छ। ‘धेरै दिनको सङ्कलित फोहर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ’, प्रमुख श्रेष्ठले भने। अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको बताइएको छ। कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो। सो सूचना सार्वजनिक भएको १८ हप्तापछि फोहर व्यवस्थापनको काम भएको हो। सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ।  

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ। निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ।

प्रकाशित: १९ भाद्र २०७८ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App