१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मेचीको ‘लाइफ लाइन’ जोखिमपूर्ण

मेची क्षेत्रको ‘लाइफ लाइन मेची राजमार्गको इलाम–गोलाखर्क भन्ज्याङ खण्ड क्षतिग्रस्त हुँदा दुर्घटनाको जोखिम बढेको छ। माथिबाट पहिरो झरेर र सडक धस्सिएर कतिबेला दुर्घटना होला भन्ने त्रासमा सवारीसाधन गुडिरहेका छन्।

धस्सिएर र माथिबाट पहिरो झरेर सडक क्षतिग्रस्त भएको लामो समय बितेको छ। हिउँदमा मर्मतले चलिरहे पनि बर्खा लागेपछि यो सडक निकै जोखिमपूर्ण भएको हो। सडक क्षतिग्रस्त हुँदा झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङ आउ–जाउ गर्ने सवारीका साधनले सास्ती बेहोर्नुपरेको छ। 

माइखोलाभन्दा माथि करिब ३ सय मिटरको सडक ३ ठाउँमा जोखिमपूर्ण बनेको छ। डिभिजन सडक कार्यालयले ठूलो रकम खर्च गरेर वर्षाैंदेखि मर्मत गरिरहेको छ। तर, सडक सुध्रिनुको साटो झन् बिग्रिरहेको छ। सवारीचालक विवेक थापाले कतिबेला माथिबाट पर्खाल झरेर गाडी पुर्ला भन्ने त्रासमा हिँड्नुपरेको बताए। ‘यहाँ आइपुगेपछि गाडीको स्पिड बढाएन भने सडककै पर्खाल झरेर पुर्छ भन्ने डर छ,’ उनले भने, ‘स्पिड बढाउँदा पनि भुइँमा हिलो र धेरै अप्ठ्यारो भएकाले गाडी नियन्त्रण गर्न सकिँदैन।’

पटक–पटकको सामान्य मर्मतले नधानेपछि करिब ६ वर्षअघि यो खण्डमा करिब ७ करोड रूपैयाँ खर्चेर ‘रक एंकरिङ’ प्रविधिबाट पहिरो नियन्त्रण प्रयास गरिएको थियो। तर काम सम्पन्न गरेकै बेलादेखि सडक सुध्रिएको छैन। त्यतिबेला यहाँको भौगर्भिक अध्ययनसमेत गरिएको थियो। अध्ययन टोलीले राजदुवाली पुलभन्दा माथिको करिब ३ सय मिटर भू–भाग भित्रभित्रै बग्दै गरेको पाएको थियो। सतहभन्दा करिब १५ मिटर तलको जमिन बग्दै र भास्सिँदै गरेको पाइएपछि २५ मिटरभित्रसम्म रक एंकरिङ गरी सडक सुधार्ने प्रयास गरिएको थियो। भित्तामा कंक्रिट वाल र पिलरसमेत राखिएको छ। तर, अहिले त्यही पिलर र वाल ढल्केर सवारीसाधन गुडाउन जोखिम बढेको हो।

पूर्वेली जिप तथा ट्याक्सी प्रालि अध्यक्ष गीष्म सुब्बाले पटक–पटक आफूहरूले जोखिमपूर्ण सडक मर्मतका लागि दबाब दिए पनि अहिलेसम्म समाधान नभएको बताए। ‘पानीले माटो भिजेर जोखिम भएको ठाउँमा गाडी गुडाउँदा त्यसैको थर्काेले पहिलो झर्ला भन्ने त्रास छ,’ उनले भने, ‘यसको मर्मतका लागि सयौंपटक सरोकारवालालाई भनियो तर केही लागेन।’

जिल्ला विपद् व्यवस्थापन समितिले गत वर्ष नै यो सडकको वैकल्पिक मार्ग पहिल्याउन सडक डिभिजनलाई सुझाव दिएको थियो। सुझावअनुसार कार्यालयले यसको विकल्पका लागि बजेट र कार्यक्रम व्यवस्था गर्न विभागलाई पत्राचार गरेको थियो। तिल्केनीबाट सोझै माइखोला र सिलपुरनजिक निस्कने वैकल्पिक मार्ग बनाउन डिभिजनले विभागलाई प्रस्ताव गरेको थियो। तर, डिभिजन प्रमुख अविमन मुल्मीले चालु वर्षमा वैकल्पिक मार्गका लागि बजेट नै विनियोजन नभएको बताए।

 ‘यो सडकको विकल्प नै सबैभन्दा राम्रो समाधान हो तर यो वर्ष त्यसका लागि पैसा नै छुट्टिएन,’ उनले भने, ‘बीचमा स्रोत मिल्यो भने मात्र सडक सुधार्न सकिने अवस्था छ।’ उनले अहिले कुनै अवरोध आइहाले एक्स्काभेटर लगाएर सडक पन्छाउने गरेको बताए। ‘बर्खाको समयमा राजमार्गको यो खण्ड निकै नै जोखिमपूर्ण भइसकेको छ,’ उनले भने, ‘हामीले अहिले सडकमा बाधा–अवरोध पन्छाइदिनेबाहेक अरू काम गर्न बजेट नै छैन।’

विभागले अहिले पुनः विज्ञ टोली खटाएर यो क्षेत्रको अध्ययन गरी सडक निर्माण गर्ने सम्भावना रहेको उनले जनाए। विभागले यो क्षेत्रको भौगर्भिक अध्ययन गर्न टोली छनोट गर्दै छ भन्ने सुनेको छु,’ उनले भने, ‘विज्ञ प्राविधिक टोलीले अध्ययन गरेर विभागमा प्रतिवेदन बुझाएपछि सडकको त्यो क्षेत्रमा कुन विकल्प खोज्ने भन्ने टुंगो लाग्छ।’

प्रकाशित: १२ भाद्र २०७८ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App