७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

मुद्दा दर्ता संख्यामा वृद्धि

जिल्ला प्रहरी कार्यालय धादिङले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै प्रहरी उपरीक्षक महेन्द्र खड्का । तस्बिर: सरिता/नागरिक

जिल्ला प्रहरी कार्यालय धादिङमा विभिन्न घटनामा मुद्दा दर्ता गर्नेको संख्यामा वृद्धि भएको छ । कार्यालयमा आर्थिक वर्ष ०७५/७६ मा ४ सय ३७, ०७६/७७ मा ४ सय ५७ र ०७७/७८ मा ४ सय ९० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले बताए। 

कार्यालयले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै एसपी खड्काले पहिलेको तुलनामा प्रहरी कार्यालयमा नै आएर मुद्दा दर्ता गर्नेको संख्यामा वृद्धि भएको बताए। ‘पहिले पहिले घटना हुदाँ गाउँमै मिलापत्र हुन्थ्यो, दुर्गम भेगतिर प्रहरीको सेवा न्यून पनि थियो,’ एसपी खड्काले भने, ‘अहिले प्रहरीको सेवा पनि सबैतिर पुगेको छ र प्रहरीमा उजुरी दिनुपर्छ भन्ने मानसिकता र नयाँ ऐन कानुनका कारण पनि मुद्दा दर्ता संख्यामा बृद्धि भएको हो।’

जिल्लामा महिला हिंसा तथा घरेलु हिंसाका घटनामा पनि बढेको छ। १ हजार ४ सय १२ वटा उजुरीको मिलापत्र भैसकेको छ भने ४ सय ९० वटा प्रक्रियामा रहेको छ। आत्महत्या गर्नेको संख्यामा पनि वृद्धि भएको छ। अघिल्ला आर्थिक वर्षहरुको तुलनामा यो आर्थिक वर्षमा डरलाग्दोसँग बढेको छ। आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा क्रमश ९३, र ९४ जनाले आत्महत्या गरेका थिए। तर ०७७/७८ मा १ सय ४२ जनाले आत्महत्या गरेको एसपी खड्काले बताए। घरायासी समस्या, आबेगमा आएर आत्महत्या गने गरेको उनले बताए।

त्यस्तैगरी, आपराधिक घटना घटाएर फरार प्रतिबादीहरुलाई पनि क्रमिक रुपमा प्रकाउ गरिरहेको छ। साविक चैनपुर गाविस ३ धादिङका हुतराज छत्कुलीलाई घटना घटाएको ५० वर्ष पछि पनि पक्राउ गरिनुले अपराध गरेर कानुनबाट कोहि बच्न सक्दैन भन्ने उदाहरण बनेको उनले बताए। प्रहरीले यस अघि फरार अपराधी पक्राउ अभियान नै संचालन गरेका थिए । त्यस्तै अघिल्लो आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट ३ करोड २७ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको छ। गत आर्थिक वर्षमा ३ सय ५८ रोपनी जग्गामा लगाएको गाँजा र ८ सय २० रोपनीमा लगाएको अफिम नष्ट गरेको बताए।

यस्ता विभिन्न घटनामा प्रत्येक वर्ष उजुरी दिनेको संख्या बढेपनि अपराधका घटनामा भने कमी हुन नसकेको एसपी खड्काले बताए। ‘तथ्याङ्क हेर्दा हरेक वर्ष प्रहरीमा उजुरी दिनेहरुको संख्या बढेको छ’, एसपी खड्काले भने, ‘उजुरी दिनेको संख्या बढे पनि अपराधका घट्नामा भने जिल्लामा कम हुन सकेको छैन, अपराध न्युनीकरणका लागि सम्बन्धित सरोकारवाला निकायबीच समन्वय भएर ठोस कार्यक्रम सन्चालन गर्नुपर्ने देखिन्छ।’ 

शान्त्ति सुरक्षा सुव्यवस्था, फरार प्रतिवादी पक्राउ, बालविवाह तथा बहुविवाह नियन्त्रण, अवैध नदीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण, चोरी नियन्त्रण, ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, कोभिड -१९ रोकथाम जस्ता कार्यमा धादिङ प्रहरी लागिरहेको पनि उनले बताए। नेपाल प्रहरी, नागरिक समाज, अनुसन्धान गर्ने न्यायिक निकायहरु सबैको सहकार्यबाटै शान्ति सुरक्षा अमन चयन र न्यायिक निरुपण सवल हुने उनको भनाई छ। आगामी वर्ष महिला हिंसा न्युनीकरण, अपराध न्युनीकरण, आत्महत्या, सवारी दुर्घटना रोकथाम लगायतको क्षेत्रमा विशेष योजना बनाएर काम गर्ने एसपी खड्काले बताए।

प्रकाशित: ८ भाद्र २०७८ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App