७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जोखिमपूर्ण क्षेत्रका बस्ती सार्ने तयारी

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जोखिमपूर्ण स्थानका बस्ती स्थानान्तरण गरिने बताएका छन्। आइतबारको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले खोला छेउ, पहिरो जानेस्थानलगायतका जोखिमपूर्ण क्षेत्रमा निर्माण भएका घरहरू र बसेका बस्तीहरू स्थानान्तरणको तयारी भइरहेको बताएका हुन्।  

संघ, प्रदेश र स्थानीयतहबीच समन्वय गरेर प्रदेश १ का विभिन्न जिल्लामा निर्माण भएका जोखिमपूर्ण स्थानका बस्तीहरू स्थानान्तरण गरिने मन्त्री कार्कीले स्पस्ट पारे। ‘तीनै तहका सरकारबीचको समन्वयमा जोखिम स्थानका बस्ती स्थानान्तरण गरिनेछ’, उनले भने, ‘खोलामा घर बनाउने अनि बाढीले बगायो भनेर खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नु आवश्यक छ।’  

मन्त्री कार्कीले प्रदेश १ मा बाढी पहिरोलगायतका प्राकृतिक विपद्ले घर भत्काएको अवस्थामा हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ घर निर्माण गर्नका लागि उपलब्ध गराईने जानकारी दिए। विपद् न्यूनीकरणमा प्रदेश सरकार सचेत रहेको र विपद्का घटना न्यूनीकरण गर्ने विषयमा प्रदेश सरकारले विभिन्न काम र कार्ययोजना अघि बढाइरहेको उनले स्पष्ट पारे। 

प्रदेशको नामाकरणमा ढिलाई भइरहेको स्वीकार्दै मन्त्री कार्कीले ढिला भएको तर, वितिनसकेको बताए। उनले सबैको सहमतिमा नाम राख्न खोज्दा ढिला भएकाले यहि अधिवेशन नभए आगामी अधिवेशनबाट नामाकरण टुंगो लगाइने स्पष्ट पारे।

प्रकाशित: ३१ श्रावण २०७८ १२:११ आइतबार

जोखिमपूर्ण क्षेत्र बस्ती सार्ने तयारी