हरेक वर्षा झैं यो पालि पनि पहाडी भेगका सडकहरु वर्षाले क्षतविक्षत भएका छन्। केही दिनयता दिन बिराएर पानी परिरहदा जिल्लाको पहाडी भेगका दर्जनौं सडकहरु पहिरो र हिलोले यातायात सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्।
खासगरी सदरमुकाम गाईघाटसँग जोडिएको सडकदेखि छुटिएका शाखा र उपशाखा ग्रामिण सडकखण्ड जताततै भत्कनुका साथै पहिरोले पुरिने र हिलो भरिएर यातायात आउजाउमा समस्या भएको हो। यो वर्ष जेठ पहिलो सातादेखि नै निरन्तरजस्तो वर्षा भईरहेको छ। वर्षाले कच्ची सडकहरु भत्कने, पुर्ने, पहिरो जाने र हिलोले खाल्डाखुल्डी पर्दा गाडी चलाउन समस्या परेको यातायात व्यवसायीहरु बताउँछन्। व्इवसायीहरुका अनुसार पहाडी भेगका प्राय सबै कच्ची सडकहरुको हालत लगभग उस्तै छ।
समथर भूभागमा डुबान र कटानको समस्या पर्ने गरे पनि वर्षाले पहाडी भेगका सडकहरु भने पहिरोकै समस्या खेप्नुपर्ने अवस्था छ। लामो दुरीको गाईघाट दिक्तेल सडकसँग जोडिएका बिभिन्न स्थानीयतह जाने कच्ची सडकहरु धेरैजसो बिग्रेर यातायात आउजाउ अवरुद्ध हुन पुगेको छ। केही दिनयता हरेक दिनजसो वर्षा भईरहेको छ। निरन्तर हुने वर्षाले भत्कने पहिरो मर्मत गरे पनि तुरुन्त भत्कने गर्दा सडक मर्मत पनि दिगो नहुने स्थानीय बताउँछन्।
धेरैजसो भर्खर खनिएका कच्ची सडक भएकाले जताततै पहिरो र हिलोले चारपाङग्रे साधन हिड्न सक्ने अवस्थामा छैन। मोटरसाईकलसम्म पनि हम्मे गरी चलाउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्। पहिरो र हिलोले पहाडी भेगका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाका आन्तरिक सडकहरु महिनादिनयता लगभग बन्दको अवस्थामा छन्। ती स्थानीयतहका आन्तरिक सडकहरु झन् चल्नै नसक्ने स्थितिमा पुगेको भुक्तभोगीहरुको भनाई छ।
लिमचुङबुङका स्थानीय राजेन्द्र राईका अनुसार सडक बिग्रेका कारण गाउँपालिका केन्द्र बाराहा जान आउन, एकवडादेखि अर्कोमा जान समस्या परेको छ। भत्के बिग्रेको सडक मर्मत गरे पनि अर्को दिन परेको वर्षाले बिगारिहाल्ने गरेकाले जस्ताकोतस्तै बनाउने गरेकाले बनाउन पनि स्थानीयहरु दिक्क मान्ने गरेको राईले बताए।
अर्को पहाडी गाउँपालिका ताप्लीको हालत पनि उस्तै छ। ५ वटै वडामा आन्तरिक सडक निर्माण भईसकेको भए पनि हिउँदभरी चल्ने सडक वर्षा लागेपछि कामै नलाग्ने गरेको स्थानीय बताउँछन्। वडा नं. १ ओख्लेका शिक्षक कृष्ण ठकुरीका अनुसार सानो बजेट, भिरालो जमिन र बिना इन्जिनियरिङ खनिएका सडक भएकाले दीगो र भरपर्दो हुन नसकेको हो। जति मर्मत गरे पनि कामै नलाग्ने सडकले हरेक वर्षायाममा दुःख दिने गरेको वडाबासीको दुखेसो छ। उदयपुरगढी र रौतामाई गाउँपालिकामा पनि समस्या त्यस्तै रहेको छ।
सदरमुकाम भए पनि त्रियुगा नगरपालिकाका पहाडी वडाहरुमा पनि समस्या उस्तै छ। त्रियुगाका वडा नं. १४, १५ र १६ सबै पहाडी र बिकट भएकाले सडकहरुको हालत खराव रहेको छ। कटारी नगरपालिकाका ८, ९, १०, ११, १२, १३ र १४ नंं वडाहरु सबै पहाडी भेग भएकाले समस्या उस्तै रहेको छ। त्यस्तै, चौदण्डीगढी नगरपालिकाको पहाडी वडाहरु १, २ र ८ नं. वडामा पन िआन्तरिक सडकहरुको अवस्था वर्षालय दयनीय बनाएको छ भने बेलका नगरका ५, ६ र ७ नं. वडा जाने सडकहरु पनि वर्षाको चपेटामा परेको स्थनीयको भनाई छ।
सडकहरु भत्केका कारण नगरपालिका केन्द्र (मुकाम) आउजाउ गर्न निकै कठिनाई हुने गरेको उनीहरुको भनाई छ। कच्ची सडकहरु हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्य हुने अर्को समस्या पनि छदैछ। पहिलेजस्तो सडक भत्कदा मर्मत गर्न जिल्ला र केन्द्रको मुख ताक्नु नपर्ने भएकाले त्यति ठूलो समस्या भने अहिले छैन। हरेक स्थानीयतहले आन्तरिक सडक बिग्रे भत्केका बेला आवश्यक बजेट तर्जुमा गरेर मर्मत गर्न सक्ने भएकाले जनतालाई केही राहत भने भएको नागरिकहरु बताउँछन्।
प्रकाशित: २५ श्रावण २०७८ ०७:०९ सोमबार