१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

अवैध क्रसर उद्योगमा प्रशासनको ताला

सुर्खेतको लेकबेंसी नगरपालिका–१ स्थित भेरी एग्रिग्रेड एन्ड सेन्ड रिफाइनरी उद्योगले घरेलु तथा साना उद्योग विकास समितिबाट दुई वर्षअघि बालुवा प्रशोधन, होमपाइप, ब्लक र सिमेन्टका पोल उत्पादन गर्ने अनुमति पाएको छ। तर त्यो उद्योगले दुई वर्षदेखि उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको पटकपटकको अनुगमनका क्रममा क्रसर उद्योग बन्द गर्न मौखिक तथा लिखित निर्देशन दियो। निर्देशनको अवज्ञा भएपछि प्रशासनले सो उद्योग सिल गरिदिएको छ।

पछिल्लो समय असार २६ गते प्रमुख जिल्ला अधिकारी छवि रिजालको नेतृत्वको टोलीले उद्योगको स्थलगत अनुगमन गर्‍यो। उद्देश्यविपरीत क्रसर उद्योग सञ्चालन भएको पाइएपछि बन्द गर्न भन्दै उद्योग सञ्चालकलाई लिखित पत्र दिइयो। साउन ९ गते फेरि प्रजिअ रिजालको नेतृत्वमा सहायक प्रजिअ रोम महत, जिल्ला प्रहरी कार्यालयका प्रमुख र उद्योग सञ्चालकको उपस्थितिमा पुनः अनुगमन भयो। यसअघिको लिखित निर्देशनको अवज्ञा गरेको पाइएपछि प्रशासनले पाँच दिनभित्र उद्योगबाट क्रसर प्लान्ट हटाउन निर्देशन दियो।

‘उद्देश्यविपरीत सञ्चालित क्रसर प्लान्ट हटाउन पटकपटक लिखित र मौखिक निर्देशन दिँदा पनि अटेर गरेकाले उद्योग सिल गरेका छौं,’ सहायक प्रजिअ महतले भने, ‘थप कारबाहीका लागि माथिल्लो निकायमा लेखेर पठाएका छौं।’ प्रशासनले अनुगमनका क्रममा बालुवा बिक्रीवितरणसम्बन्धी बिलबिजकको मौज्दात विवरण पनि नपाएको बताएको छ। प्रशासनले उद्योगसँग मौज्दात विवरण माग गरेको छ। ‘आर्थिक वर्ष २०७७/७८ को सुरु मौज्दात, खरिदको परिणाम, बिक्री परिणाम र अन्तिम मौज्दात उद्योगसँग माग गरेका छौं,’ उनले भने, ‘पुरै विवरण आएपछि थप कारबाही प्रक्रिया अघि बढ्छ।’

प्रहरीको पनि मिलेमतो

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंसिरमा गरेको अनुगमनका क्रममा सुर्खेतका आठवटा क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइयो। सहायक प्रजिअ महतको अनुगमन समितिको प्रतिवेदनका आधारमा प्रशासन कार्यालयले पुस १ गते आठवटा क्रसर उद्योग बन्द गराउन प्रहरीलाई पत्राचार गरिसकेको छ। तर प्रहरीले भने प्रशासनको निर्देशन अटेर गर्दै आएको छ। जसका कारण अवैध भनिएका क्रसर उद्योगहरू निर्वाध रूपमा सञ्चालन भइरहेका छन्। ‘मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगको नाम र ठेगानासहित बन्द गराउन र अन्य आवश्यक कारबाही गर्न प्रहरीलाई पत्राचार गरेका थियौं,’ सहायक प्रजिअ महतले भने, ‘अनुगमनका क्रममा त्यस्ता क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ।’

लेकबेंसी नगरपालिका–१ स्थित खहरेखोलाको भेरी एग्रिग्रेडको अवस्था पनि त्यहीँ हो। उद्योगको एक किलोमिटरको दूरीमा दुईवटा प्रहरी चौकी छन्। उद्योगको आवाज यी दुवै प्रहरी चौकीसम्मै सुनिन्छ। प्रशासन कार्यालयको निर्देशनअनुसार यो क्रसर उद्योग उहिल्यै प्रहरीले बन्द गराउनुपर्ने हो । तर प्रजिअ आफैं गएर सिल गर्नुपर्ने अवस्था आयो। क्रसर उद्योगीसँग प्रहरीको मिलेमतोका कारण प्रशासनको निर्देशन पालना नहुने बताइएको छ। ‘क्रसर उद्योगनजिकै सडक छ, दैनिक प्रहरीको ओहोरदोहोर हुन्छ,’ एक स्थानीयले भने, ‘क्रसर उद्योगीसँग प्रहरी मिलेको भएकाले प्रशासनको निर्देशन कार्यान्वयन भएको छैन।’

भेरीगंगा र गुर्भाकोट नगरपालिकाको सिमाना गोचेखोलामा हाम्रो निर्माण सेवाले क्रसर उद्योग सञ्चालन गरिरहेको छ। छिन्चु–जाजरकोट सडकबाटै यो अवैध क्रसर उद्योग देखिन्छ। नजिकैको बजार जहरे र मेहलकुनामा पनि प्रहरी चौकी छन्। खोलासँग जोडिएको क्रसरका कारण यहाँका तीन गाउँको खानेपानीको मुहानै धमिलो हुन्छ। स्थानीयले खोलाकिनारबाट क्रसर उद्योग हटाउन स्थानीय सरकार र प्रहरीलाई पटकपटक अनुरोध गरेका छन्। प्रशासनले नै क्रसर उद्योग बन्द गराउन र अटेर गरे अन्य आवश्यक कारबाही गर्न पत्राचार गरिसकेको छ। यो क्रसर उद्योग पनि निर्वाध सञ्चालनमै छ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–२ स्थित भेरी नदीकिनारमा चारवटा अवैध क्रसर उद्योग छन्। प्रशासन कार्यालयले नामसहित क्रसर उद्योग बन्द गराउन पत्राचार गरेको छ। वडाध्यक्षको अगुवाइमा भएको १ सय ५२ स्थानीयको भेलाले सबै सरोकारवाला निकायमा बस्ती नजिक र नदीकिनारका रहेका क्रसर उद्योगहरू बन्द गराउन पत्राचार गरेको छ। क्रसर उद्योगदेखि सय मिटर दूरीमा प्रहरी चौकी छ। प्रहरीकै आँखा अगाडि अवैध क्रसर उद्योगहरू निर्वाध सञ्चालन भइरहेका छन्। 

प्रकाशित: २२ श्रावण २०७८ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App