१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दश वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोतीखोला पुल

२०६८ सालबाट निर्माण सुरु भएर आईतबारबाट संचालनमा आएको सोतीखोला पुल । तस्विर सौजन्यः डिलबहादुर गुरुङ

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोतीखोलाको पुल १० वर्षपछि निर्माण पुरा भएको छ । २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।  ‘ढिलै भएपनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो,’ ठेक्का लगाउने ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख राजेश यादबले भने ‘अब जनतालाई केही सहज हुने भएको छ ।’  

आरुघाट गाउँपालिकाको सोती खोलामा २०६८ सालमा ठेक्का सम्झौता भएको उक्त पुल रायमाझी इसान जेभीले २०७० सालमा पुरा गर्नुपर्ने थियो । तर पुल निर्माण सम्पन्न गर्नुपर्ने समयमा पुलको दुबैतर्फ ‘फाउन्डेसन’ मात्रै तयार भयो ।  सोती खोलामा बाढी आएर फाउण्डेसन पुरेपछि निर्माण व्यवसायीले काम छाडेका थिए । काम गर्न समस्या भएको दावी गर्दै काम भएजतीको भुक्तानी लिएर छाडेपछि अयोजनाले काम लगाउन सकेन । समयमै काम नगरेको भन्दै कार्यालयले जरिवानाको तयारी गरेको थियो । सरकारले लामो समय अलपत्र भएका योजना सम्पन्न गर्न एकवर्ष म्याद थपेपछि निर्माण कम्पनिले बल्ल उक्त अवधिमा काम गरेको कार्यालयले जनाएको छ ।

‘अधिकाशं काम निर्माण व्यवसायीले आर्थिक वर्ष २०७७/७८ मा गरेका हुन्’, कार्यालय प्रमुख यादबले भने । ठेक्का अलपत्र छाड्दा कालो सूँचीमा पर्ने डरले निर्माण कम्पनी काममा फर्किएको हो । पुल निर्माणका क्रममा फाउण्डेसन बाढीले पुरेपछि डिजाईनमा केही फरक गरेर तयार गरिएको यादब बताउँछन् ।

सडक कार्यालयलाई पुल निर्माण छिटो गरिदिन बारम्बार आग्रह गर्दै आएका स्थानीय आजित भएका थिए । अहिले पुल बनेसँगै उनीहरु खुसी र उत्साहित छन् । ‘अब धार्चेका जनतालाई धेरै सजिलो भयो,’ धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङले भनिन् ‘गाउँपालिकाको कार्यालय जान मुस्किल थियो, सोती खोलामा रोकिनुपथ्र्यो ।’ पुङेखोला, खानीबेसीको खहरेखोला र न्याउलीखोलामा केही सुधार गर्ने हो भने सडकबाट धार्चे गाउँपालिकाको केन्द्र सहजै पुग्न सकिने उपाध्यक्ष गुरुङ बताउँछिन् ।  

उक्त पुल सञ्चालनमा आएपछि अहिले सोती सम्म गएको यात्रुबाहक सवारी साधन माछाखोलासम्म जान सहज हुनेछ । मनास्लु क्षेत्र र पदमार्गमा यात्रा गर्न जानेहरुलाई पनि सजिलो हुने चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए । ‘पुल बनेसँगै पैदलबाटो छोटिएको छ, खाद्यान्न बोकेर, खच्चडमा लैजानुपर्ने ठाउँमा पनि केही सजिलो हुन्छ,’ उनले भने । माछाखोलामा पुल बनेपछि चुमनुब्री तर्फ जान अझै सहज हुने श्रेष्ठ बताउँछन् ।  

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा सडक ट्रयाक खुलेको छ तर चुमनुब्री सडक सञ्जालले जोडिएको छैन । त्यहाँ दैनिक उपभोग्य सामग्री, निर्माण सामगी सबै खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता स्थानीयलाई छ । सोती खोलामा पुल बनेपछि त्यहाँबाट भारी बोकेर जाने खच्चड माछाखोलाबाट जान सहज हुनेछ ।  नेपाली सेनाले अहिले तिब्बत जोड्ने सडकको ट्रयाक खनिरहेको छ । करिब ३५ किलोमिटर नयाँ ट्रयाक खोलिसकेको सेनालाई उक्त पुल नबन्दा निर्माण सामग्री, तेल, खाद्यान्न ढुवानी गर्न समस्या भएको थियो ।

प्रकाशित: १८ श्रावण २०७८ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App