१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेशकै उत्कृष्ट खजुरा

सम्मानपत्र बुझ्दै कुखुरा विकास फर्म खजुराका प्रमुख डा. शंकर न्यौपाने । तस्बिरः नागरिक

बाँकेस्थित खजुरामा रहेको कुखुरा विकास फर्म प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरेबापत सम्मानित भएको छ। लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कुखुरा विकास फर्म खजुरालाई सम्मान गरेको हो।

बुटवलमा आयोजना गरिएको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको वार्षिक समीक्षा कार्यक्रमको समापन समारोहमा प्रदेशमा रहेका कार्यालयहरू मध्ये खजुरालाई उत्कृष्ट सम्मान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादवले खजुरालाई प्रशंसापत्र, दोसल्लाहसहित सम्मान गरेका थिए। 

कुखुरा विकास फर्मसहित भेटेनरीतर्फ बर्दियाको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र रुपन्देहीको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पनि सम्मानित भएका छन्। त्यस्तै कृषितर्फ रोल्पाको कृषि ज्ञान केन्द्र र बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले सम्मानित भएका छन्। सम्मानित सबै कार्यालयहरूलाई बधाइ दिँदै मन्त्री यादवले उत्कृष्ट कार्य सम्पादनतर्फ अरु कार्यालयले पनि ध्यान दिनुपर्ने बताए।

कुखुरा विकास फर्म खजुराले चारवटा लक्ष्य लिएको थियो। स्थानीय तथा ग्रामीण कुखुराका चल्लाहरू उत्पादन गरी कृषकलाई सुलभ र सहज ढंगले वितरण गर्ने, पन्छी पालन किसानलाई प्राविधिक सहयोग परामर्श, लोप हुन लागेका पन्छीको संरक्षण र पन्छी पालनसम्बन्धी नीतिगत विकास गर्ने लक्ष्य राखिएको कुखुरा विकास फर्म खजुराका प्रमुख डा. शंकर न्यौपानेले जनाए। ‘हामीले प्रदेशका अरु जिल्लामा धेरै राजश्व पनि संकलन गरेका छौं,’ उनले भने, ‘कोभिड–१९ को महामारीमा पनि कामलाई पन्छ्याएनौं।’ आर्थिक वर्ष २०७७/७८ मा कुखुरा विकास फर्म खजुराले दुई लाख ६४ हजार कुखुरा वितरण गरेको उनले जनाए। 

कुखुरा विकास फर्मले एक करोड १७ लाख ९८ हजार रूपैयाँ राजश्व संकलन गरेको थियो। यहाँ उत्पादित कुखुरा ४३ प्रतिशत लुम्बिनी, २१ प्रतिशत कर्णाली, २० प्रतिशत सुदूरपश्चिम र अरु प्रदेशमा खपत भएको कार्यालयले जनाएको छ। उनका अनुसार प्रदेशमै पहिलोपटक पोल्ट्री नीतिको मस्यौदासमेत खजुराले निर्माण गरेको छ।  

साथै खजुराले कुखुराका लागि दानासमेत उत्पादन गर्न थालेको छ। कुखुरापालक किसानलाई जिल्ला बाहिर दाना ल्याउनु पर्ने बाध्यता हटेको कुखुरा विकास फर्म कार्यालयले जनाएको छ। साथै कुखुरा किसानका लागि प्राविधिक तालिमसमेत दिएको बताइएको छ।

प्रकाशित: १० श्रावण २०७८ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App