२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङ रिगाउँकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिँदै ।

सुत्केरी व्यथा लागेर छटपटाइरहेकी उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ रिगाउँकी १७ वर्षीया सुमिना तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । चार दिनदेखि सुत्केरी व्यथा लागेर छटपटाइरहेकी तामाङको सोमबार दिउँसो उद्धार गरिएको हो । स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने भएपछि गाउँपालिकाले नै हेलिकप्टर चार्टर गरी काठमाडौं प्रसूतिगृह थापाथली पुर्‍याएको हो ।

‘बच्चा जन्माउन योग्य उमेर नपुगिसकेको र व्यथा लागेको अवधि लामो भइसकेकोले खतराबाट बचाउन हेलिकप्टर प्रयोग गरिएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिए । गाउँकै हेल्थ सेन्टर, स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र वर्षातले कच्ची सडकमा एम्बुलेन्स आवातजावत गर्न सम्भव नभएपछि गाउँपालिकाकै खर्चमा हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको संयोजक अधिकारीले बताए ।

चार दिनअघि पनि गंगाजमुना गाउँपालिकाले वडा नं. ७ की मिनाको उद्धार गरी काठमाडौं पठाएको थियो । यो वर्ष मात्रै ४ जना गर्भवतीलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिसकेको छ । विकट वस्तीमा सडकको सुविधा राम्रो नभएकै कारण हेलिकप्टर प्रयोग गरेर महंगो शुल्क तिर्न बाध्य छन् । गाउँपालिकाले गाउँपालिकाभित्र सुरक्षित प्रसूति गराउन कठिनाई भए निःशुल्क हेलिकप्टर उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित: १४ असार २०७८ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App