६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाँदर भुलाउन जंगलमै फलफूल

बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि गोरखाको पालुङटार नगरपालिका ९ का किसानले बाँदरका लागि जंगलमा फलफूल लगाएका छन्।

तरकारी फलफूल, बारीमा रहेको मकै घरमै पनि आएर थन्काएको खेतीबाली बाँदरले खाएर हैरान बनाएपछि दरौँदीडाँडा सामुदायिक वनका किसानले जंगलमै फलफूलको बिरुवा रोपेका हुन्।  

‘सँधै मकै बारी कुर्नुपर्ने, एउटा बस्तीबाट धपायो, बाँदर अर्को बस्तीमा पुग्ने हैरान बनाएपछि हामीले अहिले बाँदरलाई जंगलमा भुलाउन सकिन्छ कि भनेर फलफुल रोपेका हौँ’ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुपलाल कुमालले भने।  

दुई हेक्टरभन्दा बढी जंगलमा हर्रो बर्रो, अमला, अम्बा, लप्सी लगाएको उनले बताए। ‘बनमासासहित जंगल मिचाहा प्रजातीको रुखबिरुवा काटेर फलफूल रोपेका छौँ’ उनले भने ‘जंगलमा फलफूल भएपछि बाँदर खेतबारी र घरसम्म कम आउँछ कि भन्ने सोचका छौँ।’  

यस वर्ष डिभिजन वन कार्यालय गोरखाले जिल्लाका बिभिन्न चारवटा सामुदायिक वनको सात हेक्टर क्षेत्रफलमा करिब ११ हजार वनजन्य फलफूल लगाउन सामुदायिक वनलाई सहयोग गरेको छ। गोरखा नगरपालिका १० को टक्साटारी सामुयिक वन, धार्चे गाउँपालिका ४ को गुङगाङ सामुदायीक वन गुम्दाद र थामपाखा सामुदायिक वन बारपाक सुलिकोट ४ मा एक हेक्टरमा फलफूल लगाइएको छ।  

‘यी ठाउँ बाँदरले धेरै दुःख दिने ठाउँ हो’ वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत महेश पौडेलले भने ‘अहिले वनजन्य फलफूल लगाइएको ठाउँ बस्ती नजिकका सामुदायिक वन पनि हुन्।’ बाँदर सोझै बस्तीमा खेतीबालीमा नपुगोस् भनेर ति ठाउँ छनौट गरिएको उनले बताए। सामुदायिक वनको मागका लागि कार्यक्रम संचालन गरिएको हो।  

‘अहिले बाँदरले दुःख दिएर किसानले गरेको खेतीबाली खाईदिने, क्षति पुर्याउने क्रम बढेको छ’ डिभिजन वन अधिकृत श्रेष्ठले भने ‘जनावर र मानिस बिचको द्वन्द्व कम गर्न वनजन्य फलफूल वितरण गरेका हौँ।’ किसानले बाँदरले खेतीबाली खाएर दुःख दिएको गुनासो गरेपछि यस वर्षदेखि गोरखामा यो कार्यक्रम संचालन गरिएको उनले बताए।  

एक हेक्टरमा करिब एक हजार छ सय बिरुवा रोपिएको छ। सामुदायिक वनलाई फलफूलको बिरुवा रोप्न वन डिभिजन कार्यालयले अनुदान दिएको सहायक वन अधिकृत महेश पौडेलले बताए। चिउरी, बेल, अम्बा, लप्सी जस्ता वनजन्य फलफूल बाँदरका लागि रोपिने उनले बताए। 

प्रकाशित: १३ असार २०७८ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App