उदयपुरको ताप्ली गाउँपालिका ४ का अग्निपीडित रामबहादुर गोलेलाई वैदेशिक रोजागरीको क्रममा बिभिन्न देशमा कार्यरत ताप्लीबासी युवाहरुको पहलमा सहयोग रकम प्राप्त भएको छ। कोभिड महामारीकै बेला आगलागीमा परी धनमाल नष्ट भएर घरबारबिहीन बन्न पुगेका गोललाई घर पुननिर्माणमा सहयोग गर्ने उद्देश्यले ताप्ली ४ स्थायी घर भई बिभिन्न देशमा कार्यरत युवाहरुले सहयोग गरेका हुन्।
गाउँमा भैपरी र बिपत आईपरेका बेला सक्दो सहयोग गर्ने उद्देश्यले वैदेशिक रोजगारीमा कार्यरत युवाहरुले गठन गरेको अनलाईन सञ्जाल ‘संघर्षशील युवा समाज’ले घर बनाउन सहयोगका लागि व्यक्तिव्यक्तिबाट रकम संकलन गरेर नगद सहयोग प्रदान गरेको ताप्ली ४ घर भई कोरियामा कार्यरत सुरज किरातीले बताए।
उनका अनुसार कोरियासँगै मलेसिया, बेलायत र नेपालकै बिभिन्न ठाउँमा रहेर पेशा व्यवसायमा संलगन युवाहरुले संकलन गरेको रकम गोलेलाई दिइएको हो।
किरातीका अनुसार कोरियामा कार्यरत उदयपुरका ताप्ली, लिमचुङबुङ, उदयपुरगढी, रौतामाई, बेलका र कटारीका युवाहरुसँगै पाँचथर, इलाम, तेरथुमलगायत बिभिन्न जिल्लाबाट कोरिया गएर कार्यरत २९ युवाबाट ५८ हजार १ सय ८२ रुपैयाँ संकलन भएको थियो। त्यस्तै मलेसियामा कार्यरत भोजपुरका ज्वाला राई, उदयपुरका पर्शुराम राई, कनक राई, रोमन मगर, सरोज मगरलगायतबाट १९ हजार ४ सय र खोटाङ घर भई बेलायत बस्दै आएकी माईलो खोटाङकी अध्यक्ष मीना गुरुङले १० हजार र नेपालमै संकलित २७ हजार ९ सय ४४ रुपैंया गरी १ लाख १५ हजार २ सय २६ रुपैंया गोलेलाई प्रदान गएिको छ।
संकलित रकम एकमुष्ट जम्मा गरेर गोलेलाई हस्तान्तरण गरिएको स्थानीय शिक्षक मिलन लो तामाङले बताएका छन्। नेकपा (माओवादी केन्द्र) उदयपुरका सदस्य तथा ताप्ली गाउँ कमिटी अध्यक्ष ढुंगराज विक र वाईसिएल उदयपुरका अध्यक्ष ज्ञानेन्द्र मगरसहितको टोली गोलेको घरमै पुगेर नगद हस्तान्तरण गरेको तामाङले बताएका छन्।
प्रकाशित: १२ असार २०७८ ०९:२५ शनिबार