सित्तैमा भेट्दा हात थाप्न अघि नसर्ने सायदै हुन्छन् । तर, कोही–कोही यस्ता पनि हुन्छन् जो सित्तैमा केही लिन चाहन्नन् । त्यहीमध्येमा पर्छन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ७१ वर्षका रिट्ठे बिश्वकर्मा ।
आफन्तको बारीको कान्लामा बाँसको भाटाले बारेको, खरको छाना हालेको सानो झुपडीमा बस्छन् उनी । ढाड बाहिर निस्कँदा कुप्रो परेका रिट्ठे शारीरिकरुपमा अशक्त छन् । बिहे गरेको चार वर्षमै श्रीमतीको मृत्यु भएपछि उनी झुपडीमा एक्लो छन् । एक्लो ज्यान, त्यसमाथि शारीरिक अपांगता । एक्लो मेहनतले उत्पादन भएको अन्नले पाँच/छ महिना धान्न धौ–धौ पर्छ । उनले चोयाबाट चित्रा, फुङगा, चुइयाँ बुनेर आउने आम्दानी जोडजाड गरेर वर्ष कटाउँने गरेका छन् । न राम्रो खाने व्यवस्था न बस्ने ठाउँकै । त्यही पनि उनी आफ्नै जीवनशैली रमाइरहेका छन् । झुपडीमा अभावै अभाव छ तर अरुले दया गरेर दिएको जुनसुकै चिज ठाडै अस्वीकार गर्छन् ।
कतिसम्म भने दाजुभाई तथा छरछिमेकमा पुग्दा समेत उनी हमेसा खाना खान मान्दैनन् । खान परे केही न केही काम गरिदिएर मात्र खान्छन् । खाना खान परे कुचो बाट्ने, दाम्लो बाट्ने वा चोया काढ्ने काम गरिदिन्छन् । दया–मायाँमा कसैले पैसा, लुगा, खानेकुरा दिन खोजे भने थाप्दैनन्, बरु रिसाउँछन् । यद्यपी, उनी ढोँगी होइनन् । सित्तैमा कसैको केही खान हुन्न भन्ने मान्यतामा उनी सँधै अडिग छन् । सित्तैमा भेट्दा ‘अलकत्रा’ बाँकी नराख्ने आम प्रवृत्तिका बिचमा रिट्ठे अपवाद हुन् । उनी आफ्नो तस्बिर खिच्न पनि जोसुकैको अगाडि तयार हुँदैनन् ।
शारीरिक रुपमा अशक्त भएकाले उनलाई तत्कालिन गाबिसबाट सामाजिक सुरक्षाभत्ताको व्यवस्था गरियो । तर, त्यो बेला रिट्ठेलाई भत्ता बुझ्नका लागि तयार पार्न तत्कालिन वडाध्यक्ष जगुमान बिश्वकर्मालाई हम्मे–हम्मे पर्यो । उनले ‘सित्तैमा आएको भत्ता लिन्न’ भनेर अड्डी कसेपछि कतिपय शुभेच्छुक अक्क न बक्क बने । ‘राज्यले नागरिकलाई दिएको सुविधा हो ऋण होईन’ भनेर सम्झाई–बुझाई गरेपछि बल्ल उनी अपांगताको भत्ता थाप्न तयार भएको स्थानीय एवं जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्मा बताउँछन् ।
अहिले फुसको छाना हटाएर जस्ताको छाना हाल्ने अभियान अन्तरगत नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहेको छ । सुरक्षित नागरिक आवास कार्यक्रमले रिट्ठे जस्ता निम्न आर्थिक अवस्थामा परिवारलाई छुटाउने कुरै भएन । तर, जस्ताको छाना हाल्दिने वा नयाँ घर बनाइदिने कुरा गर्दा रिट्ठे ठाडै अस्वीकार गर्छन् । ‘अहँ ! सरकारले बनाको घरमा नबस्ने । गाउँजेले बनाइदिए भने बस्ने ।,’ रिट्ठेले भने, ‘यस्तैमा बस्ने । नचुहिने भए हुन्छ मलाई । ढाल्नेले भएपनि बाक्लो पारेर छाएर नचुहिने भए हुन्छ मलाई । राम्रो गतिलो चाहिएन । हिँड्दा खेरी माया नलाग्ने, मरेर जाँदा माया नलाग्ने । बाँचुञ्जेल बस्दा पानी नचुहिने चाहिएको हो मलाई । त्यत्ती हो ।’ रोजगारीका सिलसिलामा कतारमा बसिरहेका युवाले उनको दयनीय अवस्था देखेर सहयोग उठाएर घर बनाइदिने प्रस्ताव पनि राखेका थिए तर उनले इन्कार गरे । छरछिमेकीले बनाइदिएको घरमा मात्र आफू बस्न तयार रहेको उनी बताउँछन् । ‘मरेपछि टिन लाको घरमा बस्न पाइँदैन, गएर कहाँ रुझ्दै कुहेर बस्नु पर्छ,’ उनले भने, ‘जलसागर लगेर डढायौं भने कहाँ पुगिन्छ । अनिखेर गतिलो घर बनाएर के गर्नु !’
रिट्ठे सित्तैमा कसैको केही पनि लिन चाहन्नन् । लिन परे केही दिएर मात्र वा फिर्ता गर्ने शर्तमा मात्र लिन तयार हुने उनको स्वभाव छ । गत वर्ष कोभिड–१९ को महामारीका बेला दिप्रुङ चुईचुम्मा गाउँपालिकाले चामल, दाल, नुन, तेल बाँड्दा साराले राहत थापे । तर, उनले गाउँपालिकाको सो राहत लिएनन् । उनको भागको राहत अर्कैलाई दिइयो । अशक्त, वृद्धावस्था त्यसमाथि एक्लो ज्यान भएकाले आफन्तले रिट्ठेको घरमा सोलार वा विजुली राखिदिने कुरा गरे तर उनले नमानेको जिल्ला समन्वय समितिका सदस्य बिश्वकर्माले बताए ।
कतिसम्म भने दाजुभाई तथा छरछिमेकमा पुग्दा समेत उनी हमेसा खाना खान मान्दैनन् । खान परे केही न केही काम गरिदिएर मात्र खान्छन् । खाना खान परे कुचो बाट्ने, दाम्लो बाट्ने वा चोया काढ्ने काम गरिदिन्छन् । दया–मायाँमा कसैले पैसा, लुगा, खानेकुरा दिन खोजे भने थाप्दैनन्, बरु रिसाउँछन् । यद्यपी, उनी ढोँगी होइनन् । सित्तैमा कसैको केही खान हुन्न भन्ने मान्यतामा उनी सँधै अडिग छन् । सित्तैमा भेट्दा ‘अलकत्रा’ बाँकी नराख्ने आम प्रवृत्तिका बिचमा रिट्ठे अपवाद हुन् । उनी आफ्नो तस्बिर खिच्न पनि जोसुकैको अगाडि तयार हुँदैनन् ।
बाबुआमा वितेपछि चार दशकअघि रिट्ठे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा बसेरीबाट बतासे बसाइ सरेका हुन् । उनका बाबुआमा पनि शारीरिक रुपमा अपांग नै थिए । उनको नाममा जग्गा जमिन केही छैन । त्यही भएर हाल उनी मेघराज बिकको बारीको गर्हामा टहरा बनाएर बसिरहेका छन् । उनी कुखुरो पाल्छन् । आफ्नो घर मर्मत गर्न वा छाउन सघाउने छिमेकीलाई त्यही कुखुरो दिएर पठाउँछन् । उनको घरमा पुग्ने जो कोहीलाई केही न केही नखुवाइ हिँड्न दिँदैनन् ।
मिस्त्रीको टुक्रा किन नहोस्, नरिवलको एक टुक्रा किन नहोस्, सुक्मेलको दाना किन नहोस्, कुखुराको अण्डा किन नहोस् मुख जुठो नपारी पठाउने उनको बानी छैन । ‘घरमा केही छैन तर सित्तैमा केही लिन मान्दैन । यो रिट्ठेको महानता हो । उहाँजस्ता दिल भएका मान्छे कमै भेटिन्छन्,’ जिसस सदस्य बिश्वकर्माले भने, ‘यो जन्ममा यस्तो छु, सित्तैमा लिएँ भने अर्को जन्ममा झन् कस्तो जन्मन्छु भन्नुहुन्छ । उहाँले नेपाल सरकारले दिएको भत्ता बाहेक अन्य सुविधा लिन मान्नु भएको छैन ।’
प्रकाशित: ७ असार २०७८ ०५:०९ सोमबार