९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

संक्रमितलाई निःशुल्क एम्बुलेन्स र परामर्श सेवा

ओम समाज डेन्टल अस्पतालको पहलमा कोभिडविरुद्ध लड्न निःशुल्क एम्बुलेन्स सेवा, प्राथमिक उपचार र परामर्श सेवा अभियान सञ्चालन गरिएको छ। 

अभियानले गरिब, असहाय र विपन्न वर्गका बिरामीलाई निःशुल्क एम्बुलेन्स, अक्सिजन, बेड र खानालगायतका सेवा उपलब्ध गराउँदै आएको छ। यो सेवा देशभरि विस्तार गर्न गृहकार्य भइरहेको बताइएको छ। यसअन्तर्गत पोखरामा सेवा विस्तार भइसकेको छ। यसै साता रामेछाप, सोलुखुम्बु, ओखलढुंगा तथा आसपासका जिल्लामा यो सेवा विस्तार गरिने अभियानका तर्फबाट अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, अस्पातालका डा. सुभाष घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, क्याप्टेन विजय लामा, शिक्षाविद् कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, कलाकार निखिल उप्रेती, केदार घिमिरे, विराज समाज (दिनेशकुमार मगर), रामहरी शर्मा, देवेन्द्र प्रधानलगायतका समाजसेवी, राष्ट्रसेवक, कलाकार, चिकित्सकको सहयोगमा कोभिविरुद्ध निःशुल्क सेवा अभियान थालनी गरिएको हो। हाम्रो जस्तो देशमा कोरोना महामारीविरुद्ध लड्न सरकारले मात्र सक्दैन, नागरिक तहबाट पनि पहल हुनुपर्छ भन्ने सोचका साथ यो अभियान सञ्चालन गरिएको हो।

अहिलेसम्म काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिरामीले अभियानबाट उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवा लिइसकेका छन्। यसैगरी अभियानको पहलमा उपत्यकामा करिब चार हजार कोभिड बिरामीलाई निःशुल्क परामर्श सेवा प्रदान गरिएको छ। विज्ञप्तिअनुसार पोखरामा हालै सेवा विस्तार गरिएपछि करिब चार सय जनालाई निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा र ६ सयजनाजतिलाई निःशुल्क परामर्श सेवा प्रदान गरिएको छ। यसका लागि पोखरामा हेल्प डेस्क स्थापना गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App