१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

भोकमरीको चपेटामा चेपाङ समुदायः खाने अन्न छैन, कन्दमुल सकियो, भोकै सुत्नुपर्छ

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ जिरवाङका सोममाया चेपाङ र उनका बालबच्चाहरु टाँकीको साग र ढिडो खाँदै । तस्बिर : सरिता/नागरिक

जंगलको छेउमा ढुङगा र माटोले बनाइएको दुई कोठाको घर छ । घरका साना साना कोठाहरु रित्तो छ । बिहानको साढे ११ बज्दा (शुक्रबार) दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ जिरवाङकी ७३ वर्षीया ठूलीमाया चेपाङ अगेनामा आगो फुक्दै थिइन् । खानेकुरा छैन, भोको पेटमा ठूला दाउराको मुडालाई जबरजस्ती ढुङग्रो (आगो फुक्ने चिज) ले फुकिरहेकी थिइन् । गरिबी र खाद्य संकटले वर्षैनी यस्तै समस्या भोग्दै आइरहेकी छिन् । ‘पोहोर तिर बैशाखसम्म खान पुगेको थियो यसपाली माघदेखि नै पेट अघाएको छैन’, उनले भनिन्, ‘हिजो बेलुका (बिहीबार बेलुका) कुखुरालाई भनेर राखेको आहारा खोले बनाएर खाए, भोलि के खाने, धुवाँ खान सक्दिन, ढुङगा चपाउन सक्दिन, खोज्न जान सक्दिन भोकै सुत्नुपर्छ ।’

चार छोराहरु आफ्नो सुर गरेर बसेका छन् । छोराबुहारीले कहिले काहि पकाएर ल्याइदिन्थे अहिले उनैलाई खानेुकरा छैन । सँगै बस्ने नाती पनि कमाउन शहर हिँडेदेखि, खानेकुरा पनि टुट्यो । एक्लै रहेकी ठूलीमाया अब कसैले खानेकरा ल्याइदिन्छन् कि भन्ने आशै आशमा छिन् । बारीमा लगाएको मकै पनि किराले सखाप बनाएको छ । हाम्रो टोलीले दिएको दुई कोसा केरा र चाउचाउ समाउदै उनले भनिन्, ‘भोकमा अब यहि खाने हो, आज त बाँचियो भोलिलाई छैन ।’ 

बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ जिरवाङकी ठूलीमाया चेपाङ ।

 दक्षिणी धादिङको चेपाङ बस्तीहरुमा अनिकाल सुरु भएको छ । खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना पुर्‍याउँछन् । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् । चेपाङ समुदायका अधिकांश परिवारमा छाक टार्न मुस्किल छ । अन्नपात सकिएपछि जंगलबाट खोजेर ल्याएको गिठ्ठा (कन्दमुल) पनि सकेपछि छिमेकीको भर पर्दै आइरहेकी जिरवाङकी ३४ वर्षीया सोममाया चेपाङ पनि अभावै अभावमा दिन बिताइरहेकी छन् ।  

बारीमा लगाएको मकैले भदौ महिनादेखि पुस महिनासम्म टर्‍यो । त्यसपछि जंगलबाट ल्याएको गिठ्ठाले वैशाख अन्तिमसम्म चुल्हो बल्यो त्यो पनि सकिएपछि छिमेकीको भर पर्दै बसेकी सोममायाको भान्छामा अहिले टाँकीको साग पाक्ने गरेको छ । ‘घरमा खानेकुरा सकिएपछि छिमेकीले ल्याइदिएको टाँकीको साग र कोदो, मकैको पिठोको ढिडोले छाक टारेका थियौँ त्यो पनि सकियो,’ उनले भनिन्, ‘पाँच दिनमा ढिडो खान पाएका थियौँ, अब टाँकीको सागले नै भान्छा टर्छ ।’  

सोममायालाई आफ्ना बालबच्चाहरुले खाना मागेर रुने गर्छ तर दिने अन्न छैन । श्रीमान सन्तलाल चेपाङसहित चार छोरी, दुई छोरासहित आठ जनाको परिवारको भान्छा मुस्किलले टरेको छ । बारीमा लगाएको अन्नले वर्षदिनभरी खान नपुगेपछि हरेक वर्ष चेपाङ समुदायमा अनिकाल लाग्ने गरेको छ । उनका लागि यो वर्षको अनिकाल नै पहिलो भने होइन । वर्षौँदेखि यही समस्यासँग जुध्दै आउन बाध्य छन् । अनिकाल सुरू भइसकेकोले उनलाई घर चलाउन हम्मेहम्मे परेको छ ।  

 हावाहुरी, असिना पानीले मकैबाली नाश गरेपछि यसपाली अनिकाल लागेको चेपाङहरु बताउँछन् । यो वर्षपनि घोगा लाग्ने बेला भएको मकैमा किरा लागेर सखाप बनाइदिएको छ । अर्को वर्षपनि यस्तै अवस्था व्यहोर्नुपर्ने सोममायाले बताइन् । ‘बारीको मकैले मुस्किलले ५ महिना टर्छ, त्यहिपनि यो वर्ष किराले खाएर सखाब बनाएको छ, खाने अन्न नै छैन,’ उनले भनिन्, ‘गाउँमा अ‍ैचोपैचो चल्थ्यो तर गाउँ नै भोकमरीको चपेटामा छ आफैलाई खाने अन्न छैन, कसले दियोस् ।’

सोममायालाई परिवार चलाउन मुस्किल परेको छ । गरिबी, अशिक्षा, जनचेतनाको कमी लगायतका कारणबाट धेरै सन्तान जन्माउने हुँदा झनै समस्या थपिएको छ । वर्षभरी खोरिया खोस्रेर हाडछाला घोटे पनि परिश्रम अनुसारको फल नपाउँदा यो परिवार वर्षमा छ महिना अनिकाल सहन बाध्य हुने गरेको छ । परिवारको पेट पाल्नको लागि पनि फूर्सद हुनासाथ गिठ्ठा भ्याकुर खोज्नको लागि जंगल पस्छन् तर यो वर्ष त्यो पनि सकिदै गएको छ । उनीसँग अहिले टाँकीको साग बाहेक अन्य विकल्प छैन ।  

छाक टार्न गिठ्ठा खुर्कदै चेपाङ । 

ठूलीमाया र सोममाया जस्तै यस भेगका चेपाङको यो सामूहिक समस्या हो । महाभारत पहाड क्षेत्रमा बसोबास गर्ने अधिकांश चेपाङ समुदायका घरमा यतिबेला खाद्यान्न संकट देखिएको छ । धादिङको दक्षिणी क्षेत्रको महाभारत पहाड क्षेत्रमा रहेका चेपाङ गाउँमा भोकमरीको सिजन सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण देशभर नै निषेधाज्ञा छ । दैनिक ज्यालादारीमा काम गर्न सक्नेले पनि काम गर्न पाएका छैनन् । आफ्नो पाखो बारीमा भएको उब्जनी पनि सकिएको र काम गर्न पनि नपाएकाले भोकभोकै पर्न थालेका छन् ।  

श्रीमान बितेपछि कष्टकर जीवन बिताउँदै आइरहेकी आँपडाडाकी सुकमाया चेपाङको व्यथा पनि उस्तै छ । दिनभर जंगल चहारेर ल्याएको कन्दमुलले प्राण धानिरहेको उनीको एक हप्ता भयो चुल्हो बलेको छैन । खाने अन्न नभएपछि टाँकीको सागले जसोतसो छाक टारिरहेकी छन्  । रोग र भोकको चपेटामा परेका उनी हरेक वर्ष अनिकालको सिजन आएपछि रातभर निदाउन पनि सक्दिनन् । घरमा एक गेडो अन्न पनि नहुँदा उनको परिवार अहिले भोकमरीको चपेटामा छ ।  

बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को रोतेस, भुमीडाडा, बोम्राङ, मान्बुङ, वडा नं ८ को दुङवाङ, यारबाङ, गोठेभन्ज्याङ, जिरवाङ लगायतका ठाउँहरुमा अहिले भोकमरी चलेको छ । यहाँका चेपाङका धेरैथोरै पाखोबारी सबैको छ तर भदौताका भित्रिएको मकै र दशैपछि भित्र्याएको कोदो पनि सकिसकेको छ । पाखोबारीमा भएको उब्जनीले ६ महिनापनि खान पुग्दैन । बाँकी छ महिना ज्याला मजदुरी गरी किनेर खाने चेपाङमा निषेधाज्ञाका कारण बजार क्षेत्रमा काम गर्न जान नपाउँदा भोकै पो मरिने हो कि भन्ने चिन्ता थपिएको छ ।  

माघ महिनादेखि असारसम्म अधिकांश चेपाङ गाउँ बस्तीमा अनिकाल लाग्छ । यो बीचमा काम गर्नसक्नेहरु दैनिक ज्यालामजदुरी गरेर जसोतसो आफ्नो प्राण धानिरहेका हुन्छन् तर यस वर्ष खाद्यान्न संकटकै बेला कोरोना महामारीले बन्द हुँदा विपन्न चेपाङहरुमा समस्या परेको छ । वडा नं ८ मा ३ सय ५० चेपाङ घरधुरी छ सबैको यस्तै समस्या छ, खानकै लागि संघर्ष गरिरहेका छन् । अधिकांश चेपाङहरुको लागि चामलको भात त धेरै परको कुरा दुई छाक खोले फाँडो, ढिंडोे खान पनि मुस्किल परेको छ ।  

गत वर्ष कोरोना महामारीको संक्रमण रोक्न गरिएको बन्दाबन्दीले रासायनिक मल अभाव हुँदा चेपाङहरुले मकैमा मल हाल्न पाएनन् । मल नहालेका कारण पनि मकै उत्पादन कम भयो । यस वर्षपनि किराले मकै सखाप बनाएपछि भोकमरीको अवस्था सिर्जना भएको नेपाल चेपाङ संघ धादिङका अध्यक्ष तथा खाद्य अधिकार जिल्ला सञ्जाल धादिङका सदस्य भीमबहादुर चेपाङले बताए । ‘आफ्नो उब्जनीले नपुग्ने र अहिले कोरोना महामारीले मजदुरी गर्न नपाएपछि यस भेगका चेपाङ समूदायमा छाक टार्न मुस्किल परेको छ’, उनले भने, ‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान लट्टेको साग, सिस्नोका साथै गिठ्ठा, भ्याकुर लगायत कन्दमुलको भरमा चेपाङहरुले सास अड्याइरहेका छन् ।’

यतिवेला चेपाङवस्तीमा खानेकुराको अभाव भएको छ । महाभारत लेकमा रहेका चेपाङ बस्तीका मानिसहरु खाने चीजको खोजी गर्न जंगल धाउने गरेका छन् तर जंगलमा समेत कन्दमुल सकिएपछि संकटमा परेको बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष बीरबहादुर श्रेष्ठले बताए । ‘चेपाङबस्तीमा अहिले भोकमरी चलेको छ, गिठ्ठा, टाँकीको सागले छाक टारिरहेका छन्,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘मेरो वडामा लगभग तीन सय ५० चेपाङ परिवार छन्, अधिकांश चेपाङ परिवारलाई चैत्रदेखि साउनसम्म हातमुख जोड्न समस्या हुन्छ, राहतका लागि गाउँपालिकासँग समन्वय भइरहेको छ ।’ 

प्रकाशित: २२ जेष्ठ २०७८ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App