४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उपचार गर्न नआएको निहुँमा स्वास्थ्यकर्मीमाथि कुटपिट

कोभिड–१९ (कोरोना भाइरस) संक्रमित श्रीमतीको उपचारमा लापरबाही भएको भन्दै हुम्लामा एकजना शिक्षकले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । चंलेखी गाउँपालिका–४, का अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई कुटपिट गरेका हुन् ।

रोकायाले अश्लिल शब्दले गालीगलौज गर्दै अन्य सामग्रीसमेत तोडफोड गरेको स्वास्थ्य संयोजकसमेत रहेका बुढाले बताए । ‘मलगायत अन्य कर्मचारीले बिहान कार्यालयमा डाटा इन्ट्री गर्दै थियौं,’ उनले भने, ‘रोकाया एक्कासी आएर तथानाम गाली गर्दै म माथि हातपात गरे ।’ ‘कोरोना संक्रमण भएपछि मैले आइसोलेसनमा बस्न भनेको थिए,’ उनी भन्छन्, ‘घर नजिकै भएको र अवस्था सामान्य भएकाले उनीहरु आइसोलेसनमा बस्न मानेनन् ।’ 

१८ गते कोरोना संक्रमण भएकी ती महिला होम आइसोलेसनमा बस्दै आएकी थिइन् । गाउँपालिकाबाट पर्याप्त औषधि र अन्य स्वास्थ्य सुरक्षाका सामग्री दिएको भन्दै उनी भन्छन्, ‘उनको श्रीमतीको अवस्था आत्तिनु पर्ने थिएन र छैन ।’ बिहीबार राति ज्वरो देखिएपछि रोकाया आबेगमा आएर आफूमाथि हातपात गरेको बुढाको भनाइ छ । हातपात गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न स्वास्थ्य संयोजक बुढाले गाउँपालिकामा निवेदनसमेत पेस गरेका छन् । 

कोरोना संक्रमित श्रीमतीको उपचारमा लापरबाही गरेको भन्दै रोकायाले स्वास्थ्यकर्मीमाथि हातपात गरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘श्रीमतीको उपचारमा ख्याल नगरेको भन्दै शिक्षिकले दुर्व्यवहार गर्नुभयो’, सिंहले भने, ‘पाँच लिटरको सेनिटाइजर टाउकोमा खन्याएर आगो लगाउने प्रयास गरिएको थियो । स्थानीयहरू आएर बचाएछन् ।’ शिक्षक रोकायालेले कम्प्यूटरसमेत तोडफोड गरेका छन् । श्रीमतीलाई एयरलिफ्टिङ गरेर सुविधा सम्पन्न ठाउँमा उपचार गर्न लिन उनले स्वास्थ्यकर्मीहरुलाई दबाब दिँदै आएका थिए । स्वास्थ्यकर्मीहरुका अनुसार कोरोना संक्रमित ती महिलाको अक्सिजन लेबल सामान्य थियो । जटिल अवस्था नभएकाले कोरोना संक्रमित उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।

यस्तो महामारीका बेला शिक्षित व्यक्तिले स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनु पर्नेमा उल्टै हातपात गर्नु निन्दनीय भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहको भनाइ छ । ‘यस्तो अभद्र व्यवहारले स्वास्थ्यकर्मी असुरक्षित हुन्छन्,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मीलाई डर, त्रास होइन सुरक्षित सेवा गर्न दिनुपर्छ ।’ रोकाया गौरीशंकर प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् ।

प्रकाशित: २१ जेष्ठ २०७८ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App