११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रः कतै खुसी, कतै दुःख

भक्तपुरको चाँगुनारायण नगरपालिकामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बन्ने खवरसँगै बागेश्वरीका स्थानीय निराश भएका छन्। केही समयअघि नगरपालिकाको वडा नं. ७ बागेश्वरीमा बन्ने भनिएको सो केन्द्र झौखेलमा बन्ने निश्चित भएपछि झौखेलबासी खुसी र बागेश्वरीबासी दुखी भएका हुन्।  

सो अस्पताल साविक झौखेल गाविसको वडा नं. ३ को कित्ता नं.१ को  ६ रोपनी १ आना २ पैसा र कित्ता नं. ११३ को २५ रोपनी ५ आना २ पैसाको क्षेत्रफलको जग्गा ३० वर्षको लागि केन्द्रलाई भाडामा दिने मन्त्रिपरिषद्ले जेठ १३ गते गरेको थियो। उक्त निर्णयपछि चाँगुनारायण नगरपालिकाका वडा नं.१, २, ३ र ४ का वडाबासी खुसी भएका छन् भने त्यसबाहेकका वडाबासीहरुले त्यो निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

हाल भक्तपुर नगरपालिकाको दूधपाटीमा रहेको केन्द्र झौखेलमा बन्ने निश्चित भएसँगै बागेश्वरीका स्थानीयले आफूहरुलाई झुटो आश्वासन दिएर झुक्याएको बताउँदै नगरपालिकाप्रति असन्तुष्टि जनाएका हुन्। ‘२०७५ सालको साउन ४ गते मेयरसाबकै उपस्थितिमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको उपस्थितिमा बागेश्वरीमा विस्तार गर्ने निर्णय भएको थियो, त्यो निर्णयको मतलब नगरी झौखेलमा बन्ने सुन्दा हामीप्रति अन्याय भएको महशुस गरेका छौं।’ बागेश्वरीका स्थानीय नारायण नायजुले  भने। उनले सो समयमा बागेश्वरीमा भएको ७० रोपनी पर्ती जग्गा केन्द्रलाई भोगाधिकार दिने समेत निर्णय भएको बताउँदै सो काममा नगरपालिकाबाट अन्याय भएको बताए।

सो स्थानमा केन्द्र विस्तार हुने भएपछि बागेश्वरीका स्थानीय खुसी भएको बताउँदै उनले राजनीतिक खिचातानी र पहुँचको आधारमा केन्द्र झौखेल बन्न लागेको जनाउँदै सो निर्णयमा स्थानीय दुखी रहेको जनाए। ‘बागेश्वरीबाट अन्यत्र सर्ने निश्चितप्रायः भएपछि स्थानीयले आन्दोलन समेत गरेका थिए, तर त्यो आन्दोलनको पनि अर्थ अहिले देखिएन।’ उनले भने।

यही कारण अहिले स्थानीयले सामािजक सञ्जालमार्फत् विभिन्न असन्तुष्टिहरु समेत जनाउनका थालेका छन्। ‘चाँगुनारायणको १, २, ३ र ४ लाई केन्द्रमा राखी वीर अस्पताल बन्ने कुरा भइसकेको छ। हाल दुवाकोटमा काठमाडौं मेडिकल कलेज, सोही स्थानको केही दूरीमा वीर अस्पताल र ४ नम्बरमा नगर अस्पताल छ, त्यही किन अर्को अस्पताल चाहियो, के त्यो अस्पताललाई भक्तपुरको पूर्वी भेगमा राख्न सकिन्न?’ ताथलीका विक्रम थापाले प्रश्न गरेका छन्।

सरकारको निर्णयसँगै असन्तुष्ट बागेश्वरीबासीले सो स्थानलाई ओझेलमा पारेको जनाएका छन् भने यसरी आएका असन्तुष्टिलाई चाँगुनारायण नपाका मेयर सोम मिश्रले पनि सञ्जालमार्फतै जवाफ दिएका छन्, ‘यस सम्बन्धमा आएका सुझाव ,टिप्पणी र गुनासोहरुलाई हादिकतापूर्वक ग्रहण गरिन्छ। यो चाँगुनारायण–३ को मात्र नभएर सिंगोे भक्तपुरबासीकै लागि गौरवको कुरा हो। किनकि हामी सबैको बुद्धिमतापुर्ण पहल नभएको भए यो पोखरा, चितवन वा जनकपुर कतै जान सक्थ्यो। धन्न सबैको पहलमा भक्तपुरमा आएको छ।’

प्रकाशित: २० जेष्ठ २०७८ १०:१५ बिहीबार

चाँगुनारायण नगरपालिका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र