१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यसरी जितियो कोरोना !

कोरोना संक्रमण जितेका चइन्द्र राई, देबीप्रसाद रिजाल र प्रकाश नाछिरिङ । तस्बिरः नागरिक

जताततै कोभिड–१९ को संक्रमण पुष्टि भएको खबर प्रवाह भइरहेको थियो । जनप्रतिनिधिका नाताले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई आफ्नो वडावासीलाई संक्रमणबाट ‘बच्ने र बचाउने’ विधिका बारेमा सचेत गराउँदै खटिइरहेका थिए । सकेसम्म आफ्नो ‘वडावासीलाई संक्रमणले छुन नसकुन्’ भन्ने उनको धेय थियो । तर, महामारीका अगाडि कसैको केही चलेन । भटाभट आफ्नै वडावासीलाई संक्रमण देखिन थाल्यो । महामारीका रुपमा फैलिरहेको संक्रमणबाट सावधानी अपनाउँदा अपनाउँदै वडाध्यक्ष राई पनि अछुतो रहन सकेनन् । अरुलाई ‘बचौं र बचाऔं’ भन्दाभन्दै आफै असुरक्षित बन्न पुगे ।  

स्वास्थ्यमा सामान्य कोभिड–१९ सँग मिल्दो जुल्दो समस्या देखिएपछि परीक्षण गर्दा वैशाख २६ गते वडाध्यक्ष राईलाई पनि संक्रमण पुष्टि भयो । बालबच्चालाई अलग्गै बस्न बेँसीको घर गोठमा राखे । संक्रमण पुष्टि भएपछि उनी भने स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रहेर होमआइसोलेसनमा बसे । स्वास्थ्यकर्मीले सिफासिस गरेको औषधि र घरेलु उपचार विधि अपनाएर वडाध्यक्ष राई दुई हप्तापछि संक्रमण मुक्त बनेका छन् । पिसिआर परीक्षण गर्दा जेठ ११ गते बेलुका नेगेटिभ रिपोर्ट आएको वडाध्यक्ष राईले बताए ।  

कोभिड संक्रमण भएपछि स्वभाविकरुपमा जो कोही आत्तिन सक्छन् । मानसिक रुपमा त्रास मान्न सक्छन् । तर, वडाध्यक्ष राईले उच्च मनोवलका साथ कोरोनासँग जुध्ने हिम्मत गरे । ‘म संक्रमित छु वा बिरामी छु’ भनेर कहिल्यै सोचेनन् । ठचक्क हुनेगरी नशा दुख्थ्यो । बोराभित्र हालेर कुटेझैं गरी शरीर दुख्थ्यो । उस्तैगरी नाक थुनिन्थ्यो । खानामा अरुची हुन्थ्यो । तर, उनले सँधैझैँ घाँसदाउरा मेलापातको काम गरिरहे । शरीरबाट पसिना छुट्नेगरी काम गर्ने अनि नुहाउने गरे । होमआइसोलेसनमा बसेकोबेला सबैभन्दा बढी तातो पानी पिएको वडाध्यक्ष राई बताउँछन् । बिहान र बेलुका बेसार मिसिएको तातो पानी पिए । अन्यबेला भने पटक–पटक अधिक मात्रामा तातो पानी मात्र पिए । तातो पानी पिउन मन नलागे चिनी, मिस्त्री वा नुन हालेर लिए । कोदोको पिउन मिल्ने खोले, गहतको टर्रो झोल, गेडागुडीको झोल बनाएर खाए । ‘म बिरामी छु भन्ने त सोचिन । बरु तातो पानीचैं अधिक पिइयो । बिहान र बेलुका बेसार हालेको पानी लिएँ । खाना नरुचेको बेला खानाको सट्टा चिनी, मिस्त्री र नुन हालेको पानी पिएँ,’ वडाध्यक्ष राईले भने, ‘गहतको टर्रो झोल, कोदोको खोले र गेडागुडीको झोल बनाएर पनि खाएँ । पसिना आउनेगरी काम गरिरहेँ । पसिना छुटेपछि नुहाएँ ।’  

संक्रमण पुष्टि भएपछि वडाध्यक्ष राईले जति समस्या भएपनि दैनिक २० देखि २५ मिनेट मर्निङ वाक गरे । गन्ध थाहा नपाउनेगरी थुनिएको नाकबाट मात्र श्वास फेर्ने आलमबिलोम गरे । थुनिएको नाक खोल्न तातो पानी हालेर दैनिक सफा गरेको वडाध्यक्ष राई बताउँछन् । कोभिडको संक्रमणसँग जुध्नेक्रममा फोनमार्फत अन्य संक्रमितलाई आफूले अपनाइरहेको स्वास्थ्य सुरक्षा विधिका बारेमा जानकारी दिए । कतिपय आफूलाई काम लाग्ने उपचार विधि फोनबाटै अरुबाट लेनलेन गरे । आफ्नो अनुभव सुनेपछि गाउँकै अर्का संक्रमित दाउरा काट्न जंगल गएको, पसिना आएपछि नुहाएको र शरीरमा स्फुर्ति आएको सुनाएको वडाध्यक्ष राईले बताउँछन् ।  

हाल दैनिकजसो कोभिड–१९ को संक्रमित देखा परिरहेका छन् । सँगै कोभिड–१९ लाई परास्त गर्दै संक्रमणमुक्त बन्नेको संख्या पनि कम छैन । संक्रमण भएपछिका तिता भोगाई र मुक्त बन्नेक्रममा अपनाइएका सुरक्षा विधि र अनुभव व्यक्तिपिच्छे फरक–फरक खालका छन् । संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बस्दा ‘जाने र सुने जति’ जडिबुटी र घरेलु उपचार अपनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका देबीप्रसाद रिजालले बताउँछन् । दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजालले बेसार हालेको तातो पानी नियमित पिउनेदेखि कुरिलोको जरा, बोझो, गुर्जो, तुलसी, हडचुर, कुट्की, चाबो लगायतका जडिबुटीको झोल बनाएर तातो पानीसँग पिए । कतिपय कोदोको खोलेमा मिसाएर पनि खाए । ‘तातो पानी नियमित सेवन गरेँ । जडिबुटी कुटेर त्यसको झोल तातो पानीमा वा खोलेमा मिसाएर खाएँ । कतिपय अवस्थामा त्यत्तिकै मुखमा हालेर चपाएर रस लिएँ,’ रिजालले भने, ‘मैले जाने र सुनेसम्मका जडिबुटी गरेँ । डाक्टरको परामर्शमा खोकी र ज्वरोको औषधि पनि सेवन गरेँ । नभन्दै नेगेटिभ रिपोर्ट आयो, बाँचियो भनौं न ।’ गत वैशाख २६ गते संक्रमण पुष्टि भएका रिजालको जेठ ११ गतेको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । रिजाललाई घरी ह्यात्तै आउने घरी ह्वात्तै घट्ने ज्वरो अधिक देखिएको थियो ।  

एक दिनअघि अस्पताल पुग्दा बाँचे  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युवा प्रकाश नाछिरिङको स्वास्थ्य अवस्था सामान्य थियो । नुनथलामा एन्टीजेन परीक्षण भइरहँदा प्रकाश त्यही वरिपरी थिए । तर, जव उनको स्वास्थ्यमा समस्या निम्तियो र श्वास प्रवासमा गार्‍हो देखियो । उनी तत्काल उपचारका लागि काठ्माण्डौं गए । ‘अस्पताल जानुभन्दा दुई दिनअघि मलाई पनि गाउँमै देख्नु भएको थियो होला । मलाई पनि म बिरामी छु जस्तो अनुभव भएकै थिएन । मलाई निमोनिया भएको र फोक्सोमा पानी जमेको कुरा थाहा नै थिएन । जब मलाई स्वास प्रश्वासमा गार्‍हो भयो र समयमै अस्पताल पुगेकाले राम्रो भयो,’ कोभिड जितेका प्रकाशले फेसबुकमा लेखेका छन्, ‘म एक दिन मात्र ढिलो अस्पताल पुगेको भए निकै गार्‍हो हुन्थ्यो भनेर डाक्टरले बताउनु भयो । म सँगै भर्ना भएका चार जना बिरामीले म अस्पतालमा हुँदाहुँदै ज्यान गुमाउनु भयो । त्यसैले आत्मोबल बढाऔं, पोषिलो खानेकुरा खाऔँ, कोरानालाई पराजित गराऔ ।’  

प्रकाशले कोरोना संक्रमण भइहालेको अवस्थामा बच्न अपनाउनुपर्ने ७ बुँढे अनुभवलाई सुझावका रुपमा सामाजिक सञ्जालमा राखेका छन् । उनले हल्का ज्वरो आए जस्तो मात्र हुने, पखाला लाग्ने, सुक्खा खोकी लाग्ने समस्या देखिए तत्काल अस्पताल जान भनेका छन् । ‘यो समयमा पटक्कै खान मन लाग्दैन । खान मन नलागे पनि बलजफ्ती जति सक्दो झोलिलो र पोषिलो खानेकुरा खानु पर्छ । यो बेला भिटामिन सि को एकदमै आवश्यकता पर्छ । सम्भव भएसम्म दिनमा तीन/चार वटा कागती खानु होला,’ उनी भन्छन्, ‘दुध, अण्डा, चना, मिक्स गेडागुडीको झोल, बेसार पानी र पोषिलो खानेकुरा खानु होला ।’  

उनले दिनमा कम्तीमा तीन लिटर तातो पानी पिउन, अक्सिजन मापन गर्ने मेसिन साथमा राख्न, डाक्टरको परामर्शमा आवश्यक औषधि सेवन गर्न सुझाव राखेका छन् ।

प्रकाशित: १७ जेष्ठ २०७८ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App