२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोभिडविरुद्धको संयुक्त संघर्षमा जुट्दै भक्तपुरका संस्था तथा व्यवसायी

कोभिड महामारीबाट जोगिन भक्तपुरमा व्यावसायिक र सामाजिक संघसंस्थाहरुले सक्रियता बढाएका छन्। भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा विभिन्न ११ वटा संस्थाहरुले संयुक्त रुपमा कोभिड–१९ विरुद्ध अभियान नै चलाएका छन्।

‘सेवा परमो धर्म अभियान अन्तर्गत कोभिडसँग लड्छौं, हामी सेवा दिन्छौं, नारा दिएर कोभिडविरुद्धको संघर्षमा छौं,’ नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य (भौतिक पूर्वाधार सभापति) तथा भक्तपुर लायन्स सेवा समन्वय समितिका सेक्रेटरी रोशन भोयद्योले बताए। विश्वभर फैलिएको कोभिडलाई परास्त गर्ने अभियानमा जोडिन उनले सर्वसाधारणमा अपिलसमेत गरे।

कोभिड संक्रमितहरुको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाहरुको लागि जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सन्चालनमा आउने भोयद्योले जनाए। त्यस्तै जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउने तयारी भइरहेको उनले जनाए।  

अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड– १९ आइसोलेसन सेन्टरका लागि नेपाल इन्जिनियरिंग कलेज (नेक) सँग सहकार्य गरेको छ। संक्रमण नियन्त्रणको सवालमा आइसोलेसन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका संस्थापक अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए। परमो धर्म अभियानले जेठको पहिलो हप्तादेखि भक्तपुरमा कोभिड बिरामीको लागि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उनले जनाए। त्यसको लागि हटलाइन नं. ९८६१७५६४६१ सार्वजनिक गरिएको छ।  

त्यस्तै, भक्तपुर जिल्ला प्याव्सनका वरिष्ठ उपाध्यक्ष तथा चेम्बरका सचिव सुरेन्द्र श्रेष्ठले मनोचिकित्सक डा. कन्चन दाहाल र वरिष्ठ कार्डियोलोजिष्ट डा. सञ्जय श्रेष्ठसँग भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाए। सचेतना तथा परामर्श कार्यक्रम नियमित रुपमा प्रत्येक साता दुईवटा आयोजना गरिने उनले बताए। सो कार्यक्रममार्फत संक्रमण सम्बन्धिको सचेतना, सतर्कता र अपनाउनुपर्ने सुरक्षाको विषयमा जानकारी लिनसकिने उनले जनाए। चिकित्सकसँग परामर्श लिनको लागि बिहान ७ देखि ९ बजेसम्म सम्पर्क गर्न सकिने गरी ९७४२८८२९६२, ९७४२८८२९६३ र ९७४२८८२९६४ हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ।

भक्तपुर लायन्स सेवा समन्वय समिति, समितिमा आवद्ध क्लब तथा मनकारी व्यक्तिहरूले भक्तपुर नगरपालिकाले सुरू गर्ने अक्सिजन प्लान्टको लागि तीन लाख रूपैयाँ सहयोग गरेको समितिका संरक्षक तथा पूर्व डिष्ट्रिक्ट गभर्नर कृष्णप्रसाद अवालले जनाए। आगामी दिनमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको टिमबाट घरघरमै पुगेर पीसीआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध हुने लायन्स सेवा समन्वय समितिका अध्यक्ष विष्णुभक्त मारिखुंले बताए। 

सुरक्षित तबरले उपलब्धहुने ‘डोर टु डोर हेल्थ सर्भिस’ले भक्तपुरबासी लाभान्वित हुने मारिखुंले दाबी गरे। ‘म लगायतको १६ जना चिकित्सकीय टिम तयार छौं। थप केही संख्यामा स्वास्थ्य परिचारिकाहरु पनि सोही टिममा संलग्न हुनेछन् र प्रत्येक दिन दुईजना चिकित्सकबाट निःशुल्क परामर्श उपलब्ध गराउनको लागि सामाजिक सञ्जालमार्फत सम्पर्क नम्बर सार्वजनिक गर्दैछौं,’ भक्तपुर डक्टर्स सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले जनाए।  

कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेक छन्। 

त्यस्तै नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य हरिप्रसाद कोजु र लायन्स ३२५ ए २ का रिजन चियर पर्सन रंजित मारिखुं यस अभियानमा  सक्रिय सहभागी छन्।

प्रकाशित: १७ जेष्ठ २०७८ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App