६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

४५ मिनेट उत्पादन रोकिएर आपूर्ति अवरुद्ध हुँदा अक्सिजन अभावमा आठजना बिरामीको ज्यान गयो

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

हाइफ्लो अक्सिजन नपाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गतएराती आठजना बिरामीको ज्यान गएको छ। ती मध्ये एकजना सुत्केरी छिन्। प्रतिष्ठानको आइसोलसन कक्षमा ती सुत्केरीको उपचार भईरहेको थियो।

ज्यान गुमाउनेमा तनहुँका तीन, कास्कीका दुई, पर्वत, म्याग्दी र स्याङजाका एक–एक बिरामी रहेका छन्। अस्पतालका कोभिड फोकल पसर्न डा. शरदचन्द्र बरालका अनुसार सबैजना संक्रमित हुन् । तर, हाइफ्लो अक्सिजन अभावले उनीहरुले ज्यान गुमाएको बरालले बताए। ‘हाइफ्लो अक्सिजन दिन सकेको भए सबै बिरामीको ज्यान नजान पनि सक्थ्यो। केही त पक्कै बाच्थे, तर, सकेनौ,’ उनले भने।

बरालका अनुसार २५ वर्षिया सुत्केरीको केहीदिन अघि मात्र शल्यक्रिया भएको थियो। उनी बाहेक हिजो मात्र मिर्गौलाका डायलाइसिस गरेका एकजना बिरामीको पनि मृत्यु भएको छ। अर्का एकजना कलेजोका  बिरामी थिए । अर्का एकजना प्यारालाइसिस र अर्का डायबिटिजका बिरामी थिए। बरालका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र ६ जना महिला रहेका छन्। ८४ वर्ष उमेरसम्मका बिरामीको ज्यान गएको छ।  

डा. बरालका अनुसार केहीदिनदेखि अक्सिजनको आपूर्तिमा समस्या हुन थालेको थियो । विहीबार दिउँसो विद्युत आपुर्ति बन्द हुँदा २० मिनेट अक्सिजन उत्पादन गर्ने प्लान्ट बन्द भएको थियो । त्यसपछि  विद्युत सुचारु भएपनि पुन उत्पादन थाल्न थप करिब २५ मिनेट लाग्दा करिब ४५ मिनेटसम्म उत्पादनमा असर परेको थियो । ४५ मिनेट उत्पादन गर्न नपाउँदा बिरामीलाई बेलैमा अक्सिजन पुर्‍याउन नसकेको उनले बताए । उनका अनुसार क्षेत्रीय अस्पतालमा दिनमा ३५० सिलिन्डर अक्सिजन आपूर्ति हुँदै आएकोमा हिजो भने उत्पादनमा असर पर्दा २७५ सिलिन्डर मात्र आएको थियो ।  

‘पछिल्लो २–३ दिनको अक्सिजन उत्पादनमा दवाव छ । हाइफ्लो अक्सिजन चाहिने बिरामी पनि बढेका छन । हाइफ्लो अक्सिजन दिँदा प्रतिमिनेट ६० देखि८० लिटर खपत हुन्छ,’ उनले भने, ‘व्यवस्थापन गर्दागर्दै सकिएन ।’ पछिल्लो समय सबैतिरका अस्पतालमा कोरोनाका बिरामी राख्न थालेको र सिलिन्डरको माग अन्यत्र पनि हुँदा अभाव हुन थालेको छ । ‘सबैजसो अस्पतालले कोरोनाका बिरामी राख्न थालेका छन । सबैतिर अक्सिजन पठाउँदा प्लान्टलाई पनि दवाव छ,’ उनले भने ।  

गण्डकी प्रदेशकै सबैभन्दा ठुलो यो अस्पतालमा अहिले कोरोनाका धेरै बिरामीको उपचार भईरहेको छ। अहिले यो अस्पतालमा ७० जना बिरामीले उपचार गराईरहेका छन्। त्यसबाहेक इमर्जेन्सीमा पनि दिनमा ५ दखि १० जना बिरामी आउनेगरेका छन्। उनीहरु मध्ये अधिकांशलाई हाइफ्लो अक्सिजन आवश्यक पर्ने गरेको छ। अस्पतालमा अहिलेसम्म अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनु परेको थिएन। अहिलेसम्म अस्पतालले पाइपमार्फत बिरामीको शैयासम्म अक्सिजन पुर्‍याउने गरेको बताउँदै आएको थियो।  

अरुतिरका सहरमा अक्सिजन र सिलिन्डर अभावमा बिरामीले उपचार नपाउँदा पनि यो अस्पतालमा अहिलेसम्म अक्सिजन अभाव थिएन। पोखराकै स्थानीय प्लान्टबाट यो अस्पतालले अक्सिजन खरिद गरेर बिरामीको उपचारमा खर्चदै आएको छ। यो अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन। निजी कम्पनिको पोखरा अक्सिजनसँग आवश्यकता अनुसार अक्सिजन ल्याएर अहिले उपचार गरिरहेको छ। 

प्रकाशित: १४ जेष्ठ २०७८ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App