४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाको आडमा तटबन्ध पुर्ननिर्माणमा अनियमितता

कोसीको पश्चिम तटबन्धमा भैरहेको अनियमित काम। तस्बिर: मिथिलेश/नागरिक

कोरोनाको आडमा भारतीय ठेक्केदार पक्षले सप्तरीमा कोसीको पश्चिमी तटबन्ध र स्पर पुर्ननिर्माण काममा अनियमितता गरेको पाइएको छ। कोरोना संक्रमणका कारण नेपाली पक्ष अनुगमनका लागि निर्माणस्थलमा पुग्न नसक्दा भारतीय ठेकेदारहरूले नेपालतर्फ कोसीको पश्चिमी तटबन्धमा गुणस्तरहीन कामलाई तीव्रता दिइरहेका छन।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले भारतीय ठेकेदारले गुणस्तरहीन काम गरिरहेको जानकारी प्राप्त भएको र त्यसबारे सिँचाइ विभागका महानिर्देशकलाई समेत जानकारी गराइसकेको बताए। कोसी सम्झौता अनुसार तटबन्धको पुनर्निर्माण र मर्मत भारतीय कोसी योजनाको जिम्मेवारी हो।

कोसी ब्यारेजदेखि सप्तरीको रम्पुरा मल्हनियासम्म नेपालतर्फको १९ किलोमिटर पश्चिमी तटबन्ध र तटबन्धसँग जोडिएको स्पर मर्मत र पुर्ननिर्माणमा अहिले डेढ अर्ब नेपाली रुपैयाँ बराबरको काम भइरहेको छ। यस निर्माण कामका लागि घनश्यामलाल, जयप्रकाश कन्ट्र्याक्टर्स, श्रीहंत कन्ट्र्याक्टर्स, एम आर कन्ट्र्याक्टर्स, राजु सिंह, प्रकाश जैन, जयप्रकास साहलगायतका भारतीय निर्माण कम्पनी तथा ठेकेदारले जिम्मेवारी पाएका छन।

तटबन्ध र स्परलाई मजबुत बनाउनका लागि बोल्डर क्रेटिङ गर्नुपर्नेमा तल बोरामा बालुवा भरेर हालिएको छ। माथिबाट मात्र बोल्डर क्रेटिङ गरिएको छ। यस्तै तटबन्ध छेउबाट माटो काट्न नपाउने प्रावधानविपरीत ठेकेदार पक्षले तटबन्धको छेवैबाट मााटो काटेर बोरामा भरेर हालिरहेको स्थानीय बताउँछन। नेपाली पक्षको अनुगमनको अभावका कारण भारतीय ठेकेदारले अनियमितता बढाउँदै गएको स्थानीयको भनाई छ।

कोसीको पानीले पछिल्ला केही वर्षयता पश्चिमी तटबन्धमाथि दबाब बढाउँदा सप्तरीका बस्तीहरू जोखिममा परिरहेका छन। यस्तो अवस्थामा तटबन्ध छेउबाटै माटो कटान गर्दा थप दबाब बढ्ने स्थानीयको भनाइ छ। ‘कोसीमा ठेकेदारले गुणस्तरहीन काम गरिरहेको बारे स्थानीयको गुनासो आएको छ,’ सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलले नागरिकसँग भने, ‘प्राविधिक पक्ष जाँच गर्नका लागि मैले सिँचाई विभागका महानिर्देशकलाई जानकारी गराईसकेको छुँ। विभागले के गर्यो गरेन मलाई थाहा भएन।’ ‘मैले पनि आम नागरिकजस्तै हेर्ने हो उनले भने, ‘प्राविधिक कुरा त मलाई पनि थाहा हुँदैन। उनले थपे,‘ढुंगा हाल्नुपर्नेमा बालुवा हालेर माथिबाट मात्र ढुंगा हालेको विषयमा त प्राविधिकले तथ्य पत्ता लगाउन सक्छन नि। मैले विभागीय प्रमुखलाई त्यही भएर जानकारी गराएको हुँ।’ तर जाँच भयो भएनबारे मैले जानकारी पाएको छैन, उनले भने।’

भारतीय ठेकेदारहरूले केही जनप्रतिनिधि, राजनीतिकर्मी र अगुवालाई समेत प्रभावित पारेर अनियमितता गरिरहेको एक स्थानीयले बताए। बलिया जति सबैको मुख बन्द गरिदिएको छ उनले भने,‘अरुले मुख खोल्नै सक्दैनन्। आखिर यही समाजमा जो बस्नुपर्ने छ।’ उनले भने,‘कसैलाई काम दिएर त कसैलाई माल दिएर चुप लगाएको छ।’  रम्पुरा मल्हनियामा रहेको नेपालतर्फको कोसीको अन्तिम बिन्दुमा गतवर्ष खतरा रहे पनि त्यहाँ अझै पनि मर्मतको काम सुरु गरिएको छैन। ‘रम्पुरा मल्हनियाको त्यो बिन्दुमा ५० फिटभन्दा बढी खाली रहेको स्थानमा तत्काल बोल्डर क्रेटिङ हुनुपर्ने हो,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘तर, त्यहाँ काम भइरहेको छैन।’ उक्त स्थानमा तत्काल मर्मतको कार्य नभए यस वर्ष वर्षात्मा कोसी बस्तीतर्फ सोझिने खतरा छ।

सम्पर्क तथा भुआर्जन कार्यालय बिराटनगरका प्रमुख संतोष लिम्बूले कोसी मर्मतका लागि भारत सरकारले १ अर्ब ५४ करोड बिनियोजन गरेको बताए। कोसी नदीमा बर्सेनि आउने बाढीबाट सुनसरी र सप्तरीका दर्जानौ गाउँ डुब्छ। सैयौं मानिस विस्थापित हुनुपर्छ। कोसी बाँध पुर्ननिर्माण, मर्मतको नाममा भारत सरकारले बर्सेनि करौडौं रकम खर्चिरहेको छ। तर यसको स्थलगत उपयोगीता भने देखिदैन। कोसी नदीको बाढी धेरै मानिसका लागि वर्षेनी दशा बनेर आएपनि सरकारी अधिकारी, ठेक्केदार र सरकारका लागि दशैं बनेर आउँछ।

प्रकाशित: ११ जेष्ठ २०७८ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App