१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शंखेश्वर शिवालयको संरचना निर्माण

खोटाङको खोटेहाङ गाउँपालिकाले स्थानीय शंखेश्वर शिवालयलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न भौतिक संरचना निर्माणमा जोड दिएको छ।

खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको शिवालयलाई धार्मिक पर्यटीयस्थलका रुपमा विकास गर्नका लागि गाउँपालिकाले घेरावार, सिँढी निर्माण, रंगरोगन लगायतका काम गरेको हो। गत वर्ष ७ लाखमा शंखेश्वर शिवालयको गेटसहित घेरावार हालेको गाउँपालिकाले यस वर्ष मन्दिरसम्म पुग्ने रेलिङ सहितको सिँढी निर्माण, मन्दिरको जस्ता फेर्ने, गजुर राख्ने, झल्लर राख्ने, वायरिङ गर्ने, रंगरोगन गर्ने लगायतका काम गरेको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।  

शंखेश्वर शिवालय गाउँपालिकाकै सानो हलेसीका रुपमा चिनिने सोलढुंगापछि बढी मेला लाग्ने धार्मिक स्थलका रुपमा परिचित छ। रसुवाघाट–खोटाङबजार सडकभन्दा केहीमाथि रहेको शिवालयमा बैसाख पूर्णिमाको दिन र कात्तिक पूर्णिमाको रात भव्य मेला लाग्ने गरेको छ। विशेषगरी कात्तिक पूर्णिमाको रात विभिन्न ठाउँका जसमनी (साधुसन्त)ले मृत आत्माको शान्तिका लागि लिंगो गाडेर पूजाआजा, रुद्री, होमादी गर्ने, १०८ तथा लाख बत्ती बाल्ने गरेका छन्।

आसपासमा जंगलले ढाकेको र वरपरका दृश्यावलोकन गर्न सकिने शंखेश्वर शिवालयमा पर्यटन प्रवद्र्धनको सम्भावना प्रचुर रहेको स्थानीय रामकुमार कार्कीले बताए।  

थामखर्क विमानस्थलभन्दा केहीमाथि रहेको शिवालयमा सडकबाट दुई÷तीन मिनेटमै पुग्न सकिन्छ। स्थानीय पदमकुमार राईले विक्रम संवत १९९३ सालमा स्थापना गरेको शिवालय आसपासमा ढकमक्क गुराँस फुल्ने गरेको छ। गाउँपालिकाले इन्द्रेणीपोखरी, कालिका भगवती मन्दिर, टुँडिखेल, सेल्मेगुराँस पार्क, कपासे भञ्ज्याङ, साकेला थान, गुप्तेश्वर नाछिरिङ महादेवथान, लुछुम्बु झरना, लुखुराटार, सिकारी थुम्को, रोक्सिङ भञ्ज्याङ, पञ्चकन्यदेबी नराहा, भैरवीनाथ मन्दिर, गणेश मन्दिर, बाघे ढुंगा, रक्तमालादेवी लगायतका धार्मिक तथा पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धनको काम गरिरहेको अध्यक्ष राईले बताए।

प्रकाशित: ५ जेष्ठ २०७८ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App