६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाउँमाभन्दा सहरमा संक्रमित बढ्दै

कोभिड–१९ को संक्रमण सहरमाभन्दा गाउँमा कम देखिएको छ। कैलालीका स्थानीय तहको संक्रमण दरको तथ्यांक हेर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा कम देखिएको हो। बाक्लो बस्ती, आवतजावत बढी हुनु र दैनिक उपभोग्य सामानका लागि सहरी क्षेत्रका मानिस बजारमै निर्भर पर्ने भएकाले कोरोनाको संक्रमणदर गाउँभन्दा सहरमा बढेको हुनसक्ने आँकलन गरिएको छ।

कैलालीको स्थानीय तहगत तथ्यांक हेर्दा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा रहेको छ। उपमहानगरपालिकामा ४ हजार ५ सय १६ जनालाई कोरोना संक्रमण भएको थियो। जसमध्ये २ हजार १ सय ८६ जना उपचारपछि निको भएका छन् भने अहिले २ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन्। धनगढी सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रका साथै सुदूरपश्चिम प्रदेशकै राजधानी रहेको सहर हो। धनगढीसँगै जोडिएको गोदावरी नगरपालिका जिल्लामै दोस्रो बढी कोरोना संक्रमितको सहर रहेको छ।  

गोदावरी नगरपालिकामा १ हजार ३ सय १७ जनामा कोरोना संक्रमण भएको थियो भने ९ सय ५० जना उपचारपछि घर फर्केका छन्। गोदावरी नगरपालिकामा अहिले ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरूमध्ये केहीको अस्पतालमा उपचाररत छन् भने केही होम आइसोलेसनमै बसेका छन्। यस्तै तेस्रो नम्बरमा जिल्लाको पूर्वी क्षेत्र रहेको टीकापुर नगरपालिका रहेको छ। ५ सय ३९ जना कोरोना संक्रमित रहेको टीकापुर नगरपालिकामा ४ सय ९९ जना उपचारपछि निको भएका थिए। अहिले टीकापुर नगरपालिकामा ४० जना सक्रिय संक्रमित रहेका छन्। लम्कीचुहा नगरपलिकामा ५ सय २६ जना कोरोना संक्रमित भएका थिए। उपचारपछि निको भएका ४ सय ४६ जनापछि हाल ८० जना सक्रिय संक्रमित रहेका छन्।

कैलालीको ठूला सहर धनगढी, गोदावरी (अत्तरिया), टीकापुर र लम्कीचुहामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। ठूला सहरको तुलनामा जिल्लाको मध्यवर्ती क्षेत्र रहेको गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकामा संक्रमणको दर कम छ। गौरीगंगा नगरपालिकामा ३ सय ८६ जनामा संक्रमण देखिएकोमा ३ सय ३५ जना उपचारपछि निको भएका थिए। अहिले गौरीगंगा नगरपालिकामा ५१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमितमध्ये केहीको सेती प्रादेशिक अस्पताल धनगढीमा र केहीको स्थानीय अस्पतालमै उपचार भइरहेको छ। घोडाघोडी नगरपालिकामा २ सय ३६ जनामा कोरोना संक्रमण देखिएको थियो। ती मध्ये २ सय ९ जना उपचारपछि निको भए भने २७ जना उपचाररत छन्। भजनी नगरपालिकामा १ सय ९७ जनामा संक्रमण देखिएको थियो। १ सय ४० जना उपचारपछि सञ्चो भएका थिए भने अहिले ५७ जना सक्रिय संक्रमित रहेका छन्।

१३ स्थानीय तह रहेको कैलालीमा १ उपमहानगरपालिका ६ नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन्। उपमहानगरपालिका र नगरपालिकाको तुलनामा गाउँपालिकामा संक्रमणको अवस्था कम रहेको छ। ६ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी जानकी गाउँपालिका संक्रमणको जोखिममा छ। त्यस्तै सबैभन्दा कम मोहन्याल गाउँपालिका रहेको छ। जानकी गाउँपालिकामा अहिले ७२ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै चुरे गाउँपालिकामा २१ जना, बर्दगोरीया गाउँपालिकामा १२ जना, कैलारी गाउँपालिकामा १० जना, जोशीपुर गाउँपालिकामा ५ जना र मोहन्याल गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन्।

सहरमा जनघनत्व बढी हुने र भौतिक दूरी कम हुने भएकाले संक्रमणको जोखिम उच्च रहेको बताउँदै स्वास्थ्य निर्देशनालयका प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने, ‘सहरमा भौतिक दूरी कायम गर्न नसकिने, बढी भिडभाड हुने र दैनिक उपभोग्य सामानका लागि सबैले बजारै जानुपर्ने भएकाले गाउँको तुलनामा सहरमा संक्रमणदर बढी छ।’ गाउँमा भौतिक दूरी कायम गर्ने तथा बाहिरबाट आएका मानिसलाई सहजै पहिचान गर्न सकिने भएकाले ग्रामीण क्षेत्रका नागरिक सचेत रहेका कारण जोखिम कम रहेको उनी विश्लेषण गर्छन्। ‘गाउँमा मानिस कम हुने र भौतिक दूरीको नियम पनि सहजै पालना गर्न सकिन्छ,’ उनले भने,‘त्यसैले कोरोना संक्रमणमा सहरभन्दा गाउँ सुरक्षित देखिन्छ।’

कैलालीमा हालसम्म ८ हजार ३ सय ७२ जनालाई कोरोना संक्रमण देखिएको थियो भने उपचारपछि ५ हजार २ सय ९८ जना निको भएका थिए। अहिले जिल्लाका मात्रै ३ हजार ७४ जना सक्रिय संक्रमित रहेका छन्। कैलालीमा हालसम्म १ सय १४ जनाको मृत्यु भइसकेको छ। ती मध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ४८ जना, गोदावरी नगरपालिकामा २० जना, लम्कीचुहा नगरपालिकामा ११ जना, टीकापुर नगरपालिकामा १० जनाको मृत्यु भइसकेको छ भने सबैभन्दा कम कैलारी गाउँपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा रहेका छन्। अहिलेसम्म यी गाउँपालिकामा कोरोनाका कारण एक जनाको पनि मृत्यु नभएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीको तथ्यांकले देखाएको छ।

प्रकाशित: ३० वैशाख २०७८ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App