प्रहरीले नक्कली अक्सिमिटर बेच्ने ७ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। उत्पादन मिति, म्याद समाप्त मिति, खरीद मूल्य, उत्पादक कम्पनीको नामलगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्यको ७६५ वटा अक्सिमिटरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।
महानगरीय अपराध शाखा मिनभवनका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण कोइरालाले सिन्धुली कमलामाई नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ, बाजुराको खप्तड गाउँपालिका वडा नं. ६ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ५ कुपण्डोल बस्ने थुमराज उपाध्याय, स्याङ्जा पञ्चमुल गाउँपालिका वडा नं.६ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारी, मोरङ विराटनगर महानगरपालिका वडा नं. २ तिनपैनी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.२८ अनामनगर बस्ने ४४ वर्षका विशाल आचार्य, सुनसरी इनरुवा नगरपालिका वडा नं.६ घर भई हाल काठमाडौं भीमसेनगोला बस्ने चिरायु केडी ग्रूप प्रालिमा काम गर्ने पुष्कर घिमिरे, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं.६ घर भई हाल काठमाडौं बागबजार बस्ने २१ वर्षका सन्तोष भण्डारी र भारत राजस्थान झुन्झुनु घर भई हाल काठमाडौं ढुंगे अड्डा बस्ने ५५ वर्षका जगदिशप्रसाद रानासरिबालाई पक्राउ गरेको जनाएको छ।
शाखाका सूचना अधिकृत कोइरालाले पक्राउ परेकामध्ये विशाल आचार्यले आचार्यले डिएण्डडि इन्टरप्राइजेज न्यूरोडमार्फत् चीनबाट मास्कको तुना ल्याउँदा तुनाको बक्साभित्र लुकाएर ती अक्सिमिटरहरु ल्याएको बताएको जानकारी दिए।
उनीहरुले बजार ६/७ सय पर्ने अक्सिमिटरहरु २ हजार २ सय २० सम्म अधिक मूल्यमा बेच्ने गरेको प्रहरीको भनाइ छ।
प्रकाशित: २८ वैशाख २०७८ ०९:४७ मंगलबार