९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बाहिरबाट आउँदा स्थानीय तहलाई सूचना दिनुपर्ने

इलामबासीले अब बाहिरी जिल्लाबाट घर आउँदा अनिवार्य रूपमा आफ्ने स्थानीय तह वा वडा कार्यालयमा आफू आएको जानकारी दिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गरी त्यसरी आउने व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्नसमेत अनिवार्य गरेको छ।  

अन्य जिल्लामा बसेका मानिस अहिले घर–गाउँ आइ परिवार तथा समाजसँग घुलमिल गरेको र कतिपयले आफूखुसी बाहिरी जिल्लामा कोरोना जाँच गराएर पोजिटिभ आएपछि पनि कसैलाई जानकारी नदिने गरेको प्रशासनले जनाएको छ। यसले सबैतिर कोरोना संक्रमण बढ्ने जोखिम थपिएको भन्दै प्रशासनले रोकथाम तथा नियन्त्रणका लागि सूचना गरेको हो।  

सहायक सिडिओ झरेन्द्र चापागाईंले वडा कार्यालयहरूले पनि बाहिरी जिल्लाबाट भित्रिएका व्यक्तिबारे नियमित अनुगमन गर्ने बताए । ‘जिल्लाबाहिरबाट घर आउनेले अब वडा वा स्थानीय तहमा अनिवार्य रूपमा आफू आएको जानकारी दिनुपर्नेछ,’ उनले भने, ‘संक्रमित भएको व्यक्तिले वडा र स्थानीय स्वास्थ्य संस्थासँग सम्पर्क गरी परामर्श लिनुपर्नेछ।’ नियम अटेर गर्ने व्यक्तिलाई संक्रामक ऐन–२०२० बमोजिम कारबाही हुने पनि उनले जनाए।

प्रकाशित: २६ वैशाख २०७८ १४:४३ आइतबार

स्थानीय तह