२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोभिड उपचारमा निजी अस्पतालको लुट : सरकार मौन

नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै उपचारको लागि काठमाडौंका निजी अस्पतालहरुले मनलाग्दी शुल्क तोक्न थालेका छन्। कोरोना उपचारका लागि सर्वसाधारणले धान्नै नसक्ने गरी बेडको शुल्क निजी अस्पतालहरुले तोक्न थालेका हुन्।

कोरोना महामारीका बेला सर्वसाधारणलाई झन सहुलियत दिनुपर्ने बेलामा ह्याम्स अस्पताल र काठमाडौंमा मेडिकल कलेज पब्लिक लिमिटेड केएमसी)ले उल्टै चर्काे शुल्कसहितको सूचना सार्वजनिक गरेको छ।  

ह्याम्स अस्पतालले जनरल वार्डका लागि दैनिक ७ हजार, दुई कोठाका लागि १५ हजार रुपैयाँ, ३ बेड र चार ४ बेडको कोठाका लागि ११ हजार तोकेको छ।

त्यस्तै आइसोलेशन अन्तर्गत निजी कोठाका लागि प्रतिदिन २१ हजार रुपैयाँ, डिलक्स कोठाका लागि २६ हजार, सुट कोठाका लागि ५० हजार रुपैयाँ तोकेको छ। त्यस्तै सोही अस्पतालले सघन उपचार कक्ष (आईसीयू) बेडका लागि २२ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ।  

ह्याम्स अस्पतालले त्यो बाहेक डाक्टर भिजिटिङ चार्जवापत १ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ ।  सोही अस्पतालले शुल्कबारे अन्यन्त्र उजुरबाजुर गर्न नपाउने सर्तसहितको पत्रमा हस्ताक्षर गराएर मात्रै बिरामीको उपचार गर्न सुरु गरेको छ।

‘सरकारी अस्पतालमा उपचार निःशुल्क हुने अस्पताल प्रशासनले जानकारी गराए तापनि म÷मेरो बिरामीलाई आफ्नो इच्छाले यस अस्पतालमा उपचार गराउन चाहन्छु। यस अस्पतालमा उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च स्वयं बेहोर्नेछु तथा यसबारे उजुरबाजुर गर्ने छैन,’ आफ्नो मञ्जुरीनामामा उल्लेख गरेको छ ।  

त्यस्तै काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले पनि कोभिड १९ पोजेटिभ बिरामीहरुको उपचारका लागि थप शुल्क निर्धारण गर्दै  सूचना सार्वजनिक गरेको छ ।  

सो अस्पतालले कोरोना संक्रममित बिरामीका लागि क्याबिन सिंगल बेडवापत प्रतिदिन २० हजार रुपैयाँ शुल्क तोकेको छ । त्यस्तै कोभिड क्याबिन डबल बेड प्रतिदिन १० हजार रुपैयाँ, कोभिड क्याबिन डिलक्सका लागि प्रतिदिन २५ हजार रुपैयाँ र कोभिड क्याबिन सुपर डिलक्स प्रतिदिन ३० हजार रुपैयाँ लाग्ने अस्पतालले सूचनामा उल्लेख गरेको छ ।  

अस्ततालले निर्धारण गरेको यो शुल्क सरकारले तोकेभन्दा धेरै बढी हो।

सरकारले गम्भीर प्रकृतिको उपचार गरेवापत १५ हजार, मध्यमको ७ हजार र नर्मलको ३ हजार ५ शुल्क लिन पाउने तोकेको छ। सो रकममा ५० प्रतिशत सम्म बढाएर लिन पाउने सरकारले अनुमति पनि दिएको छ।

तर, निजी अस्पतालले सरकारले तोकेको भन्दा पनि चर्काे मूल्य बिरामीसँग असुल्दै आएका छन् ।  

शुल्कबारे कुरा गर्नै मान्दैननन् अस्पताल  

यसरी सर्वसाधारणले थेग्नै नसक्ने गरी असुल्दै आइरहेको शुल्कबारे बुझ्न ह्यामस् अस्पतालका मेडिकल शाखाका राजन भण्डारी त्यस विषयमा आफूले बोल्न नहुने बताए । ‘त्यो विषयमा मैले बोल्न मिल्दैन । जनरल वार्डका लागि दैनिक ७ हजार लिने गरेको छ । तर आधिकारिक रुपमा बोल्नका लागि तपाईं अस्पताल आएर म्यानेज्मेन्ट कमिटीकासँग सोध्नुस्’, उनले नागरिक न्यूजसँग भने । उनले सोही अस्पतालका अर्का व्यक्ति रोशन अधिकारीसँग सम्पर्क गर्न सुझाउँदै आफू पन्छिए।  

त्यस्तै रोशन अधिकारीले आफू प्रशासन शाखाको भएकाले कोभिड –१९ को उपचार शुल्कबारे आफूलाई थाहा नभएको बताए ।  अस्पतालले पीसीआर परीक्षणको  शुल्कबारे पनि आफूलाई अनविज्ञ रहेको उनले बताए ।  

उनले पनि आधिकारिक रुपमा बोल्नका लागि आफू असमर्थ रहेको बताउँदै अस्पताल आएर व्यवस्थापन समितिसँग कुरा गर्नु भन्दै पन्छिए।

सरकारी अस्पतालहरुमा बेड नपाएर बिरामी छटपटाईरहेको बेला निजी अस्पतालहरुले भने सर्वसाधारणले तिर्ने नसक्ने शुल्क तोकेको छ। यसरी ह्याम्स र केएमसीले चर्काे शुल्क लिएको सम्बन्धमा सरकारले भने कुनै चासो देखाएको छैन् । काठमाडौंका यी दुई अस्पतालहरु मात्र होइन अधिकाशं निजी अस्पतालहरुले चर्काे शुल्क लिएर कोरोनाको बिरामीको उपचार गरिरहेका छन्। अहिले कोरोना उपचारको नाममा ‘लुटतन्त्र’ चलिरहेको छ ।  

प्रकाशित: २२ वैशाख २०७८ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App