६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सुनचाँदी व्यपारीको हत्याः आँखै अगाडी श्रीमानको छातीमा गोली ठोके

शनिबार राती हतियारधारी समूहबाट हत्या गरिएका प्रदीपकुमार मिझारको श्रीमती अमिता मिझार(विक)लाई अस्पतालको शैयामा सम्हाल्दै आफन्त । शनिबार हतियारधारी समूहबाट आक्रमण गरि हत्या गरिएका सुनचाँदी व्यपारिको पसल । तस्बिर : मिथिलेश/नागरिक

नकाब लगाएका हतियारधारी समूहले लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्ने व्यपारीमाथि आक्रमण गरि हत्या गरेको छ । शनिबार मध्यराती डकैती गर्न आएका ८/९ जनाको समूहले व्यापारी ४० वर्षीय प्रदीपकुमार मिझारको गोली हानी हत्या गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दाहालका अनुसार शनिबार राति करिब १२ बजेतिर हतियारधारी समूहले लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदिप मिझारको हत्या गरेका हुन् । टाउँको, अनुहार र हातमा खुकुरी प्रहार र छातीमा गोली प्रहार गरि उनलाई हत्या गरिएको छ । उनको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी दहालले बताए । हतियारधारी समूहले सुनचाँदी र नगद पनि डकैती गरेर लगेको प्रहरीले जनाएको छ । हत्या भएका मिझार लहान नगरपालिका–२२ बर्छवा घरभई गढिया चौकमा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए ।  

हत्या गरिएका मिझारकी श्रीमती अमिता मिझार पनि घाइते छन् । दाहिने हातमा खुकुरी प्रहारबाट घाइते भएकी अनिता सप्तऋषी अस्पतालमा उपचारपछि डिस्चार्ज भएकी छिन् । लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ का सूर्य सहनीलाई फलामको छिनोसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दाहालले जानकारी दिए ।

घटानास्थलदेखि इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारीको दूरी चार किलोमिटर छ । घटनास्थलको उत्तर, दक्षिण र पूर्व घना बस्ती छ । पश्चिम बगैचा र खाली जमीन छ । लहान–ठाढी सडक खण्डको टाँसिएकै पश्चिम हतियारधारी समूह घण्टौ आतंक मच्चाउँदा पनि कोहि चुइँक्क बोलेनन् । हतियारधारी समूह अपराध घटाएर गइसकेपछि मात्र प्रहरी घटनास्थल पुगेको स्थानीय बताउँछन् ।

सुनचाँदी व्यवसायी संघ सिरहाका अध्यक्ष विकाश सारडाले घटनाप्रति दुःख व्यक्त गर्दै संलग्न अपराधीलाई अविलम्ब कानूनी दायरामा ल्याउन माग गरेको छ ।

‘आँखै अगाडी निर्दयीले श्रीमानको हत्या गरे’

खाना खाएर सुत्दा सधैं ११ बज्छ । शनिबार राती पनि मस्त निन्द्रामा सुतिरहेका थियौं । करिब १२ बजेको होला । ड्याङडुङ आवाजले निन्द्र बिथोलियो । कहाँ केको आवाज हो भनेर ठम्याउन थाल्यौं । त्यतीकैमा बन्दुक पड्केको आवज कानैमा गुन्जियो । सुतेको कोठाको ढोका फोड्ला जस्तै गरी ड्याङडुङ गर्न थाल्यो । ढोका खोल नत्र मारिदिन्छु भन्दै बेसरी ढोका फोड्न थाले । हामी डरायौं, आतियौं । गुहार गर्यौ । कसैले हाम्रो गुहार सुनेनन् । हामीसँग उनीहरुको आदेश मान्नुको बिकल्प थिएन । ढोका खोलिदियौं ।

उनीहरु ८/९ जनाको समूहमा आएका थिए । पेस्तोल, खुकुरीलगायतका हत्तियारले लेस थिए । तीन जना मलाई नियन्त्रणमा लिए । बाँकी मेरो श्रीमानलाई नियन्त्रणमा लिएर कुटपिट गर्न थाले । सुनचाँदी, पैसा सबै देउ भन्दै प्रहार गर्न थाल्यो । मेरो श्रीमान सहजै सारा सम्पती उनीहरुलाई जिम्मा लगाउन मान्नु भएन ।  

त्यतीकैमा एक जनाले मेरो श्रीमान् टाउँकोमा खुकुरीले प्रहार गर्यो । आँगनमा उनीमाथि तारन्तार खुकुरी हानिरहे । तब पनि उहाँ सुनचाँदी, पैसा दिन तयार हुनुभएन । म सबै सम्पती दिदिन्छु मेरो श्रीमानलाई छोडिदिनुस भनेर बिन्ती गर्दा पनि निर्दयीहरु मानेनन् । मेरै आँखा अगाडी मेरो श्रीमानको छातीमा दुई गोली प्रहार गरे । त्यसपछि मेरो श्रीमान् आँगनमै ढल्नुभयो । म बचाउन जाँदा उनीहरूले मेरो दाहिने  हातमा खुकुरी प्रहार गरे ।

‘गोली हानेर भुइँमा ढालिसक्दा पनि उनीहरु मेरो श्रीमानमाथि खुकुरी बजार्न छोडेनन् । म त्यो दृश्य देखेर ढले । एक छिनपछि होसमा आउँदा उनीहरु गईसकेका थिए । सारा सामान पनि लुटिसके । सम्पती पनि लग्यो श्रीमानलाई पनि । उनी भक्कानिँदै भनिन्,‘रगतमा लतपत श्रीमानलाई आँगनमै छोडेर छिमेकिहरुको ढोका ढक्ढक्याउन पुगे । छिमेकीहरुलाई उठाएर घर फर्किदासम्म मेरो श्रीमान्ले सास लिन छोडिसकेका थिए ।’

'छिमेकीहरुले रगतमा लत्पतेकाे देखेपछि उहाँलाई(श्रीमान) अस्पताल पुर्याए । सँगै मपनि गएँ । जाँचपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरिदियो । मेरो जिवन यही रोकियो, उनी रुँदै भनिन्,‘ वर्षौ साहु महाजनको सुनचाँदी पसलमा कमाएर बचत गरेको पैसाबाट आफ्नो व्यपार सुरु गर्दा अपराधिको आँखाको तारो बन्न पुगे ।’ हामीले आफ्नो सीप उपयोग गरेर दुई चार पैसा कमाएका थियौं । कसैको केही बिराएका थिएनौं । कसैसँग रुखो बोली बोलेको याद छैन । हामी कमाएर खाने वर्गको कोहीसँग कुनै दुश्मनी पनि थिएन । उनी भावुक भइन,‘खै कस्को आँखा लग्यो, मेरो संसारै उजाडियो । कसरी मन थाम्नु । कसरी बच्चालाई सम्झाउँनु ।’

प्रकाशित: २९ चैत्र २०७७ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App