१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वायु प्रदूषणः मध्य सहरमै बुङबुङति धुलो उडाइन्छ

सडकको धुलो उडाउने होइन, भ्याकुम लगाएर तान्नुपर्छः विज्ञ

पोखराको जिरो किलोमिटरमा सडक कालोपत्रे गर्नुअघि सडकको धुलो उडाउँदै कामदार । तस्बिरः उमेश पुन÷नागरिक

वायु प्रदूषणले केहीदिनदेखि पोखराको आकाश धुम्म छ । आकाश धुम्म मात्र छैन की अहिलेको प्रदूषणले मानव स्वास्थ्यमा असर पर्ने चिकित्सकले बताईरहेका छन् । प्रदूषण बढेको भन्दै सरकारले केहीदिन त विद्यालयमा पठनपाठन नै बन्द गरायो । अघिल्लो साता बिग्रेको मौसममा बीचमा केही सुधार आएपनि पछिल्लो पाँचदिनदेखि फेरि अस्तव्यस्त छ ।  

तुवाँलोले भिजिविलिटी कमजोर भएर पोखराबाट हुने हवाई उडान पनि नियमित छैनन् । विज्ञहरुले अहिले सबैतिर वनमा डढेलो लागेको र त्यसले वायु प्रदूषण बढाएको बताएका छन् । विज्ञहरुले डढेलोका कारण वातावरणमा असर परेको त बताईरहेका छन नै ती बाहेक विकास निर्माणका कामलाई वातावरणीय दृष्टिले सुरक्षित नपार्दा पनि वायुमण्डलमा असर परेको बताउँछन् ।  

अहिले पोखरा महानगरभित्रको २९ किलोमिटर सडक अस्फाल्ट कंक्रिटबाट कालोपत्रे हुँदैछ । सडक कालोपत्रे गर्नका लागि विभिन्न ठाउँमा दिनहुँजसो काम भईरहेको छ । सडक कालोपत्रे त भएको छ, त्यो कालोपत्रेसँगै वायुमण्डलमा असर पर्नेगरि धुलो उडाउँदा अहिलेको प्रदूषण बढ्नमा बल पुगेको विज्ञहरुले बताएका छन् ।  

सडक कालोपत्रे गर्ने क्रममा यतिसम्म धुलो उडाइन्छ की चारैतिरका घर र सडकमा कुदेका गाडि समेत देख्न मुस्किल हुन्छ । धुलोले चारैतिर अस्तव्यस्त हुने गरेको छ भने आसपासका घर, पसल र कार्यालय समेत बन्द गर्न बाध्य हुने गरेका छन् । बाटोमा हिडडुल गर्ने बटुवा पनि नाकमुख छोप्दै भागाभाग गर्न बाध्य हुन्छन् ।  

विहीबार बेलुकीपख पोखराको जिरोकिलोमिटरमा सडक कालोपत्रे हुँदै थियो । कालोपत्रे गर्नुअघि सडक बढार्दै सफा गर्ने क्रममा धुलो उडाउँदा आसपासका क्षेत्र अस्तव्यस्त देखिन्थे । सडकमा हिडेका बटुवा र सवारी चालकलाई पनि उडेको धुलोले सेताम्य बनाएको थियो । धुलो छल्न भागाभाग गर्ने चालक पनि प्रयाप्त थिए । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल भन्छन, ‘अहिलेको वायु प्रदूषण तत्कालका घटनाले बढेको त होईन । तर, वायु प्रदूषण बढाउनेगरि धुलो उडाउने काम सबैतिर हुँदाको परिणाम भने हो ।’ वन डढेलोका कारण अहिले प्रदूषण बढेको भनिएपनि विकास निर्माणका क्रममा उडेको धुलोले पनि सघाउन पुगेको ढकाल बताउँछन् ।  

सडक कालोपत्रे गर्नुअघि सफा गर्न खोज्दा धुलो उडेर वायुमण्डलमा मिसिने हुँदा त्यसले असर पार्ने उनले बताए । ‘विकास निर्माणका काम गर्दा  वातावरणका हिसाबले गलत काम गर्नु हुँदैन, सडक खन्दा, घर बनाउँदा त्यहाँबाट उडेको धुलोले वायुमण्डलमा असर परेको हुन्छ,’ ढकालले भने, ‘तत्काल असर पर्ने नभई वातावरणलाई थप प्रदूषित बनाउन भने सघाउँछ ।’ उनले अहिलेु वायु प्रदूषण बढ्नुमा डढेलो मात्र कारक नभइ वातावरण विगार्ने गरि भएका कामकारवाहि पनि कारक रहेको बताए । ‘सबैतिरको प्रदूषण थपिँदै जाँदा यो समस्या निम्तिने हो । सयौंतिरको व्यवहारको रुप अहिले देखिएको हो,’ उनले भने ।

प्रदेशको भौतिक मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठका अनुसार सडक कालोपत्रे गर्दा धुलो उडाउने नभइ त्यो धुलोलाई सुरक्षित तरिकाले भ्याकुम गरेर फ्याक्नुपर्ने बताउँछन् । तर त्यो तरिका अहिलेसम्म अपनाउन थालिएको छैन । ‘अबका दिनमा विकास निर्माणका काम गर्दा पनि व्यवहारमा सुधार ल्याउन जरुरी छ । सडकको धुलो उडाउने नभई त्यो धुलोलाई सुरक्षित तरिकाले भ्याकुमले तानेर सुरक्षित तवरले काम गर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘अब त्यो प्रविधिमा जानुपर्छ । सबैतिर धुलो उडाएर अस्तव्यस्त गर्नु राम्रो होईन । भ्याकुमले सडकको धुलो तानेर काम गर्न सकिने प्रविधि भिœयाउनुपर्छ ।’

उनका अनुसार सडक कालोपत्रे गर्दा प्राविधिक रुपमा पनि सफा हुनुपर्छ । त्यसका लागि सडक बढार्ने र धुलो निकाल्ने गरिन्छ । तर, धुलो हटाउने क्रममा तान्ने भन्दा पनि उडाउने चलन बढि रहेकोछ, जुन गलत हो । ‘पानी हालेर धुलो कम गरेपनि कालोपत्रे गर्न मिल्दैन । किनकी चिसोमा कालोपत्रे गर्न मिल्दैन,’ उनले भने, ‘तर सुख्खा हुनेगरि धुलो तान्ने सुरक्षित प्रविधि भिœयाउन जरुरी छ ।’ उनका अनुसार सडकबाट उडेको धुलोले वातावरणलाई थप प्रदूषित बनाउन सघाउँछ । ‘धुलोका कणले कुनै न कुनै रुपमा मानवस्वास्थ्यमा असर पारेको हुन्छ । त्यसैले अब विकास निर्माण गर्दा जथाभावि धुलो उडाउने काम बन्द गर्नुपर्छ,’ उनले भने ।  

पोखरामा अहिले खानेपानी बिस्तारका लागि सडक खन्ने काम भईरहेको छ । त्यस्तै सडक कालोपत्रे गर्नका लागि पनि यहाँ धुलो उडाउने गरिएको छ । खानेपानीको पाइप बिस्तारका लागि सडकका चोकचोकमा खनेर खाडल पारिएको छ भने सडक छेउमा माटो थुप्रो लगाउने गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक राजन सुवेदी वायु प्रदूषणका कारणले चारदिनसम्म विद्यालय बन्द गरेको सरकारले विकास निर्माणका काममा वातावरण विपरित काम हुँदा पनि ध्यान नदिएको बताउँछन् ।  

‘वाय प्रदूषण बढिरहेको छ । यहीबेला पानी कम पर्दा वायुमण्डल नै सफा हुन पाएको छैन । तर, बजार केन्द्रीत विकासका काम धमाधम भएका छन,’ सुवेदीले भने, ‘गाउँगाउँमा डढेलो लागेको छ, तर, प्रदूषण बजारमा बढी छ । यो हुनुमा बजारको अस्तव्यस्त विकास निर्माणको कामले हो ।’ प्रदूषण बढाउने गलत गतिविधिले गर्दा बजार भित्र समस्या थपिएको उनले बताए ।  

‘सहरभित्रै गाडि धेरै छन । अनि विकासका काम पनि सडकभित्रै भईरहेका छन् । विकासका ती काम पनि वायुमण्डलमा असर पर्ने गरि गरिएको छ,’ सुवेदीले भने, ‘टोलै धुलाम्य हुनेगरि काम गरिन्छ । त्यसले वायुमण्डलमा असर परिहाल्छ । वातावरणमैत्री कामै हुन सकेनन् ।’ सरकारले वायु प्रदूषण बढ्यो भनेर चारदिन विद्यालय बन्द गर्ने अवस्था आउँदा सबैतिर बुङबुङति धुलो उड्ने गरि काम हुँदा ध्यान नदिएको उनले बताए ।

‘वातावरणीय हिसाबले पोखरा महानगरपालिका यो बेला बढी संवेदनशील हुनुपर्ने हो । तर, त्यो देखिएन,’ सुवेदीले भने, ‘नयाँ प्रविधि भिœयाउँदा केही खर्चिलो हुनसक्छ । तर, प्रविधिमा खर्च गर्न डराउँदा मानव स्वास्थ्यमा पर्ने असर झनै डरलाग्दो हुन्छ ।’ वातावरणको संवेदनशीलतालाई हेरेर अहिले यो बेला केहीदिनका लागि विकासका काम रोक्न सकिने पनि उनले बताए । ‘सडकको धुलो तुवाँलो झै आकाशमा मिसिएको देखिएको छ । त्यसको असर कुनै न कुनै रुपमा रहेको छ,’उनले भने ।  

पोखराभित्र भईरहेका विकास निर्माणका क्रममा उड्ने धुलोलाई नियन्त्रण गर्नेतर्फ पोखरा महानगरको भने उत्तिसारो योजना छैन । महानगरको वातावरण महाशाखाका प्रमुख निर्मलमानसिंह भण्डारी भन्छन, ‘अब धुलो उडाउने होईन, भ्याकुम लगाएर तानेर काम गर्नुपर्ने हो । तर, त्यो प्रविधिमा उत्रिन सकेका छैनौ ।’ अहिले सडक कालोपत्रे गर्दा उड्ने धुलो नियन्त्रणका लागि विशेष योजना बनाउनुपर्ने उनले बताए ।

प्रकाशित: २७ चैत्र २०७७ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App