२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

उदयपुरका वनमा निरन्तर डढेलोः करोडौंको काठ र लाखौं विरुवा नष्ट

त्रियुगा नगपालिका ६ जलजलेमा डढेलोले खाएको सालका रुख । तस्बिरः महेश्वर

गएको दुई सातायता उदयपुरका दर्जनौं सामुदायिक वन समूह र सरकारी वनक्षेत्रमा लागेको डढेलोले करोडौं मूल्यबराबरको काठ तथा लाखौं बोट विरुवा डढेर नष्ट भएको छ । सुरुमा सदरमुकाम आसपासका जंगलमा सामान्य देखा परेको डढेलो पछिल्लो सातादिनयता चारैतिर फैलिएर जिल्लाका झण्डै २ सय सामुदायिक वन समूह र सरकारी वनक्षेत्रमा विनाश बढेको हो ।

उदयपुरमा २ वटा डिभिजन वनमध्ये सदरमुकामस्थित डिभिजन वन गाईघाटमातहतका २ सय ४ र डिभिजन कटारीमातहत १ सय ५७ सामुदायिक वन उपभोक्ता समूह छन् । जसमध्ये झण्डै ३ सय हाराहारी समूहमा डढेलो फैलिएर त्यसभित्र रहेका ढलापडा तथा सुख्खा खडा काठ र ससाना लाखौं बोटविरुवा नष्ट भएको जनाइएको छ । साथै जंगलमा रहेका वन्यजन्तु तथा चराचुरुङ्गी पनि डढेलोले नष्ट पारिसकेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए ।  

साहका अनुसार सदरमुकाम त्रियुगा नगरपालिकाका सबै वन समूहमा डढेलो लागेर मार्ने काम भईसकेको छ भने कतिपय जंगलमा अझै आगो नियन्त्रणबाहिरै छ । सुरुमा त्रियुगा नगरपालिका ६ को राजदेवी सामुदायिक वन समूहमा लागेको डढेलोले राष्ट्रपति चुरे कार्यक्रम अन्तर्गत लगाइएको सालका रुख सबै सखाप पारेको छ । त्यस आसपासका जोगीदह, सनुवा सुकुनाई, कङलगायत त्रियुगा खोलापारी चुरेक्षेत्रका दर्जनौं समूहमा डढेलो लागिसकेको छ । त्यस्तै त्रियुगा वारी र बरुवा पारीका नवउदय, चप्पन, बरुवा, बाबरी, जनप्रेमी, शिवशक्ति, असारी, पोर्ताह, पन्चकन्यालगायत दर्जन बढी समूहलाई पनि डढेलोले खाईसकेको डिभिजन कार्यालयले जनाएको छ ।  

गाईघाट डिभिजन अन्तर्गत त्रियुगा नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका वन समूहहरु पनि डढेलोको चपेटामा पसिकेका छन् । बेलका र चौदण्डीगढी नगरपालिकाभित्र पर्ने थप दर्जन बढी सामुदायिक वनमा पनि केहीदिनयता त्यत्तिकै मात्रामा डढेलोले क्षति गरेको स्थानीयलाई उद्धृत गर्दै सहायक वन अधिकृत साहले बताए ।  

उता डिभिजन वन कार्यालय कटारीभित्र पर्ने १ सय ५७ मध्ये अधिकांश वन समूहमा डढेलो लागेको छ । डिभिजन स्रोतका अनुसार कटारीमातहतका दर्जनौं वन समूहहरुमा डढेलोले क्षति गरिसकेको छ । दुवै डिभिजनमातहतका वन समूहमा लागेको डढेलो निभाउन डिभिजन, सवडिभिजन र सेक्टर वन कार्यालय वन कार्यालयमार्फत जनशक्ति परिचालन भईरहेको वन कार्यालयले जनाएको छ । तर, पनि कतिपय समूहको डढेलो अझै नियन्त्रणबाहिर रहेको साहले बताए ।  

डिभिजनका अनुसार हावाहुरी र वर्षा सुख्खा खडेरीका कारण जताततै आगो लागेर वन जंगलमा क्षति पुगेको र नियन्त्रण गर्न धेरै कठिनाई भईरहेको छ । डिभिजनले वन कर्मचारी, सामुदायिक वन समूह, स्थानीयतह तथा सेना, सशस्त्र र प्रहरीको सहयोग लिएर डढेलो नियन्त्रणको काम भईरहेको साहले बताएका छन् । फागुन सुरुदेखि एकैचोटी धेरैतिर डढेलो फैलिएकाले कति संख्याको समूह र क्षति बिबरण यकिन गर्नै नसकिएको उनको भनाई छ । समूहले कटान छपान गरेर राखे पनि कानुनी प्रक्रिया पूरा गर्न बाँकीलगायत बिभिन्न कारणले निकाल्न बाँकी भएको काठहरु ठूलो परिमाणमा डढेलोले क्षति गरेको हुनसक्ने अनुमान साहको छ ।  

सामुदायिक वन महासंघ उदयपुरका अध्यक्ष कुशल बस्नेतले अनियन्त्रित डढेलोले बिभिन्न सामुदायिक वनको करोडौंको काठ नष्ट गरेको बताए । समूहहरुले आन्तरिक खपत र बाह्य बिक्री वितरणका लागि वर्षौंअघि कटान छपान गरे पनि सरकारले अनेक बहाना गरेर निकासी र बिक्री वितरणमा लगाएको रोकले जंगलमै रहेको ठूलो परिमाणको काठ डढेलोले सखाप पारेको बस्नेतको भनाई छ । राज्यको निकम्मापनका कारण करोडौं मूल्यको काठ आगोले खाएको भन्दै अध्यक्ष बस्नेतले वन महासंघको माग अनुरुप काम नगर्दा राजश्वमा घाटा लाग्नुका साथै स्थानीय वन समूहहरुको करोडौंको सम्पत्ति स्वाहा भएको उनले बताए ।  

०७६ जेठदेखि बिना कारण सरकारले काठ निकासी तथा बिक्री वितरणमा लगाएको रोक एक महिनाअघि मात्र खोलेको उनले बताए । तर, फागुन पहिलो साता मात्र काठ निकासी तथा बिक्री वितरणमा लगाएको रोक्का फुकुवा गरेपछि भर्खर निकाल्न कानुनी प्रक्रियाको थालनी गर्दैगर्दा लागेको डढेलोले काठ नष्ट गरेको बस्नेले बताए । ‘कतिपय समूहहरुले कटान छपान गरेर राखेको ०७२ देखिका काठसमेत जंडलमै थियो’ अध्यक्ष बस्नेतले भने ‘बीचबीचमा सरकारले निकासी रोक्दै खोल्दै गरेकाले जंगलमै रहेको धेरै काठ डढेलोले भुसक्कै बनायो ।’

गाईघाट डिभिजन वन अधिकृत अम्बिकाप्रसाद पौडेलले धेरैतिर एकैचोटी डढेलो लागेकाले नियन्न्त्रण गर्न गाह्रो भए पनि सकेसम्म निभाउने प्रयास भईरहेको बताए । माघदेखि  फागुन, चैत वैशाखसम्म सुख्खा र हावाहुरीको मौसम भएकाले वर्षेनीजस्तै डढेलो लाग्ने गरेको भन्दै डिएफओ पौडेलले अहिलेसमम वर्षा पनि नभएकाले थप समस्या आईपरेको बताए । केहीदिन वर्षा नहुने भए डढेलोले अझै क्षेति गर्ने संभावना भएकाले डिभिजनले आफ्ना कर्मचारीलाई सतर्क गराएको तथा समूह र स्थानीयलाई आफ्नो जंगलको सुरक्षा गर्न आफै सचेत गराएको पनि उनले बताए ।  

डढेलो लागेपछि ससाना बोटविरुवा र वन्यजन्तुलगायत जैविक र वनस्पति क्षति धेरै भएको अनुमान पौडेलको छ । डिएफओ पौडेलले कतिपय समूहको काठ बिभिन्न कारणले निकाल्न नपाएर जंगलमै रहेकाले त्यो पनि क्षति भएको हुनसक्ने अनुमान लगाए । तर, के कति परिमाणको काठ क्षति भयो भन्ने बिबरण भने अहिले नै प्राप्त हुन बाँकी रहेको उनको भनाई छ । सरकारले बिभिन्न समयमा काठ कटान तथा बिक्री वितरणमा रोक लगाउने गरेकाले पनि निकाल्न बाँकी जंगलमा रहेका काठ डढेलोले क्षति गर्ने उनले बताए । आफ्नो काठ र जंगलको सुरक्षा गर्न सहज होस् भनेरै सरकारले सामुदायिक वन समूह गठन गरेर हस्तान्तरण गरेकाले वन समूहहरु स्वयंले त्यसको सुरक्षातर्फ ध्यान दिनुपर्ने पौडेलले बताए ।

प्रकाशित: २० चैत्र २०७७ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App