६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज

काठमाडौं उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको हो।

विसं २०६३ मा बन्द रहेको ट्राफिक बत्ती ११ वर्षपछि २०७४ सालबाट सञ्चालनमा आएको थियो। उक्त वर्षको चैत १३ गते नयाँ बानेश्वर चोक र महाराजगञ्ज चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो। त्यस्तै २०७१ सालमा काठमाडौँमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनमा ट्राफिक बत्ती जडान भए पनि सोही बत्ती राम्रोसँग सञ्चालन हुन सकेको थिएन।

काठमाडौं उपत्यकामा जडान भएका ट्राफिक बत्तीमध्ये २० सडक विभाग, चार ललितपुर महानगरपालिका, दुई काठमाडौँ महानगरपालिका, दुई माछापुच्छ्रे बैंक, एक सनराइज, एक प्राइम र एउटा त्रिपुरेश्वर रोटरी क्लबको सहकार्यमा जडान गरिएको हो जसमध्ये अल्का अस्पताल अगाडि, महापाल चोक, हरिहरभवन र पुल्चोक ललितपुर महानगरपालिका, ल्होत्से चोक र भाटभटेनी चोकको काठमाडौँ महानगरपालिका, लैनचौर र एकेडेमी मोडको माछापुच्छ्रे बैंक, गैह्रीधारा चोकको सनराइज बैंक, कृष्ण पाउरोटी चोकको प्राइम बैंक र त्रिपुरेश्वर चोकको त्रिपुरेश्वर रोटरी क्लबले जडानमा सहकार्य गरेका हुन्।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई ट्राफिक बत्तीको जडानसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहज हुने बताउँछन्। 'प्रविधिमैत्री बत्तीको प्रयोगसँगै ट्राफिक जनशक्ति कम देखिदा ट्राफिकको काम समेत सहज हुनेछ', उनी भन्छन्।  

नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो। २०३७ सालमा जाइकाको सहयोगमा उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो। जाइकाले बत्ती जडान गरेको केही समय बत्ती बलेर ट्राफिकले केही सहजता पाए पनि पछि बत्ती बिग्रेसँगै ट्राफिक व्यवस्थापनमा समस्या भएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला ट्राफिक बत्ती जडानसँगै चालकमा सडक अनुशासन कायम हुने बताउँछन्। 'सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती अति आवश्यक छ', उनी भन्छन्। 

महाशाखाले केही समयपहिले गरेको अध्ययनमा काठमाडौं उपत्यकाभित्र हुने ट्राफिक जाम न्यूनीकरणका लागि १३९ चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने देखिन्छ। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौं उपत्यकामा १२ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन्। रासस

प्रकाशित: १८ चैत्र २०७७ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App