२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

पाँचथर– सदरमुकाम फिदिमबाट मोटरसाइकलमा ग्रामीण क्षेत्र जाँदा अहिले विजयहाङ आङदेम्बे रेनकोट लगाउँछन्। प्रश्न उठ्छ हिउँदमा किन रेनकोट ? बर्खामा पानी छल्न मात्र हैन ग्रामीण क्षेत्रको सडकमा धुलो छेक्नका लागि उनी रेनकोट लगाउन बाध्य छन्  आङदेम्बेजस्तै ग्रामीण क्षेत्रमा मोटरसाइकलमा जानेहरू रेनकोट लगाएर यात्रा गर्छन्। गन्तव्य पुगेपछि रेनकोट फुकालेर काममा लाग्छन्। ‘यसो गर्नुको बाध्यता कपडामा तथा शरीरमा धुलोको असर नपुगोस् भन्ने हो,’ आङदेम्बे भन्छन्।

मुलुक संघीयतामा गएपछि सबैभन्दा बढी बनेको भनेको सडक नै हो । अहिले केन्द्र, प्रदेश र स्थानीय तह सबैले जानेकै भनेको सडक बनाउने भन्ने मात्र देखिएको छ। विकासका लागि सडकको पहुँच सबैभन्दा अनिवार्य सर्त हो। त्यसैले सडक बन्नु भनेको अवश्य पनि नराम्रो होइन। तर, बनाउने सडकको गुणस्तर नतोकिँदा सर्वसाधारण हिउँदमा पनि रेनकोट लगाउन बाध्य छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै २ सय १० वटा जिल्लाको भर्चुअल उद्घाटन गरेका थिए । यी सबै सडक जिल्लाको केन्द्रलाई जोडने रणनीतिका साथ बनाउन लागिएको हो। जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक हिउँमा धुलाम्मे छन। पानीसमेत नपरेका कारण गाडी कुदाउँदा बुङबुङती धुलो उड्ने गरेको छ। 

धुलो उडेकाले गाडी कुद्न समेत समस्या पर्छ। निर्माण तथा मर्मतका काम भइरहेकाले पनि धुलो अत्यधिक रहेको छ। यहाँको फिदिम नगरपालिका र याङवरक गाँउपालिकाको केन्द्र थर्पुबाहेकका ६ स्थानीय तहको केन्द्र जाने सडकको हालत उस्तै छ। फिदिम र याङवरकका ग्रामीण क्षेत्रको सडक यात्रा गर्दा धुलोको उत्तिकै सास्ती व्यहोर्नुपर्ने बाध्यता छ।

यी तीनै सडक हुन्, जहाँ वर्षायाममा हिलाम्मे हुन्छन्। ग्रामीण क्षेत्र जोड्ने थोरैबाहेकका सडकमा वर्षायाममा गाडी कुद्न सक्दैन्। ग्रामीण क्षेत्र जोड्ने सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन्। यहाँ वडा मात्र होइन टोल–टोलमा सडक पुगेका छन्। यहाँका अधिकतर गाउँमा सडक पुगेको छ। पछिल्ला दशकमा सडकको ट्य्राक खोल्ने काममा ठूलै प्रगाति भए पनि गुणस्तरीय नहुँदा हिँउद–बर्खा नै समस्या हुने गरेको छ। सरकारले कम्तीमा ट्य्राक खोलिएका सडकमा ग्राभेल गर्न अनिवार्य गरे यी दुवै समस्याको ९० प्रतिशतभन्दा बढी समाधान हुन्थ्यो।

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा वडा केन्द्रसम्म जोड्ने सडक ग्राभेल स्तरको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सुविधा पाउने भए पनि यतातर्फ ध्यान पुग्न सकेको छैन।

‘सडक धुलाम्मे भएका छन्। गाडी कुदाउँदा आँखै छोप्ने गरी धूलो उड्छ । बर्खामा हिलोले सास्ती दिन्छ,’ मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमर माखिम भन्छन्, ‘सडक ग्राबेल तथा कालोपत्रे गर्न पर्याप्त बजेट छैन । बर्खामा बिग्रिएको सडक हिउँद लाग्न थाल्दा हरेक वर्ष मर्मत गर्नुपर्छ। राँके–भेडेटार सडकको कालोपत्रे गर्ने कामको ढिलाइ हुँदा समस्या चाँडै समाधान नहुने देखिन्छ।’

माखिमले भनेझैं धनकुटाको भेडेटारबाट पाँचथरको राँके जोड्ने १ सय किलोमिटर लामो सडकको काममा एकदमै ढिलाइ भइरहेको छ। भारतीय ठेकदार कम्पनीले कामलाई गति नदिँदा कहिले कालोपत्रे भइसक्ने हो यकिन छैन। भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माणको काम अघि बढाइएको सडकको ठेक्का म्याद सकिने समय आउन लाग्दा प्रगति अत्यान्त न्यून छ। आयोजना प्रमुख अभिमान मुल्मीका अनुसार हालसम्म १५ प्रतिशत मात्र काम भएको छ। यो सडकले पाँचथरका मिक्लाजुङ गाउँपालिकाका केन्द्र रवि, फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुबर्वसे पञ्चमीसँगै ग्रामीण क्षेत्रहरू जोड्छ । त्यति मात्र हैन इलाम र धनकुटाका विभिन्न स्थानीय तहको केन्द्र तथा गाउँ छुन्छ।

सडकको धेरै समस्या मिक्लाजुङ, तुम्बेवा, फाल्गुनन्द, फालेलुङ गाउँपालिकामा बढिरहको छ । धुलोले तुम्मेवा, कुम्मायक गाउँपालिकामा बढी समस्या छ । बर्खामा पनि उस्तै हुन्छ। सुक्खा क्षेत्र भएको तथा निर्माणका कामले सडकमा अत्यन्त धेरै धुलो भएको कुम्मायकको यासोकका खेम निरौला बताउँछन्। जिल्लामा मेची राजमार्ग कालोपत्रे छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको २० किलोमिटर सडक कालोपत्रे भएको छ। मध्यपहाडि लोकमार्गको बाँकी ५१ किलोमिटर खण्डको हालै कालोपत्रेका लागि ठेक्का लगाइएको छ।

जिल्लामा अर्को महत्वको तमोर कोरिडर सडक रहेको छ । यो सडकको ८० किलोमिटर पाँचथरमा पर्छ। यो सडकको ट्य्राक खोल्ने काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख सुरेश न्यौपानेले बताए। यो सडक ग्राभेल स्तरको बन्ने छ। फिदिम फालोट र मायालु मोड नविडाँडाको सडक कालोपत्रेका लागि काम भइरहेको छ।

पूर्वाधार कार्यालय पाँचथरबाट कालोपत्रेका लागि ठेक्का लगाइएका सडकको कामको समयमा भुक्तानी हुन नसक्दा काम प्रभावित भएका छन्। शिवादोभान–लुम्फाबुङ ११ किलोमिटर, सरखण्डे–यासोक १४ किलोमिटर र फिदिम–फालोडको पहिलो खण्ड १० किलोमिटर सडक खण्डका ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम प्रभावित भएको छ। पूर्वाधार कार्यालयका प्रमुख ललित चौधरीका अनुसार फिदिम–फालोटमा ६० प्रतिशत, शिवाखोला–लुम्फाबुङमा ५५ प्रतिशत, सरखण्डे– यासोकमा ४० प्रतिशत काम भएको छ। पूर्वाधार कार्यालयबाट भएका यी कामको ठेकेदारको म्याद थप्नुपर्ने अवस्था देखिन्छ।

गाउँपालिका केन्द्र र वडा जोड्ने सडक १२ महिनै सञ्चालन हुने किमिसको बनाउनुपर्ने आवश्यकता औंल्याए पनि ठोस काम भएको देखिँदैन। ग्राभेल स्तरसम्मको स्तरोन्नतिमा भन्दा बढी ध्यान ट्य्राक खोल्ने काममा देखिन्छ। छिमेकी जिल्ला जोड्ने, पालिकालाई जोड्ने तथा भारतसँग सिमानामा जोडिएका सडकलाई प्राथमिकतामा राखेर काम गर्न सकेको देखिँदैन।

प्रकाशित: १८ चैत्र २०७७ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App