६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीन दिनदेखि पोखरा धुम्म

तुवाँलोसहितको वायु प्रदूषणले भिजिबिलिटी नपुग्दा उडान रद्द

पोखराको वायु प्रदूषण आइतबार पनि घटेन। दिउँसै अँध्यारोजस्तै भयो। बाक्लो तुवाँलोले आसपासका डाँडाकाँडा नदेखिँदा उकुसमुकुसको अनुभूति भएको पोखरेलीले बताए। वायु प्रदूषणले पोखरा तीन दिनदेखि धुम्मिएको छ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार आइतबार मध्याह्न पोखराको वायुको गुणस्तर शनिबारकै जति थियो। वायु गुणस्तर सूचकांक स्वास्थ्यका दृष्टिले हानिकारक रहेको उनले बताए। उनका अनुसार पोखरालाई बाक्लो तुवाँलोले ढाकेको छ। तुवाँलोमा धुलो र धुवाँको मिश्रण हुन्छ। जसका कारण भिजिबिलिटी पनि घटेको उनले बताए।

जल तथा मौसम विज्ञान कार्यालयले पोखरामा वायु प्रदूषण मापन गर्न तीन ठाउँमा उपकरण राखेको छ। लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल र रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालय परिसरमा ती उपकरण जडान गरिएको छ। आइतबार मध्याह्न रत्नचोकको वायु गुणस्तर सूचकांक १४५ थियो। त्यस्तै लामाचौरमा वायु गुणस्तर सूचकांक २२२ र लेखनाथमा सूचकांक १९४ थियो।

 ‘शनिबार पनि यत्तिकै हाराहारीमा वायु गुणस्तर मापन भएको थियो,’ ढकालले भने, ‘शनिबारको तुलनामा आइतबार मौसममा सुधार आएको मान्न सकिन्नँ। यो अवस्था अझै रहने देखिएको छ।’ उनका अनुसार हावा निकै नै सुस्त चलेको छ। ‘हावा चल्न नसक्दा पनि उकुसमुकुस भएको हो,’ उनले भने। ढकालका अनुसार तत्काल पानी पर्ने संकेत पनि छैन। मंगलबारपछि मात्र वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताए।  

ढकालका अनुसार ‘वायु गुणस्तर सूचकांक जति कम भयो उति राम्रो हुन्छ। शून्यदेखि ५० सम्मको सूचकांकले मानव स्वास्थ्यमा खासै असर पर्दैन। त्योभन्दा माथि जानु पोखराका लागि राम्रो नमानिने उनले सुनाए। १०१ देखि १५० सम्म सूचकांक हुँदा त्यसले सुन्तला रङ पाउँछ र त्यो पनि जोखिमयुक्त हुन्छ। १५१ देखि २०० सूचकांकले रातो रङको संकेत पाउँछ। त्यो झनै जोखिमयुक्त हुन्छ। २०० देखि ३०० सम्मलाई बैजनी रङ दिइन्छ। यो पनि उत्तिकै जोखिमपूर्ण हो। ३ सयभन्दा माथि पुगे खैरो रङ दिइन्छ। त्यो त निकै नै जोखिमयुक्त हुने उनले बताए। ‘सूचकांक ३०० भन्दा माथि उक्लेमा त गाडी चलाउँदा पनि जोरबिजोर प्रणाली लागु गर्नुपर्छ,’ उनले भने। वायु गुणस्तर कमजोर हुँदा त्यसले फोक्सो, मुटुका बिरामी बढ्ने, वृद्धवृद्धा र बच्चालाई अप्ठेरो पार्ने उनले बताए।  

‘पश्चिमी र स्थानीय वायु जति चल्नुपर्ने हो त्यतिमात्रामा नचल्दा प्रदूषण हट्न सकेको छैन,’ ढकालले भने, ‘यो बेला हावाहुरी चल्ने समय हो। हावाहुरी पनि चलेको छैन। वर्षा पनि भएको छैन।’ गण्डकी प्रदेशको वन मन्त्रालयका सचिव डा. महेश्वर ढकालका अनुसार गण्डकीका विभिन्न जिल्लामा आगलागी भएको छ। गोरखा, कास्की, स्याङ्जा, नवलपुरमा आगलागी भएको उनले बताए। त्यही आगलागीले पनि अहिलेको वायु प्रदूषण बढाएको उनले बताए।

सबै उडान रद्द

वायु प्रदूषणका कारण भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान तीनदिनदेखि प्रभावित भएको छ। आइतबार पनि भिजिबिलिटी नपुग्दा यहाँबाट हवाई उडान हुन सकेन। आइबार तय गरिएका ३२ वटै हवाई उडान रद्द भए।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार भिजिबिलिटी नपुग्दा शुक्रबार पनि चारवटा उडान रद्द भएका थिए। शनिबार पोखराबाट विभिन्न गन्तव्यका लागि २८ वटा उडान तय गरिएकोमा ती सबै रद्द भएका थिए। तारा एयरलाइन्सले आइतबार जोमसोमका लागि ५ वटा उडान तय गरेको थियो। यतीले काठमाडौंका लागि ९ र सिमराका लागि एउटा उडान तय गरेकोमा सबै रद्द भए।

 बुद्धका काठमाडौंका लागि ९, भैरहवा र भरतपुरका लागि १–१ वटा उडान पनि रद्द भए। श्री एयरलाइन्सको काठमाडौं हुने एउटा उडान पनि रद्द भयो। समिटले जोमसोमका लागि तय गरेका ५ वटा उडान पनि रद्द भए। ‘दुईवटा हेलिकोप्टरले मात्र पोखराबाट आइतबार उडान भर्न सके। हेलिकोप्टरलाई भिजिबिलिटी एक किलोमिटर भए पुग्छ,’ सुवेदीले भने, ‘तर, जहाजका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ, त्यो पुगने।’

पोखरामा उडानका लागि विमानस्थलको भिजिबिलिटी ५ किलोमिटर हुनुपर्छ। तर आइतबार पोखराको भिजिबिलिटी १५ सय मिटर थियो। शनिबार त मध्याह्नपछि भिजिबिलिटी एक किलोमिटरमा झरेको थियो। उडान नहुँदा यात्रु मारमा परेका छन्। कनेक्टिङ उडान भएका यात्रु गाडी रिजर्भ गरेर काठमाडौं जान बाध्य छन्। तीनदिनदेखि उडान नहुँदा यात्रु व्यवस्थापन गर्न कठिनाइ भएको एयरलाइन्सले जनाएका छन्।

तुवाँलोका कारण पहिलोपटक तोकिएको पोखरा–सिमरा उडान पनि हुन सकेन। यती एयरलाइन्सले पोखरा–सिमरा उडान राखेको थियो। पोखरा विमानस्थलमा सूचना अधिकारी सुवेदीका अनुसार मौसम नखुल्दा आइतबार पोखराबाट हुने सबै उडान रद्द भए। ‘सिमराका लागि तय गरिएको पहिलो उडान रद्द भएपछि अब वैशाख पाँच गते उडान गर्नेबारे छलफल भइरहेको छ। तर मिति निश्चित भएको छैन,’ सुवेदीले भने। २७ जना यात्रु लिएर आइतबार जहाज पोखराबाट सिमरा जाने तयारीमा थियो। गण्डकी प्रदेशको पर्यटन मन्त्रालयका सचिव डा. महेश्वर ढकालले भने, ‘अब सिमराका लागि कहिले उडान गर्ने भन्ने निश्चित छैन। तर छिटै तिथि तय हुनेछ। ’ ढकालले भने।

प्रकाशित: १६ चैत्र २०७७ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App