४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

फेवातालबाट माटो निकाल्ने योजनाः गफै मात्र

अन्धाधुन्ध डोजर चलाएर चर्चा कमाइयोः मेयर जिसी

केहीदिन अघि फेवातालबाट माटो निकालिँदै । फाइल तस्बिर ः नागरिक

दुईवर्ष अघि पोखरा महानगरपालिकाले फेवातालको सिरान क्षेत्रको माटो निकाल्ने भनेर डोजर चलायो । १ सय ६२ रोपनी क्षेत्रफलको माटो झिक्ने भन्दै महानगरले निजी कम्पनीलाई जिम्मा दियो । तर, पछि विवादित भएपछि तालबाट डोजर निकालियो । महानगरले मात्र नभई केहीवर्ष अघि पनि तालको सिरान क्षेत्रको माटो निकाल्ने भनेर डोजर चलाइएको थियो । डोजरले तालको माथिल्लो भेगमा माटो थुपार्दा चुचुरा नै बने । तालबाट निकालिएको माटो तालकै छेउछाउँमा थुप्रो लगाइयो, बाहिर निकालिएन । पछि त्यही माटो बग्दै तालमै मिसियो । त्यो बेला माटो निकाल्न खर्च भएको रकम पनि खेर गयो ।  

केहीदिन अघि ड्याम मर्मतका लागि फेवातालको जलाशय क्षेत्र घटाइएको थियो । पानीको सतह घटेर सुख्खा भएको बेला तालको माटो निकाल्न सके गहिराइ बढाउन सकिने विज्ञहरुले सुझाए । त्यसबाहेक पोखरेलीले पनि तालको माटो निकाल्न दवाव दिए । सबैतिरको दवावपछि फागुन १८ गतेदेखि तालको माटो निकाल्न डोजर चलाईयो । तालभित्रबाट १५ हजार घनमिटर माटो निकाल्ने योजना अघि सारियो । तर, त्यो योजना पनि बीचमै तुहियो ।  

एकदशक अवधिमा फेवातालको माटो निकाल्न भनेर तीनपटकसम्म तालमा डोजर छिराइयो । तर, त्यसले तालको आकार बढाउने वा गहिराई बढाउनमा कुनै सफलता मिलेको छैन । केवल तालको माटो निकाल्ने विषयले चर्चा मात्र पाउने काम गरेको नागरिक समाजका पदाधिकारी बताउँछन् ।  

पोखरा क्षेत्रका प्राकृतिक सम्पदा संरक्षणको क्षेत्रमा काम गरिरहेको राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका अध्यक्ष विष्णुहरी अधिकारी भन्छन, ‘सिरान क्षेत्रबाट बग्दै आएको ढुंगा, माटो, गिट्टीले ताल पुरिएको छ । ताल पुर्ने ढुंगा, माटो गिट्टी निकाल्ने विषयले बारम्बार चर्चा पाउँछ, तर काम फत्तै कहिल्यै हुँदैन,’ अधिकारीले भने, ‘तालको माटो निकालेर गहिराई वा जलाशय बढाउने योजनाले मूर्तरुप लिन सकेन । पार लगाउने गरि कहिल्यै काम भएको छैन ।’

अधिकारीका अनुसार पछिल्लो पटक माटो निकाल्ने सबैभन्दा गतिलो अवसर जुरेको थियो । किनभने ड्याम मर्मतका लागि तालको पानीको सतह घटाउँदा धेरै क्षेत्रफल सुख्खा भएको थियो । तर, यो बेलामा पनि तालको माटो निकाल्ने गरि समय सदूपयोग गर्न नसकेको उनले बताए । ‘अब त पानीको सतह नै बढिसक्यो, माटो निकाल्न पनि मिल्दैन, जहिल्यै तालमा डोजर चलाउने मात्र काम भएको छ, काम फत्ते हुन सकेको छैन,’ उनले भने । विभिन्न अध्ययनले सिरान क्षेत्रबाट हरेकवर्ष बगेर आउने करिब १ लाख ४२ हजार टन गिट्टि, बालुवा र ढुंगा फेवातालमा मिसिने देखाएका छन् । सुख्खा भएको क्षेत्रलाई मात्र आधार मान्दा पनि यो पटक ३५ हजार घनमिटर माटो निकाल्न सकिने प्राविधिकहरुको अनुमान थियो । तर, त्यो कामले निरन्तरता पाउन नसकेको उनले बताए ।  

पछिल्लो पटक माटो निकाल्न बनेको समितिका संयोजक रामकाजी श्रेष्ठका अनुसार यो पटक तालको माटो निकाल्ने योजना कतै थिएन । योजना तय नहुँदा माटो निकाल्ने गरि कुनैपनि निकालये बजेट छुट्याएका थिएनन । एकाएक तालको पानी घटेको मौका पारेर निकाल्ने तयारी भएकोले प्रयाप्त बजेट जुटाउन नसकेको उनले बताए । श्रेष्ठका अनुसार तनहुँ जलाधार कार्यालयले दिएको २ लाख र ताल प्राधिकरणको ५ लाख रुपैयाँले केही माटो निकालिएको थियो । तर, बजेट अभावमा अहिले काम रोकिएको उनले बताए । जलाधारको बजेटले ४३५ घनमिटर र प्राधिकरणको बजेटले झन्डै एकहजार घनमिटर माटो निकालिएको पनि श्रेष्ठले जानकारी दिए । पोखरा महानगरपालिकाले पाँचलाख रुपैयाँ दिने र त्यो बजेटबाट पनि केही माटो निकाल्ने तयारी भएको उनले बताए ।  

‘तयारीबिनाको काम गर्नुपर्दा बीचमै रोकिएको हो । न त बजेट, न काम भएको छ,’ उनले भने, ‘माटो निकाल्ने काम सुरु भयो, तर, बजेट निकासामा सकस भयो ।’ एकाएक बाँध मर्मत गर्नका लागि तालको पानी घटाएको मौका पारेर काम गर्र्नुपर्दा अलपत्र परेको उनले बताए । उनका अनुसार १५ हजार घनमिटर माटो निकाल्नका लागि १ करोड ३३ लाख रुपैयाँ खर्च लाग्ने लागत स्टिमेट गरिएको थियो । ‘बजेट अभावमा कामै रोकियो,’ उनले भने, ‘बाहिरबाट हेर्दा तालको माटो निकाल्नुपर्ने प्रस्ताव राम्रो थियो, तर, त्यो अनुसार पूर्वतयारी नहुँदा काम अघि बढ्न सकेन ।’

ताल प्राधिकरण गण्डकीका प्रमुख कार्यकारी अधिकृत डा. अनुप गुरुङ पनि पूर्वतयारी बिनाको काम गर्नुपर्दा फत्ते हुन नसकेको बताउँछन् । उनका अनुसार तालमा पानीको सतह बढ्न थालिसकेकोले अब सबैतिर डोजर चलाउन मिल्दैन । ‘कम्तिमा २ करोड रुपैयाँ भएको भए हामीले देखिने गरि माटो निकाल्थ्यौ, तर, बजेट अभावले काम हुनै सकेन,’ उनले भने, ‘तालको माटो निकालेर पार लाग्ने अवस्था देखिएन ।’ बेलाबेला तालमा डोजर चलाउने काम गरेर जिस्काएजस्तो मात्र भएको उनले बताए । ‘वास्तविकता एकातिर छ, तर, हामी माटो निकाल्ने काम सुरु गर्ने भनेर चर्चा मात्र कमाउँछौ, अहिले त माटो नभई फोहर मात्र निकालिएको छ,’ प्राधिकरणका गुरुङले भने ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी पनि बिना योजना चर्चा पाउनका लागि मात्र तालमा डोजर हाल्न नहुने बताउँछन् । ‘बिना योजना हल्लाको भरमा माटो निकाल्ने भनेर डोजर चलाइयो भने त्यसले असर गर्छ,’ मेयर जिसीले भने, ‘तालको सिमसार क्षेत्रमा डोजर हाल्न हुने वा नहुने भन्नेमा अध्ययन हुनुपर्छ । रामसारको सूँचीमा परेको फेवातालको माटो निकाल्न उपयुक्त हुने वा नहुने भन्ने अध्ययन बिना भन्न सकिन्न । त्यसका लागि महानगरले अध्ययन योजना बनाउँदैछ ।’  

मेयर जिसीका अनुसार प्रारम्भिक अध्ययन अनुसार फेवातालको २६ सय रोपनी जग्गाको माटो निकाल्नुपर्ने हुन्छ । त्यो पनि कति गहिरोसम्म खनेर माटो निकाल्ने भन्ने यकिन हुनुपर्ने उनले बताए । उनका अनुसार फेवातालबाट ६५ लाख घनमिटर माटो निकाल्नुपर्ने प्रारम्भिक अध्ययन भएकोले त्यो उत्तिसारो सहज छैन । ‘अहिले केही माटो निकाल्ने काम भएको हो । तर, फेवातालबाट माटो निकालेर फत्ते हुँदैन,’ मेयर जिसीले भने, ‘सिमसार र रामसार जोगाउने वा नजोगाउने भन्ने अध्ययन गर्नुपर्छ चर्चाका लागि मात्र काम गरेर देखाउनु हुँदैन ।’  

ताललाई वर्षेनी सिरान क्षेत्रबाट बगेर आएको ढुंगा, गिट्टी, बालुवाले पुर्दै लगेको अवस्थामा थुप्रिएको माटो किनाल्न सके तालको गहिराई बढाउन सकिने विज्ञको भनाई छ । वन विज्ञान अध्ययन संस्थान पोखराका वातावरण विज्ञानका प्राध्यापक राजन सुवेदीले जलचरलाई असर नपार्नेगरि माटो निकाल्न सकिने भएपनि अध्ययन हुनुपर्ने बताए । ‘अहिले त जसलाई मन लाग्यो, उसले डोजर चलाएको छ, यो राम्रो होईन, एकीकृत व्यवस्थापन गर्ने निकाय हुनुपर्छ । जिम्मेवार निकायको मातहत रहेर काम गर्नुपर्छ,’ सुवेदीले भने, ‘जिम्मेवार निकायले योजनावद्ध रुपमा काम गर्नुपर्छ । दीर्घकालिन सोँच राखेर समन्वय गरेर काम हुनुपर्छ ।’ अहिले बजेट परिचालन गर्ने निकायबीच समन्वय नहुँदा काम प्रभावकारी हुन नसकेको उनले बताए । 

प्रकाशित: ५ चैत्र २०७७ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App